रिदम सिंह, बझाङ । लैङ्गिक हिंसा निवारण कोष सम्वन्धि समन्वय बैठक आज जयपृथ्वी नगरपालिकामा सम्पन्न भएको छ । युएनएफपिएको आर्थिक तथा भिएसओ पीसवीन नेपालको आयोजनामा नगरपालिकामा उक्त समन्वय बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा लैङ्गिक हिंसा निवारण कोष अन्र्तगत रहेर गर्नु पर्ने काम र त्यसको निर्देशिकाले निर्दिष्ट गरेका क्षेत्राधिकारका साथै लैङ्गिक हिंसा निवारण कोष संञ्चालनको प्रक्रिया लगाएतका विषयमा युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत धन लम्सालले जानकारी दिनु भएको थियो । लम्सालले तत्काल उद्धारका लागी उद्धार तथा राहत समिति गठन गर्नु पर्ने, सवै पालिकाहरुले अल्पकालिन सेवा केन्द्र (सुरक्षित आभाष गृह) को स्थापना गर्नु पर्ने लगाएतका विषयमा समेत नवनिर्वाचित नगरपालिकाका जनप्रतिनिधी तथा नगरपालिकामा रहेका विषयगत शाखाका कर्मचारीहरुलाई जानकारी गराउनु भएको थियो ।
नगरपालिकामा कोष स्थापना गर्ने, तीनवटै सरकारले लैङ्गिक हिंसा निवारण कोष संञ्चालन गर्नु पर्ने, निर्माण गरिएको कोषमा जम्मा भएको रकमबाट लैङ्गिक हिंसा प्रभावित महिला, किशोरीहरुलाई पुर्नस्थापना, यातायात, गासबासका लागी प्रयोग गर्ने सकिने र उक्त रकमलाई नगरपालिकामा रहेको लैङ्गिक हिंसा निवारण समितिको निर्णय अनुसार खर्च गर्न सकिने पीसवीन नेपालका जिल्ला संयोजक भुवनबहादुर सिंहले बताउनुभयो ।
कर्यक्रममा बोल्दै जयपृथ्व नगरपालिकाका नगर उपप्रमुख रतनबहादुर सिंहले नगरपालिकामा विभिन्न समितिहरुलाई पास गर्ने र निर्माण गर्ने मात्र नभई आगामी दिनहरुमा ति समितिहरुले काम समेत गर्ने बताउनु भयो । आफै संयोजक रहेका कारण आगामी दिनहरुमा यी समितिहरुले प्रभावकारी काम गर्नेमा ढुक्क भएर बस्न समेत उहाँले अनुरोध गर्नु भएको छ । साथै उपप्रमुख सिंहले लैङ्गिक हिंसाका घटनाहरु सवैभन्दा पहिला वडामा आउने भएका कारण यस्एता घटनाहरुमा वडाध्यक्षहरुले सचेत र संम्वेदनशिल भएर काम गर्नूका साथै, लैङ्गिक हिंसा निवारण कोषबाट राहत पाउने वास्तविक हिंसा भोगेको महिला को हो ? र कस्तो पीडा पाएकाहरुले सो कोषबाट राहत पाउँछन् भन्ने विषयमा क्लिएर भएर मात्र सिफारिस गर्न समेत आग्रह गर्नुभयो ।
जयपृथ्वी नगरपालिकाका नगर उपप्रमुख रतन बहादुर सिंहको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा जयपृथ्वी नगरपालिकाका सवै वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्य, जयपृथ्वी नगरपालिकामा रहेका सम्बन्धित शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो । भने कार्यक्रममा सहजीकरण युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत धन लम्सालले गर्नु भएको थियो ।
