एल बि बोहरा
बझाङ जिल्ला सुदूरपश्चिम प्रदेशको उत्तरी सिमाना स्थित उच्च हिमाली भूभागमा अवस्थित छ । क्षत्रफलका हिसाबले ३४२२ बर्ग किलोमिटर रहेको यो जिल्ला उचाइका हिसाबले समुन्द्र सतह बाट झण्डै ९०० मिटरको उचाइ देखि ७०३५ मिटरको उचाइ सम्म फैलिएर रहेको छ । यसको पूर्वमा बाजुरा र हुम्ला, पश्चिममा बैतडी र डोटी, उत्तरमा चीनको स्वशासित क्षत्र तिब्बत तथा दक्षिणमा बाजुरा र अछाम लगाएतका जिल्लाहरुले घरिएको छ । बाह्र वटा स्थानीय तहमा बिभाजित यो जिल्लाको जनसंख्या १,९५,१५९ (जनगणना, २०६८) रहेको छ । भौगोलिक हिसाबले बिकट भएता पनि प्रकृतिका बरदानका रुपमा परिचित सुन्दर ठाउँहरुका कारण यो जिल्ला निकै सम्पन्न पनि छ । फलस्वरुप, यस जिल्लामा प्रयाप्त पर्यटन विकासका सम्भावनाहरु छन । तर, यातायातको भरपर्दो माध्याम नहुँदा आजसम्म पनि यो जिल्लाको विकास र समृद्दि बत्ति मुनिको अँध्यारो झै भएको छ । अपार पर्यटन विकासको सम्भावना भएता पनि हालसम्म त्यो हुन सकेको छैन । अव मुलभुत रुपमा यी तमाम सम्भावनाहरुका बारेमा यथासिघ्र सोच्न जरुरि छ । यस लेख मार्फत मैले मुख्यगरी बझाङको हवाइ यातायातको आवश्यकता र औचित्यका बारेमा बिस्तृत रुपमा प्रकाश पार्ने छु ।
बझाङ जिल्लामा हाल राजमार्गिय यात्रुबाहक बस सेवा नै यातायातको मुख्य साधन मानिन्छ । प्रत्यक दिन जसो सानाठूला दर्जनौ बसहरुले नै सयौं यात्रीहरुलाई बझाङ हुँदै धनगढी, महेन्द्रनगर तथा काठमाँडौ सम्म तथा तत तत ठाउँहरु बाट बझाङमा ओसारपोसार गर्ने काम गर्दछन । त्यसैगरी हाल हवाइ यातायात पनि संचालनमा छ तर यसको स्थायीत्त्वका बारेमा अहिले नै केहि भन्न सकिने अवस्था छैन । जे भए पनि समिट हवाइ सेवाले बिगत एक बर्ष देखि तथा नेपाल बायुसेवाले यसै साताबाट सेवा सुचारु गर्दै आएका छन । हवाइ सेवा नियमित सुचारु हुन आवश्यक छ । यसको आवश्यकताका बारेमा म यहाँ थप प्रस्ट्याउन चाहन्छु ।
सामान्यतया पहाडी राजमार्गको यातायात त्यसै पनि जोखिम पूर्ण मानिन्छ । त्यसैमा बझाङ देखि खोड्पे सम्म संचालनमा रहेको जयपृथ्वी राजमार्ग (१०८ किलोमिटर) भौगोलिक रुपमा बिकट तथा गुणस्तरका हिसाबले निकै कमसल भएका कारण यहाँको यात्रा झनै चुनौति पूर्ण मानिन्छ । समयको माग अनुसार यातायात ब्यबसायीहरुले सुविधाजनक ठूला र लामालामा गाडिहरु हाल्नुपर्ने बाध्यता छ; तर आवश्यकता अनुसार राजमार्गको चौडाइको अप्रयाप्तता तथा असंख्य घुम्ति र मोडहरु भएका कारण यात्रा थप असुरक्षित भएको मानिन्छ । यात्राको जोखिम मोल्न सक्नेहरुले ढुक्क भएर यात्रा गर्ने गरेका छन भने नसक्नेहरुले मुटु थाम्दै आँखा चिम्लदै यात्रा गर्नु पर्ने बाध्यता छ । त्यति मात्र हैन नवआगन्तुकहरु त ‘बल्ल बाँचियो, अब फर्केर आइन्न’ भन्दै चुकचुकि गर्ने गरेका पनि प्रसस्त उदाहरणहरु छन । राजमार्गिय यात्राको यो कहालि लाग्दो अवस्थालाई मध्यनजर गरी संचालित हवाइ यातायातलाई नियमित संचालन गर्नु आजको आवश्यकता हो ।
