नेकपा र एमालेको बिभाजन र यसले नेपाली राजनीतिमा पार्न सक्ने प्रभाव : एल बि बोहरा

      एल बि बोहरा-

  नेपालका साना राजनीतिक दल हुन वा ठूला यी सबै गुट, फुट र जुट गर्नमा अभ्यस्त छन । यी सबैको अधिकांश समय देश विकास र जनजिविकाका सवालहरु सम्हाल्नमा भन्दा पनि आफ्नै दुर्दशाको नालिबेलि नियाल्नमा ब्यस्त हुँदै आएको इतिहाँस छ । जब जब सत्ताको ओभानोमा बस्न थाल्छन, तब तब तथाकथित बिचारका नाममा आन्तरिक स्वार्थहरुको रुझान सुरु गर्दछन; अनि अल्पकालिन बिभाजन र दीर्घकालिन मतभेतको सुरुवात हुन्छ । यो लेख मार्फत मैले हालै भएको नेकपाको अन्तर संघर्ष, एमालेको बिभाजन र त्यसले नेपाली राजनीतिमा पार्न सक्ने असरका बारेमा थोरै भए पनि बिश्लेषण गर्ने प्रयास गरेको छु ।

खुब तामझामका साथ नेकपा (एमाले) र नेकपा (एकिकृत माओमादी) बिच गत जेठ ३, २०७५ मा एकता भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भयो । एकता भएकै दिन मञ्चमा लामबद्द भई बसेका नेताहरुले अबको ५० बर्ष सम्म यो देशमा नेकपाको एकछत्र शासन चल्छ, देशको कायापलट हुन्छ, बेरोजगारी क्रमशः सुन्यमा झर्छ, भ्रष्टचार हट्छ आदि आदि जस्ता अलौकिक भाषणहरु ओकल्न भ्याए । हातमा हात मिलाए र खुशि साँटासाँट गरे राम्रै सँग । नेताहरुले बुलन्द गरेका शब्दै पिच्छे कार्यकर्ताहरुले गड्गडाहट तालि बजाए, वा वा गरे र हुर्र हुर्र भन्न समेत भ्याए । अझै भनौं, देश बिदेशमा यसको ठूलै चर्चा भयो । आम देश तथा बिदेशमा रहेका पार्टी कार्यकर्ता तथा सुभेक्षुकहरु खुशिले गद्गद भए । एकता भएकै दोस्रो दिन देखि राष्ट्रिय दैनिकहरु तथा सोसल मेडियाहरुमा धेरैले खुशि ब्यक्त गर्न भ्याए, आगामि दिनको यात्राका बारेमा चाँसो पूर्वक बहस र छलफलहरु पनि भए । तर, नेपालको राजनीति र कम्युनिष्ट चरित्र बारेका जानकारहरुले यो एकतामा धेरै नहौशिन बरु सम्यमित हुन सुझाए । जुनकुरा टुट, फुट र जुटका उकालि ओरालिमा यात्रा गर्दै थाकेका नेपालका कम्युनिष्ट कहलिएकाहरुका बारेमा अस्वाभाविक थिएन पनि । तर तितो सत्य बोल्नेहरुलाई तिनले दुत्कारे ।

