‘दोस्रो गौतम बुद्ध’ को उपमा पाएका यी बझाङी राजा

  • शान्ति र मानवतावादको पक्षमा काम गरेकाले ‘दोस्रो गौतम बुद्ध’ भनिएका नेपाली को हुन् ?
  • सन् १९१३ मा नोबेल सहित्य पुरस्कार पाएका एसियाका प्रथम साहित्यकार रविन्द्रनाथ ट्यागोरको सन् १९३१ मा छापिएको ‘दि गोल्डेन बुक अफ दि ट्यागोर’ मा समेटिएका एक मात्र नेपाली को हुन् ?
  • ३१ औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा अतिथि बनेर पुग्ने एक्ला नेपाली को हुन् ?
  • सन् १९२९ मार्च २५ देखि सेप्टेम्बर ४ सम्म युरोपमा आफ्नो मौलिक दर्शन मानवतावादको प्रवचन दिन आमन्त्रण गरिएका एक्ला नेपाली को हुन् ?

यस्ता धेरै प्रश्नहरूको साझा उत्तर हो, जयपृथ्वी बहादुर सिंह । वीसौँ शताब्दीमा मानवतावाद र शान्तिको सन्देश लिएर विश्व भ्रमणमा निस्किएका यी विश्वस्तरीय दार्शनिकको वर्णन एक–दुई पानामा अटाउँदैन । उनले सन् १९२८ को मार्च ८ मा निर्वासित जीवनकालमै दक्षिण भारतको बैंगलोरमा मानवतावादी क्लबको उद्घाटन गरे । सोही वर्ष मानवतावाद भन्ने पुस्तक लेखे । ह्युमानिस्ट अर्थात मानवतावादी भन्ने अखबार सञ्चालन गरे । र, विश्वमा शान्तिको सन्देश दिँदै हिँडे ।

उनको शान्तिको सन्देशको प्रभावकारिता कति थियो भन्ने बुझ्न उनको मृत्युताका आएको दक्षिण भारतीय अंग्रेजी अखबार ‘द हिन्दु’ हेरे पुग्छ । आफ्नो सम्पादकीयमा द हिन्दूले जयपृथ्वीलाई ‘दोश्रो गौतम बुद्ध’ भनेको छ । हिन्दुले मात्रै हैन जयपृथ्वीबहादुर सिंह बारेमा अध्ययन गर्ने संस्था ‘रफाज नेपाल’ ले प्रकाशन गरेको पुस्तक ‘शान्तिका उपाय’ मा अन्य धेरै पत्रपत्रिकाले यसो भनेको उल्लेख छ ।

८१ बर्ष अगाडि विक्रम संवत् १९९७ को असोज १ गते ६३ बर्षको उमेरमै प्राण त्याग गरे जयपृथ्वीले । आज तिनै नेपाली विश्व ब्रान्ड जयपृथ्वीको जन्मजयन्ती हो ।

वि.सं १९३४ भदौ ७ मा सैपाल हिमालको काख बझाङमा जन्मिएका थिए- जयपृथ्वी । उनी जन्मिएको १४४ बर्ष पुगेको छ । बुवा विक्रमबहादुर सिंह र आमा रुद्र कुमारी सिंहको कोखबाट जन्मिएका जयपृथ्वी मरणोपरान्त नेपालीका शान बनेका छन् । नेपाली ब्रान्ड बनेका छन् ।

खुद्रा परिचयमा सीमित

नेपालमा बिडम्बना के छ भने जयपृथ्वीको व्यक्तित्वको राष्ट्रिय पक्षमा मात्रै धेरैको ध्यान गएको छ । नेपाली भाषाको पहिलो किताव ‘अक्षरांक शिक्षा’ का लेखक, बझाँङका सुधारवादी राजा, गोरखापत्रका संस्थापक जस्ता पहिचान मात्रै जयपृथ्वीका नाममा जोडिएर आउँछ ।