बझाङको हवाइ यातायात सँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष पर्यटन ब्यबसाय पनि हो । यस जिल्लामा दर्जनौं स्थानीय महत्त्वका तथा केहि राष्ट्रिय\अन्तराष्ट्रिय महत्त्वका पर्यटकीय स्थलहरु बिराजमान छन । यहाँ स्थित साइपाल हिमाल, खप्तड राष्ट्रिय निकुन्ज, सुर्मासरोवर, तपोवन, मष्टा देवताको उदगम स्थल, ऐतिहाँसिक दरवारहरु, आदिको भर्मण गर्न प्रत्यक बर्ष सयौं पर्यटकहरु बझाङ भित्रने गर्दछन । हवाइ यातायातको नियमितता भए यो संख्या बढेर जाने निश्चित छ । पूर्व तथा पश्चिम नेपालका सानासाना तथा कम महत्त्का ठाउँहरु चर्चित हुने र तिनलाई दृश्याअवोलोकन गर्न हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने तर हामी कहाँका अपार महत्त्वका ठाउँहरु भने ओझेलमा पर्ने एउटै कारण सुरक्षित र सुलभ यातायात नहुनु नै हो । यहाँ नियमित रुपमा हवाइ सेवा संचालन हुन सके, ट्रेभल एजेन्सिहरु स्थापना गरिएमा तथा ट्रिप ट्रेल तयगरी प्रचारप्रसार गर्न सके पर्यटनको हव यहि बनाउन सकिन्छ । भारतको नयाँ दिल्लिहुदै लाखौको संख्यामा पर्यटकहरु प्रतिबर्ष मानसरोवरको तिर्थयात्रामा जाने गर्दछन । भनिन्छ र यथार्थमा हो पनि, यहि बझाङको बाटो हुँदै मानसरोवर सबैभन्दा छिटो र कम खर्चमा पुग्न सकिन्छ । त्यसो हो भने यसबारेमा मिहिन ढंगले किन सोचिदैन ? ढिलो नगरी यसमा बहस गरौं । त्यसैगरी यस जिल्लालाई पश्चिम नेपालकै जडिबुटिको हव मानिन्छ । प्रत्यक बर्ष हजारौको संख्यामा जिल्ला भित्र तथा बाहिर बाट मानिसहरु यस ब्यबसाय सँग जोडिन्छन । जडिबुटिहरुको निर्यातका लागि प्रत्यक बर्ष सयौंको संख्यामा ठेकदारहरु यस जिल्लामा आवतजावत गर्ने काम गर्दछन । पर्यटक लगाएत नव आगन्तुकहरुले यात्राको सुरक्षा र सुनिश्चितता खोज्दछन । त्यसैले पनि हवाइ यातायातको बझाङमा टडकारो आवश्यकता छ ।
अर्को कुरा, यस जिल्लामा रहेका सयौं ब्यापारीहरु सरसामान खरिदका लागि धनगढी, महेन्द्रनगर, नेपालगंज तथा काठमाँडौ जाने गर्दछन । यहाँका झण्डै ९०% बिध्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न बाहिर जिल्लाका शहरहरुमा जाने गर्दछन । प्रत्यक महिना जसो सयौको संख्यामा घर फिर्ने तथा शहर तिर फर्कने गर्दछन । त्यसैगरी यस जिल्लाका कतिपय मानिसहरुको तराइ र पहाडमा दोहोरो बसाइ छ । तिनीहरु पनि आवधिकरुपमा तराइ पहाड यात्रा गरी नै रहन्छन । यहाँ काम गर्ने सरकारी कर्मचारी त छदैछन गैरसरकारी कर्मचारीहरु पनि सयौंको संख्यामा छन, तिनीहरु पनि विविध कामका लागि अपडाउन गरि नै रहन्छन । मैले उल्लेख गरेका सबै मानिसहरु आफैमा आर्थिक रुपमा सम्पन्न नै हुन र तिनले सजिलै हवाइ यातायात गर्न सक्ने देखिन्छ । त्यसो हो भने यहाँ हवाइ यातायातका लागि यात्रुको अभाव हुने देखिदैन । समय सुहाउदो भाडा र यात्रुमैत्री व्यबहार भए यो व्यबसाय झनै फस्टाउदै जाने सम्भावना छ । यसका लागि प्रणालीगत काम कार्यबाहीको मात्र खाँचो छ । यात्रुबाहक बसहरुको असुरक्षित यात्रा गर्न बाध्य हजारौं यात्रीहरु समेत रिजनएबल भाडा र नियमित हवाइ सेवा संचालनमा आए यहि विकल्पलाई प्राथमिकता दिने निश्चित छ ।