ती दुइ ठूला कम्युनिष्ट दलहरुले एकता अघि नै चुनावि तालमेल गर्दै २०७४ सालमा सम्पन्न स्थानीय र प्रदेश-केन्द्रका चुनावहरुमा सबैतिर झण्डै दुइ\तिहाइ मतका साथ जित हाँसिल गरी राजकाजको सुरुवात गरिसकेका पनि थिए । नेपालमा कम्युनिष्टहरुको यो जनमतलाई ‘न भुतो न भविश्यति’ का रुपमा लिइयो । यो जनमत सँग विश्वका कम्युनिष्टहरु हर्षित भए भने गैर कम्युनिष्टहरु चकित भए । हुन पनि हो, विश्वमै साम्यवाद र साम्यवादीहरुको क्षयीकरण हुँदै गरेका बेलामा नेपालमा प्राप्त भएको यो जनमत अभुतपूर्व, अतुलनीय र अकल्पनीय थियो । तर कमैलाई थाहा थ्यो होला, नेपालमा नेताहरु छन, राजनेता छैनन् भन्ने कुरा । राजनेताहरुले जनमतको उचित कदर गर्दै जन-आकांक्षा बमोजिम आफ्नो पूर्णकालिन कार्यभार सु-संचालन गर्दछन भने नेताहरुले जनमतको कदरमा उदासिनता देखाउन्छन, जनकांक्षा बमोजिम चल्नुको अलावा स्वार्थ लिप्सामा बढि केन्द्रित हुने गर्द्छन । यहि कारणले गर्दा नेपालमा पटक-पटक जनमतको अनादर गर्ने काम भएको छ । हाल सम्मका संसदीय कार्यकालहरु बिरलै पूर्णकालिन रुपमा संचालनमा आएका छन । यस खालको अभ्यास हालैको दुइ\तिहाइ जनमत सहितको नेकपाको पालामा समेत अबिछिन्न रुपमा देखा पर्न गयो, तथापि सर्बोच्चको न्याय पूर्ण फैसलाले जनमतको अनादर गर्ने छुट दिएन, हामी सबैका निम्ति खुशिको कुरा साबित हुन गयो ।

गत चुनावहरुमा नेकपाले प्राप्त गरेको अभुतपूर्ब जनमतको कारण नै  एकताको सकारात्मक सन्देस थियो । साथै, नाकाबन्दिका बेला तत्कालिन सरकारका तर्फबाट देखाइएको अभुतपूर्व अडानको परिणाम र जनविश्वास थियो । अर्को तर्फ, स्थायी तथा पूर्ण कालिन सरकारको खोजि थियो जुन नेकपाको मुलमुख्य नारा पनि थियो र जनताले पत्याएका पनि थिए । यी र यस्तै यावत कारणहरु नै नेकपाको जितका आधारस्तम्भ थिए । तर, विढम्वना, त्यो जनमतको भार तत्कालिन नेकपाले थेग्न सकेन । थेगुन पो कसरी? भनिन्छ, धानको बाला जति पाक्यो त्यति तल तल झुल्छ; तर, कोदोको बाला जति पाक्यो त्यति ठडिन्छ । नेकपा नामको दल भित्र पनि ठूला कहलिएका नेताहरुले कोदो प्रबृति देखाए । ठूलो परिवारको संस्कार पनि ठूलै हुन्छ भनिन्छ, ती ठूला कहलिएका माउ नेताहरुले बृहत एकतालाई बचाँउने गरी आफ्नो परिस्कृत  संस्कार देखाउन सकेनन् र सिक्ने प्रयास समेत पनि गरेनन् । ठूला-ठूला आश्वासन दिए तर ब्यबहारिक कार्यान्वयन गर्ने तर्फ ध्यानै दिएनन् । सबैको साझा प्रयास र बिगतका केहि सफल इतिहाँसले अपार जनमत त पाए तर जनमतको बुइ चढेर आलिसान महलमा पुगे पछि सारथिहरुको साथ र सहयोग बिर्सिए, समग्रमा धरातल नै बिर्सिए । चुनाबताका जनता जनार्दन भन्नेहरुले आफन्त, आफ्ना गुट भित्रका र बोलबाला भएकाहरुलाई मात्र बफादार नेता\कार्यकर्ता ठाने अरु सबैलाई रैति झै ब्यबहार गरे । जुन एतिहाँसिक भुल थियो । एवमरितले दिनप्रतिदिन स्वार्थ बाझिदै गयो । राज्य निकटस्थहरुमा शक्तिको उन्माद चढ्दै गयो । हिजो उस्ता-उस्तै परिबेशमा जीवन निर्वाह गर्नेहरुका बिच एक आपसमा गहिरो मतभेद भएको आभास गर्न थाले । राजकाज गर्नेहरू सुकिलामुकिला हुदै गए, नगर्नेहरु रमिते मात्र भए । यो परिबेश केन्द्र हुदै प्रदेश र स्थानीय तह सम्म समेत देखिन थाल्यो । अन्तत्वगत्त्वा आपसमै बाझाबाझ हुन थाल्यो र बनावटी जस्तो एकता सर्बोच्च अदालतको फैसलाले गर्ल्याङ गुर्ल्याङ बिभक्त पारिदियो । बाहिर दुत्कारे पनि भित्र-भित्र राजकाजमा रमेकाहरू हर्षित भए भने इतरकाहरु अदालत प्रति खनिए । अन्तमा, हाति आयो हाति आयो फुस्सा भने झैं दुबै दलहरु पूर्ववत रुपमा फर्किन बाध्य भए ।