चन्द्रशम्शेरका जेठी छोरी खगेश्वरीतर्फका ज्वाइँ तथा जंगबहादुरका छोरीतर्फका नाति जयपृथ्वी सत्तासँग सिधा सम्पर्क र सत्ताकै कमाण्डर भए पनि उनको आफ्नै विराट व्यक्तित्व थियो ।

सत्ता केही हैन, जनमैत्री कामहरु महत्वपूर्ण हुन् भन्ने विगतको बलियो दृष्टान्त दिनुपर्दा जयपृथ्वी अग्रपंत्तिमा आउँछन् । उनले गरेका विकास, समाज सुधार, खानी उत्खनन्, सीप विकास र सामाजिक न्यायका कयौं कुराहरु अझैसम्म सार्वजनिक रुपमा चर्चा गरिन्छन् । नेपाली भाषाको पहिलो पुस्तक मानिने अक्षरांक शिक्षादेखि भाषा र साहित्यका क्षेत्रमा जयपृथ्वीको योगदान ठूलो छ ।

राजखलककै भएर पनि उनले गरेका नागरिकमैत्री धेरै कामहरु चर्चायोग्य छन् । जयपृथ्वीको विश्वस्तरीय व्यक्तित्वलाई नेपालले प्रभावकारीरुपमा प्रचारप्रसार भने गर्न सकेको छैन ।

हुन त बझाङ जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा ‘जयपृथ्वी नगरपालिका’ र बझाङ जिल्ला सदरमुकाम चैनपुरमा ‘जयपृथ्वी बहुमुखी क्याम्पस’ स्थापना भएका छन् । तर, यत्तिले मात्रै पुग्दैन । जयपृथ्वीको आयतन राष्ट्रिय मात्रै हैन अन्तर्राष्ट्रिय हो । त्यसको लागी अझ वृहत् पहलकदमीहरु आवश्यक हुन्छ ।

ब्राण्ड जोगाउने उपाय

जयपृथ्वीको विश्व ब्रान्ड बनाउन मानवतावाद वा मानव अधिकारको क्षेत्रमा एक विश्व पुरस्कार राख्न अत्यावश्यक छ । कुनै महान व्यक्तिको ब्रान्डलाई सम्झाइरहन एउटा बलियो औजार पुरस्कार पनि हो । आज उनको नाममा स्थापना भएको पुरस्कारकै कारण डाइनामाइटका आविष्कारक अल्फ्रेड नोवेल अन्य सहपाठी बैज्ञानिकभन्दा चर्चामा छन् । यस्तै, एसियाको नोबेल पुरस्कार भनिने रोमन म्यागासेसे पुरस्कारले सन् १९५७ मार्च १७ मा हवाइ दुर्घटनामा मृत्यु भएका फिलिपिन्स गणतन्त्रका तेश्रो राष्ट्रपति रोमन म्यागासेसेलाई सम्झाइरहेको छ ।

जयपृथ्वीबहादुर सिंहको नाममा पनि नेपालले अवार्ड स्थापना गर्नु आवश्यक छ । हरेक बर्ष विश्वमा मानवअधिकार तथा मावतावादको पक्षमा काम गर्ने एक जनालाई यस्तो अवार्ड दिन सकिन्छ । यो कम्तिमा एसियाली स्तरको होस ।

उदाहरणका लागि रोमन म्यागासेसे अवार्ड हरेक बर्ष ६ जनालाई दिइन्छ । अवार्डको रकम ३० हजार अमेरिकि डलर अर्थात ३५ लाख हाराहारी रहेको छ । जयपृथ्वी मानव अधिकार तथा मानवतावाद अवार्ड पनि ३५ देखी ४० लाख हाराहारीको बनाउन सकिन्छ । अक्षयकोष निर्माण गरेर यत्तिको अवार्ड दिनु कुनै गाह्रो काम पनि होइन । मानौं, अवार्डको नाम जयपृथ्वीबहादुर सिंह मानवअधिकार तथा मानवतावाद पुरस्कार, अवार्डको रकम ४० लाख । नेपालसहित विभिन्न देशबाट आएका निर्याणकहरुको पारिश्रमिक, कार्यक्रम आयोजना खर्च आदिमा थप ४० लाख वर्षमा खर्च हुँदा जम्मा ८० लाख हुन आँउछ । यो भनेको वार्षिक ४ प्रतिशत व्याज दिने बैंकमै राख्दा पनि २० करोडको अक्षणकोषले पुग्छ ।