हाल प्राइभेट क्षेत्रको समिट हवाइ सेवा र नेपाल सरकार बाट संचालित नेपाल बायुसेवा दुवै संचालनमा छन । प्राइभेट हवाइ सेवाको भाडा अचाक्लि महङ्गो छ भने सरकारी सेवाको यात्रु मैत्रि छ । नेपाल बायुसेवाले पनि नियमित सेवा दिन सके आपसि प्रतिस्पर्धा हुन गइ निजिस्तरको हवाइ सेवाले पनि भाडा सस्तो गर्न बाध्य हुने थ्यो । तर पहिलो गासमै ढुङ्गा भने झैं त्यसो हन सक्ने छाँटकाट देखिदैन । बिगत एक बर्ष देखि संचालनमा रहेको समिट हवाइ सेवालाई सस्टेन गर्ने निहुमा यसै साता बाट संचालनमा आएको नेपाल बायुसेवालाई घोसित अघोसित रुपमा नकारात्मक तबरले चुनौति दिने प्रबृत्ति देखा पर्दै गएको छ, जुन आफैमा अमानवीय कार्य हो । यसमा निजि बायु सेवाका संचालक देखि केहि कथित राजनीति कर्मी तथा नेपाल बायुसेवाका कर्मचारीहरु समेत बेइमानिमा लागेको देखिन्छ । तर, त्यस बारेमा जिल्लाभर नत त्यति चाँसो नै देखिन्छ न त चिन्ता नै । अव म यसखालको वाताबरण कसरी बन्न गयो त्यसबारेमा थोरै भए पनि प्रकाश पार्न चाहन्छु ।
केहि दिन अगाडि नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा, पर्यटन मन्त्री प्रेम आले र अर्थ मन्त्री जनार्दन शर्मा सहितको टोली सुदूरपश्चिम प्रदेशमा भएको प्रलयकारी बाढिपहिरोको छेतिको अवलोकन गर्ने क्रममा बझाङमा आए । बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बाढीपहिरोका कारण छेदबिछेद भइ नियमित सेवा संचालन गर्न केहि समय लाग्ने भन्ने जानकारी भए बमोजिम बझाङ स्थित नेकपा एकीकृत माओमावादी, नेकपा (एकीकृत समाजवादि) सहितका दलहरुले पर्यटन मन्त्री प्रेम आले लाई नेपाल बायुसेवा बझाङ्मा संचालन गरिदिन अनुरोध गरे । नभन्दै त्यसको ३\४ दिन पछि औपचारीक रुपमा सेवा सुचारु हुन गयो र आम जनताले त्यसको स्वागत पनि गरे तथा सस्तोमा हवाइ सेवा पाइने कुरा प्रति कृतज्ञता पनि ब्यक्त गरे । त्यति नै बेला बझाङ स्थित केहि संचार माध्यामहरुले नेपाल बायुसेवा भित्र्याउने नाममा समिटलाई बिस्तापन गर्न लागेको भन्दै बेतुकका समाचार सम्प्रेषण गर्न समेत भ्याए । भलै पछि त्यो सत्यसावित भएन र नियोजित भ्रम ओइलाएर गयो । तर, नेपाल सरकार मातहतको हवाइ सेवा बझाङमा भित्रीय सँगै यसले एकातर्फ समिट हवाई सेवाको मनपरी प्रबृतिलाई भंग गरायो भने अर्को तर्फ पछौटे राजनीतिको नाङगो नाँच उदाङगो भएर बाहिर आयो । अझैं प्रष्ट रुपमा भन्दा यहाँ समिट भर्सेस नेपाल बायुसेवाका पक्ष बिपक्षमा राजनीति सुरु भयो । जुन आफैमा निकृष्ट खालको नियत र प्रबृति थियो त्यो । यो कुरा यहाँ बझाङमा नेपाल बायुसेवाको टिकट बितरणमा गरिएको गैरजिम्मेवारीता बाट प्रष्ट हुन्छ । काम गर्न तोकिएका