अब, नेकपा एमालेको बिभाजन र पर्न सक्ने असरका बारेमा कुरा गरौं । नेकपा एमालेको आफ्नै झण्डै २७ (तीन बर्ष नेकपाको छोडेर) बर्ष लामो जीवनकालमा हिजोआज जस्तो उतारचढाव साहेदै आइलाग्यो होला । परिणाम स्वरुप प्रधानमन्त्रि पद गुमाउनु पर्यो । चार वटा प्रदेशमा आफ्नै मुख्यमन्त्री र सरकार थिए । ती मध्य दुइटामा गुमाइ नै सक्यो र अन्य दुइटामा गुम्ने तरखरमा छन । नेकपा कालिन समयको उत्तरार्ध बाट सुरु भएको आन्तरिक कलहका कारण एकीतृत भएका एमाले र एकीकृत माओवादी पूर्वबत अवस्थामा फर्किनु पर्यो । यो अनपेक्षित बिभाजनले एमाले भित्र समेत अन्तर कलह चर्कदै गयो । यसको खास कारण अध्यक्ष केपि ओलि सर्बोच्च अदालतको आदेश बमोजिम पार्टी संगठनलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन नचाहानुको परिणाम नै हो । पूर्ववत अवस्थामा फर्कनु पर्छ र फर्कन सकिन्न भन्ने पक्षधर बिचको कलह ‘टग अफ वार’ झैं बल्झिदै जादा अन्ततहः यहि २०७८ भाद्र ९ का दिन औपचारीक रुपमै एमाले बिभाजन हुन गइ बरिष्ठ नेता द्दय माधव कुमार नेपाल र झलनाथ खनालको समुहले ‘नेकपा (एकिकृत समाजवादी)’ नामको दल दर्ता गरेका छन ।

दल बिभाजन सँगै नेकपा एमालेको संसदीय मत घटेको छ । प्रतिनिधि सभामा कायम रहेको जम्मा १२१ सिट मध्य ९८ एमाले संग रहेका छन भने २२ एकीकृत समाजवादी सँग बाँडिएका छन । त्यसैगरी, राष्ट्रिय सभा, प्रदेश र स्थानीय तहमा समेत यो बिभाजन भइसकेको छ, हुने क्रममै छ । दल बिभाजन सम्बन्धिको अध्यादेसमा दल विधिवत रुपमा बिभाजन भएको २१ दिन सम्म जनप्रतिनिधिले इच्छ्याएको दल रुजु गर्न पाउँने ब्यबस्था भएका कारण मत बिभाजित हुने सम्भावना अझै पनि कायमै छ । जुन एमालेको जीवनकालको सबै भन्दा दुःखद र बियोगान्त पूर्ण क्षण हो ।

