राणाकालमा नेपाल केन्द्र र स्थानीय गरी दुइटा राज्यप्रणालीबाट सञ्चालित थियो । केन्द्रमा राणाहरू थिए, स्थानीय स्तरमा स्थानीय रजौटा । प्रायः स्थानीय राजा–रजौटाहरूको नाता सम्बन्ध राणा र शाहहरूसँग थियो । उनीहरूको रहनसहन भेषभूषा र शासकीय शैली राणाहरूसँगै मिल्थ्यो । वर्तमान सुदूरपश्चिम त्यतिबेला बझाङ, बाजुरा, थलारा, डोटी, अछाम, दर्ना र धुलीकोट राज्यहरूमा विभाजित थियो । सुदूरपश्चिमेली जनतामाथि केन्द्र र स्थानीय गरी दोहोरो शासनको भार थोपरिएको थियो । राज्यबाट पाउनुपर्ने आधारभूत सेवा सुविधा नपाए पनि कर भने उनीहरूले तिरिरहनु पथ्र्यो । शासकवर्गको चरम शोषणका कारण जनता आजित थिए । तर, त्यसबेला बझाङका राजा जयपृथ्वीबहादुर सिंह भने अपवाद थिए । विसं. १९३४ भदौ ७ गते बझाङको चैनपुरमा जन्मेका जयपृथ्वी प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरीपट्टिका नाति तथा चन्द्रशमशेरका ज्वाइँ थिए । आपसी मतभेदका कारण राणाहरूले बुबा राजा विक्रमबहादुर सिंहलाई हटाएर उनलाई बझाङको राजा घोषित गरेका थिए । त्यसैले बुबा जीवित छँदै जयपृथ्वी सानै उमेरमा बझाङको राजा बने । सानैमा राजा बनेकाले जयपृथ्वीलाई बझाङमा ‘बालराजा’ तथा ‘बालाशाही’ भनेर पनि चिनिन्थ्यो ।
राणाहरू मावली खलक भएकाले जयपृथ्वीले काठमाडौँको दरबार स्कुलमा पढ्न पाए । उच्च शिक्षा भने उनले भारतमा हासिल गरे । उनले कलकत्ताबाट कानुनमा स्नातकसम्मको अध्ययन गरेका थिए । शिक्षित भएकै कारण जयपृथ्वी देशका अरू राजा–रजौटाहरू भन्दा पृथक् थिए । शासकीय दम्भ उनीमा रत्तिभर थिएन । खासमा उनी राजा कम र दार्शनिक बढी थिए । मानवतावाद उनको मौलिक दर्शन थियो । सानैदेखि उनी मुलुक र जनताको उन्नति प्रगतिमा चिन्तित थिए । त्यसैले होला पछि गएर उनले नेपालको शैक्षिक, न्यायिक, प्रशासनिक क्षेत्रको सुधारमा उल्लेख्य योगदान पु¥याए । नेपाली भाषाको उन्नति र नेपालको पत्रकारिताको शुरुवातमा उनको विशेष भूमिका रह्यो ।
नेपालको शैक्षिक विकास र नेपाली भाषाको उन्नतिमा जयपृथ्वीबहादुर सिंह छुटाउनै नहुने नाम हो । नेपालको शैक्षिक विकासमा उनले पु¥याएको योगदानको जति तारिफ गरे पनि कमै हुन्छ । जनताका छोराछोरीले पढ्न नपाउने राणाकालीन समयमा उनले प्रधानमन्त्री देवशमशेरलाई रिझाएर देशभर ‘भाषा पाठशाला’ खोल्न लगाए । भाषा पाठशालाका लागि आवश्यक पुस्तक उनैले लेखे । जयपृथ्वीद्वारा विसं. १९५८ मा लिखित
‘अक्षराङ्क शिक्षा’ नेपाली भाषाको पहिलो पाठ्यपुस्तक हो । अक्षराङ्क शिक्षामा बाह्रखरी, जोडघटाउ, गुणन, भाग, एकावली, पाहाडा, वर्गाङ्का, अढैया, खेतका किसिम र नापजाँच, रुपियाँ–पैसा, समय, ऋतु–महिना, राशि–नक्षत्रलगायतका विषय समेटिएका छन् । ४४ पृष्ठमा रहेको अक्षराङ्क शिक्षामा व्यावहारिक जीवनमा आइपर्ने आधारभूत सामग्रीहरू समावेश छन् ।