कर्मचारी समेतले सहि तरिकाले जवाफदेही भएर काम गरिदिएनन । टिकट काट्न खटाइका कर्मचारी नै केहि दिन जिम्मेवारी बाट पन्छिन खोजे भने केहि समय गुमनाम भएर बसे । यसखालको सेटिङ् बझाङमा मात्र हैन धनगढीमा समेत देखियो । खटिएका कर्मचारी नै अघोसित रुपमा दादागिरी गर्न थालेपछी यात्रुको बिचल्लि हुने नै भए । धनगढीमा कृतिम रुपमा यात्रुहरु नै नभएको कुरा प्रचारबाजि गरियो, जुन कुरा बझाङ स्थित कान्तिपुर सम्वाददाता बसन्त प्रताप सिंहले यहि कार्तिक ९ गते सम्प्रेशित गरेको समाचार बाटै प्रष्ट हुन्छ । धनगढीमा सयौंको संख्यामा बझाङ उड्ने यात्रुहरु टिकटको पर्खाइमा भौतारिरहेका बेला टिकट दाता कर्मचारीहरु भने फोन स्विच अफ गरी बेपत्ता भएका खबरहरु यत्रतत्र सम्प्रेशित भए । तर, नियतबस प्लेन भने ८\१० जना मात्र बोक्दै बझाङ अवतरण गराइयो । आखिर यस्तो किन गरियो ? यसका खास दोषि को छन ? को कस्को संलग्नतामा यो सबै प्रोपोगाण्डा बनाइयो ? यी यावत चाँसोहरुको राज्यपक्षबाट खोजि भने गरिनै पर्छ । कुरा अचम्मको त के भने, समिट हवाइ सेवाको शुल्क पाँच हजार भन्दा बढी हुँदा पनि धनगढी बाट बझाङको उडानमा भरि प्लेन यात्रुहरु आउँने तर नेपाल बायुसेवामा अठतिस सय जति मात्र शुल्क हुँदा पनि यात्रु नपाइने ! क्या गजव । आखिर जनताको सेवामा काम गर्दैछौ भन्नेहरुको नियतमै खोट देखिन्छ । यस्तो बिकृति देखिदा पनि राजनीतिक दलहरु कानमा तेल हालेर सुतिरहे । यसबाट बुझिन्छ, या त कतै गोप्य सम्झौता गरेका छन या स्वार्थ मिलेन । तर जे भए पनि जनता आपतबिपतमा परेका बेला सहजिकरण गर्नु पर्नेमा त्यसो नगरेकामा अनेक संका उपसंका त उब्जिने नै भए ।
भनिन्छ, कुरा गर्यो कुरैको दुख । यस्तो बिकृति छताछुल्ल हुँदाहुँदै यो जिल्लाका केन्द्र देखि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु किन तैचुप मैचुप छन ? नानाथरि कुराहरु सामाजिक संजालमा पोस्ट गरेर आफुलाई सस्तो लोकप्रियतामा बिकाउनेहरु आम जनताले सास्ति पाँउदा र सरकारी हवाइसेवा उपर बेइमानि गरेर बझाङ बाटै बिस्थापन गर्न लाग्दा पनि न त केहि बोल्छन न कतै जवाफदेहि भएर प्रतिरक्षा गरेको सुनिन्छ । यस खालका कुप्रचार तथा अनैतिक कार्यशैलीहरुलाई आम जनताहरु माझ ल्याएर खरो बहसमा पदार्पण गर्ने\गराउने काम संचार जगतको हो, मिडिया कर्मीहरुको हो, यहाँस्थित बौदिक समुदायको हो, तर कतैबाट घनिभूत छलफल भएनन । हामी सबैले खबरदारी गर्नु पर्नेमा पर्ख र हेरमा लाग्यौ । दुइचार शब्द छान्दै सामाजिक संजालमा लाइक डिसलाइक तथा कमेन्ट कति आउँछन भन्ने कुराको लेखाजोखा गर्नमा ब्यस्त भयौं । के हैन र ? तपाई हामी जस्ता यसम्यानहरु भएर नै राजनीति कर्मीहरुले ब्यथिति गर्न थाले, यत्रतत्र सर्वत्र कालोबजारी र दलालि मैत्री बाताबरण मलजल हुँदै जान थाल्यो । हामीकहाँ पनि जे आज हुँदैछ, त्यसैको नमुना हो । त्यसैले, आम जनताले यस खालका प्रबृतिहरुको पनि