नेकपा एमालेको बिभाजन सँगै यसले दुर्गामि रुपमा पार्न सक्ने असर र प्रभावका बारेमा चारै तिर चिन्ता र चाँसो सुरु भएको छ ।  बिद्दमान दलहरु सजिलै बिभाजन नहुन भन्ने मनसायले गरिएको संबैधानिक ब्यबस्थाको व्यवास्था भएको छ । दल बिभाजनका सम्बन्धमा कुनै दल बिशेष सँग कायम रहेको केन्द्रीय कमिटी सदस्य संख्याको ४०% र सांसद संख्याको ४०% मत भए मात्र दल बिभाजन गर्न सक्ने प्रावधान छदाँछदै अध्यादेश मार्फत त्यो मानांक केन्द्रीय कमिटीको २०% वा संघीय सांसद संख्याको २०% मा झारिएको छ । चिन्ताको कुरा त के भने ‘बुढी मरि भन्दा पनि काल पल्के’ झैं भएको हो कि भन्ने कुरा सर्वत्र चर्चा सुरु भएको छ । यस सँगै अव उपरान्त राजनीतिक स्थायीत्त्व हुन नसक्ने कुराले प्रशय पाएको छ ।

एमालेमा आएको बिभाजन सँगै नेता र कार्यकर्ताहरु बाँडिने क्रममा छन । पत्रपत्रिका देखि सामाजिक संजाल सम्म एकले अर्कोलाई उछितो काढि रहेका छन । मानौ तिनीहरुका लागि यो नै एक महत्त्वपूर्ण अबसर हो; यसको सदुपयोग गरेर आफ्ना भनिनेहरुको जयजयकार गरेको देखिन्छ भने आफू इतरकाहरुको खोइरो खनेको पाइन्छ । सर्वब्यापी राजनीतिकरण भएको हाम्रो मुलुकमा नेता र बिशुद्द कार्यकर्ता त छँदैछन, सबै जसो पेशा व्यवसायी, शिक्षक, कर्मचारी, आदि पनि कुनै न कुनै राजनीतिक दलको पेशेवर जस्तो देखिन्छन । त्यसैले होला, हिजो आज कोइ कसै सँग सामान्य भेटघाट हुँदा मात्र पनि कुरुप राजनीतिका बारेमा मात्र कुरा भएको देखिन्छ । अझै समुह इतरकाहरू सँगको भेट त बाझाबाझ सम्मको हुन्छ । त्यसैले भन्न मन लाग्छ, नेपाल मात्र एउटा त्यस्तो देश हो जहाँ हरेक क्षेत्रमा राजनीति हुन्छ; राजनीति छैन त केहि पनि छैन भन्ने सोच राखिन्छ । समग्रमा मैले उठान गर्न खोजेको कुरा हालै भएको एमालेको बिभाजन र त्यसले यत्रतत्र पारेका नकारात्मक प्रभावहरुको बारेमा नै हो ।

यो बिभाजनले एमालेको राजनीतिक जीवनमा ठूलो धक्का पुर्‍याएको छ । संचित भएको शक्ति बिभक्त भएको छ । वडा तह देखि केन्द्र सम्म कायम रहेको जिवन्त संगठन संरचना छिन्न भिन्न भएको छ । एमाले अध्यक्ष केपि शर्मा ओलिले दुइ\दुइ पटक जनताको सर्बोच्च निकाय संसद अनयासै बिगठन गरेको प्रति आम बौद्दिक समुदाय र सुबेच्छेकहरु चिन्तित भएका थिए । साथै अध्यक्ष भएर अभिभावकत्त्व निर्वाह गर्नु पर्नेमा सो नगरिएको र पार्टी बिभाजनलाई रोक्न उदारताका साथ अगाडि बढ्नु पर्नेमा झन कठोर भएको आरोप समेत उहाँलाई लाग्ने गरेको छ । अर्को तर्फ एमाले बिभाजनका लागि माधव नेपाल समुहको पनि उत्तिकै गैरजिम्मेवारिपनाले काम गरेको छ । माधव नेपालले जसरी पनि अलग्गिने सोच गरेका कारण पनि पार्टी बिभाजन सम्भव भएको कुरा उहाँ इतरकाहरुले आरोप लगाउने गरेका छन । बिभाजनको कारण जे भए पनि यसले नेपालको राजनीति र स्थानीय, प्रदेश तथा केन्द्र सरकारको अवस्थितिलाई हलचल गराइदिएको छ । यो आफैमा चिन्ताजनक कुरा हो ।