जयपृथ्वी नगरपालिका, सुदुरपश्चिम सरकार, संघीय सरकार तथा जयपृथ्वीको परिवारको संयुक्त सहभागितामा यत्तिको कोष निर्माण गर्न कुनै असहज छैन । पुरस्कारको घोषणादेखि हरेक बर्षको नोमिनेसन तथा बिजेताका हालखबरले जयपृथ्वीको व्यक्तित्वको ब्रान्ड सधैभरि ताजा हुन्छ ।

जयपृथ्वीको विश्व ब्रान्डलाई सरकारले गर्न सक्ने अर्को पहलकदमी हो, उनको नाममा कुनै विश्वविद्यालयमा संकाय सञ्चालन गर्ने । मानिलिउँ, ‘जयपृथ्वी इस्टिच्युट अफ ह्युमानिजम’ खोलेर उनको मानवतावादको विशेष अध्ययन केन्द्र बनाउन सकिन्छ । यस्ता काम विश्वमा हुने गरेका छन् । उदाहरणका लागि, विश्वका टप विश्वविद्यायहरुमा गनिने हार्वर्ड विश्वविद्यालयमा ३५ औं अमेरिकी राष्ट्रपति जोनएफ केनेडीको सम्मानमा ‘हार्वर्ड केनेडी स्कुल’ नामक पब्लिक पोलिसी स्कुल सञ्चालन भएको छ ।

विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयमा पनि यस्ता कामहरु भएका छन् । नेपालमा त्रिभुवन विश्वविद्यालय वा काठमाडाैं विश्वविद्यालयले जयपृथ्वीको नाममा केही प्राज्ञिक कामको नेतृत्व गर्न सक्छन् । यसले जयपृथ्वीको प्राज्ञिक क्षेत्रको योगदानको कदर हुनेछ ।

पुरस्कार तथा प्राध्यापनसँगै जयपृथ्वीलाई उनका अनुयायीहरुले माग गरेजस्तो ‘राष्ट्रिय विभूति’ बनाउन पनि सकिन्छ । राजा जनकदेखि अरनिको, भृकृटी, पृथ्वीनारायण शाह, भानुभक्त, शंखधर शाख्वाँ, महागुरु फाल्गुनन्द हुँदै पासाङ ल्हामुजस्ता विभिन्न १७ विभूति अटाएको सूचीमा जयपृथ्वी पनि अटाएमा नेपालको सुशासन, शिक्षा, पत्रकारिता तथा समाज सुधारका क्षेत्रमा उनीबाट भएको अतुलनीय योगदानको कदर हुनेछ । नेपालका प्रखर चिन्तक तथा दार्शनिकको सम्मान हुनेछ ।

आखिर नयाँ विभूति घोषणा गर्न सरकारले चाहेमा केही गाह्रो नै छैन । २०७८ असार १४ गते सोमबार केपी शर्मा ओली नेतृत्वकाे सरकारले भक्ति थापालाई विभुति बनाउने निर्णय लियो । विभूतिको सूचीमा नयाँ सरकारले जयपृथ्वीलाई थप्न सक्छ । राष्ट्रिय विभूति बन्न आवश्यक मापदण्डमा केही अपुग छैन जयपृथ्वीमा । प्रश्न यति मात्रै हो कि राज्यले उनको योगदानलाई कसरी मूल्यांकन गर्छ ।

साभार: नेपाल प्रेसबाट(यो समचार नेपालप्रेस डटकममा बिराट अनुपमले लेख्नु भएको हो ।