भण्डाफोर गर्नै पर्ने देखिन्छ । समाजवादी राज्य ब्यबस्थामा निजिलाई नै पोस्नुपर्छ भने यीनले के का लागि राजनीति गर्दैछन । यसखालको कुरुप चालमा को को चले, को कसको हितका लागि नेपाल बायुसेवाको बदनाममा लागे ? यी यावत कुराहरुको खोजि गर्नै पर्छ । सके राज्यले कार्यबाही गरोस, हैन भने आम सर्वसाधारणको अहित गरेकाले चुनावी जनमत बाटै चुनौति दिनुपर्ने देखिन्छ । राम्रो वा नराम्रो जे गर्दा पनि उहि नेता उहि दललाई अन्धभक्त भएर जनमत दिदाको परिणाम हो यो ।
अन्तमा, बझाङमा हवाई यातायात नियमित रुपमा संचालन हुनै पर्दछ । एउटा मात्र हैन सकभर बढी हवाइ सेवाहरु प्रतिस्पर्धि भएर आउनु पर्दछ । मूख्य कुरा त नेपाल बायुसेवाको नियमिततामा सरोकारवालाहरुले ताकेता गर्नै पर्ने देखिन्छ । समिट हवाइ सेवाले पनि जुन मनोमानि तबरले भाडा लिदै आएको छ, यसबारेमा पनि राज्यपक्षले सुझाउन आवश्यक छ । मौसमबेमौसममा उस्तै भाडा लिने गर्नाले पनि हवाइ सेवा यात्रुमैत्रि छ छैन सहजै बुझ्न सकिन्छ । जस्तै दशै ताका धनगढी बाट काठमाँडौ उडने यात्रुले प्लेनको भाडा तीनहजार\पैतिस सय सम्म तिरे पुग्छ भने काठमाँडौ बाट धनगढी आउने यात्रुले अलि महँगो तिर्नुपर्ने हुन्छ । सिजन अफसिजनको समयलाई मध्यनजर गरी के यो खालको भाडादर बझाङमा लागु गर्न सकिदैन र ? यो समयमा धनगढी बाट बझाङको भाडा अलि घटाउन सके यात्रुहरुको आकर्षण हवाइसेवा प्रति बढ्ने थियो कि ? यसबारेमा पनि सोच्न जरुरी छ । सचेत बर्गले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने हिम्मत राख्नु पनि पर्यो । यदि तपाइ हामी बेलैमा बोलेनौ भने सहज रुपमा पाउन सकिने सेवा पनि दुर्लभ हुने निश्चित छ । त्यसैले हामी सबैले आ-आफ्नो ठाँउ बाट सचेत रुपमा गल्तिको भण्डाफोर तथा राम्रो कामको सह्राहना गर्नै पर्ने बेला हो यो, गरौं । हामी सबैको सोच सुलभ मुल्यमा बढी भन्दा बढी यात्रुलाई सेवा कसरी दिन सकिन्छ भन्ने हुनु जरुरी छ । अहिलेको खुला दुनियाँमा ब्यबसायलाई प्रतिस्पर्धि बनाए पो सेवाग्राहीहरुले सेवा सहज रुपमा पाउन्छन । यसबारेमा सोचौं । एक अर्का प्रति सकारात्मक बनौं र सबैले बहुसंख्यकको हित कसरी हुन्छ, त्यसबारेमा चिन्तन मनन गरौं । सेवा भावका साथ अगाडि बढे मेवा अवश्य मिल्नेछ । त्यसैले, जनसेवाका लागि दादागिरी हैन सदाचारी बनौं र भलाचारी कर्म गरौं ।
यस लेखका लेखक एल बि बोहरा जयपृथ्वी बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन। हामीले यस लेखको नाम ‘बझाङमा हवाइ यातायातको आवश्यकता र अनावश्यक दादागिरी राखेका छौं । बोहरा दुर्गम हिमाली जिल्ला बझाङमा बिगत १६ बर्ष देखि प्राध्यापन गदै आएका छन् । बझाङमा हवाइ यातायातको आवश्यकता र यसको दियोपनाका कुरा यो लेखमा जोडिएका छन । बझाङको हवाइ यातायातको बारे यो लेख निकै प्रभावकारी हुनेछ। । हामी उनका थप लेखहरुलाई धारावाहिक रुपमा प्रस्तुत गर्दै जानेछौं । – सम्पादक