अवको राजनीति कार्यदिशा के ? भन्ने सन्दर्भमा समेत दलहरुको आ-आफ्नै धारणा छ । बिभाजन पछिको एमाले तथा मुख्यगरी अध्यक्ष केपि ओलि इतरका नेता तथा दलहरू ससंकित देखिन्छन । उहाँहरूकै भाषामा भन्नु पर्दा केपि ओलि अराजक भए, संम्विधान मिच्दै अगाडि बढ्ने प्रयत्न गरे र आगामि दिनमा यो प्रबृतिका बिरुध्द मिलेर अगाडि बढ्छौ, आदि आदि । यहि साझा बिचारधाराका कारण एमाले भित्रको माधव समुह पनि ओलिको अराजकता बिरूध्द आन्दोलित भइ बिपक्षी गठबन्धनमा सरिक हुन बाध्य भएको कुरा हाल एकीकृत समाजवादीमा लागेका नेताहरुले बताउने गरेका छन । नेकपा (एकीकृत माओवादी) र नेकपा (एकीकृत समाजवादी) दुवै दलहरू आगामि दिनमा या त पार्टीगत एकता वा बाम-गठबन्धन बनाएर चुनावी मोर्चामा होमिने कुरा अभिव्यक्त गरेका छन । अर्को तर्फ एमाले र महन्त ठाकुर इतरका दलहरू जस्तै नपाली काँग्रेस, माओवादी, एकिकृत समाजवादी र जनता समाजवादी पार्टी सहितका दलहरूले आगामि चुनाबमा संयुक्त गठबन्धनका साथ होमिन सक्ने कुरा पनि बताउदै आएका छन । यस बाट बुझिन्छ कि, घट्नाक्रम बिमुख भएन भने एमालेलाई एक्ल्याएर अन्य दलहरुले यो या त्यो रुपको तालमेल गरेर चुनाबि मोर्चा बनाइ लड्ने अवस्था देखिन्छ । तर नेपालको राजनीतिका बारेमा यो नै होला भनेर भन्न सकिन्न । आँउदा दिनहरुमा आजको बिध्यमान अवस्था फेरिन पनि सक्छ । मेरो बिचारमा आगामि बिकासक्रम तत् तत् दलहरुले अवलम्वन गर्ने नीति तथा मुख्य नेताहरुको कार्यशैलिमा नै बिशेष गरी भर पर्नेछ ।

अन्तमा, नेपालको समग्र विकासका लागि असंख्य दलहरु होइनन, सु-संस्कार र जनप्रेमी भए कमै दलहरु भए पनि काफि हुन्छ । नेपाली राजनीतिको केन्द्रमा जनता, जनजिबिका, देश विकास, रोजगार, भ्रष्टचारको अन्त्य, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता, आदि जस्ता कुरालाई राखेर राजनीति गरे न त स्वार्थहरु बाझिन्छन न दलहरु बिभाजन नै हुन्छन ।

(यस लेखका लेखक एल बि बोहरा जयपृथ्वी बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन। हामीले यस लेखको नाम ‘नेकपा र एमाले को बिभाजन र यसले नेपाली राजनीतिमा पार्न सक्ने प्रभाव ’ राखेका छौं । दुर्गम हिमाली जिल्ला बझाङमा प्राध्यापन गदै नेपालको अहिलेको राजनीतिक अवस्था, हतारमा पार्टी एकता र एमाले विभाजनको कारण एक युवा उप -प्राध्यापकको विश्लेषण निकै रोचक  छ। हामी उनका थप लेखहरुलाई धारावाहिक रुपमा प्रस्तुत गर्दै जानेछौं । – सम्पादक)