दुर्भाग्य, प्रधानमन्त्री देवशमशेरको कार्यकाल धेरै लामो रहेन । देवशमशेरपछि चन्द्रशमशेर प्रधानमन्त्री बने । शिक्षाप्रति अनुदार चन्द्रशमशेरले देवशमशेरका पालामा खुलेका भाषा पाठशाला सबै बन्द गरे । भाषा पाठशाला बन्द गर्ने चन्द्रशमशेरको निर्णय जयपृथ्वीलाई भने मन परेन । त्यसैले उनले अदालती काम–कारबाही र राज्यप्रशासनमा चाहिने जनशक्तिको उत्पादन शिक्षाको विकासविना असम्भव रहेको भन्दै भाषा पाठशाला पुनर्सञ्चालनका लागि चन्द्रशमशेरसँग अनुरोध गरे । तर, चन्द्रशमशेरले भाषा पाठशालाको सट्टा ‘श्रेस्ता पाठशाला’ स्थापनामा जोड दिए । कानुनी शिक्षाका लागि खोलिएका ‘श्रेस्ता पाठशाला’का लागि जयपृथ्वीले नै ‘श्रेस्ता दर्पण’ पुस्तक लेखे । ‘श्रेस्ता दर्पण’मा चिठी लेख्ने तरिका, विन्तीपत्रमा अड्डाले तोक लगाउने तरिका, अड्डाले अड्डालाई पत्र लेख्ने तरिका, रसिद–पट्टा, कबुलियतनामा, पूर्जी, भरपाइ, टिप्पणी, मञ्जुरनामा, कपाली–तमसुक, भोगबन्धक, दृष्टिबन्धक, फिरादपत्र, प्रतिउत्तर, अपिलपत्र, झगडियाका दैलामा टाँस्ने म्याद, अख्तियारनामा, काहेलनामा, मिलापत्र–जितापत्रलगायतका विषय समेटिएका थिए । ‘श्रेस्ता दर्पण’ पनि कानुनी पाठ्यक्रमका रूपमा नेपालमा लेखिएको पहिलो पुस्तक हो ।
श्रेस्ता दर्पणपछि जयपृथ्वीद्वारा लिखित अर्को पुस्तक हो ‘शिक्षा दर्पण’ । विसं. १९६४ मा प्रकाशित ‘शिक्षा दर्पण’ तीन भागमा छ । शिक्षा दर्पणमा मुलुकको उन्नतिका लागि चाल्नुपर्ने कदमबारे थुप्रै कुरा उल्लेख छन् । मुलुकको विकास एक जनाबाट सम्भव नहुने भन्दै उनले देश निर्माणमा सबैको सहभागिता रहनुपर्नेमा जोड दिए । जयपृथ्वीले लेखेका छन्– “सबैले इलम् सिकी, विद्या पढी, जान्ने भै अरूलाई हाँकी ‘होस्टे’ भन्ने हुन चाहनुपर्छ । केही गरी ‘होस्टे’ भन्ने भाग अर्कालाई प¥यो भने ‘हैँसे’ भन्नेसँगै ‘हैँसे’ भन्नुपर्छ ।” जयपृथ्वीले
‘शिक्षा दर्पण’मा राष्ट्रधनको पनि चर्चा गरेका छन् । उनले व्यक्तिले थुपारेको धनलाई राष्ट्र धन नमानी विद्यालय, बाटोघाटो, पुलपुलेसा र अस्पताल आदिमा लगानी भएको पुँजीलाई राष्ट्रिय पुँजी मानेका छन् । बिरामीले उपचार पाए ऊ काममा फर्की राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने, व्यक्तिले शिक्षा पाए उसले राष्ट्रिय अर्थतन्त्रमा अहं भूमिका निर्वाह गर्ने तथा बाटोघाटो र पुलपुलेसा बनेमा व्यापार र पारवहनमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्र उँभो लाग्ने धारणा अघि सारे । । शिक्षा दर्पणमा सरसफाइ, रोगव्याधि, शारीरिक व्यायाम, विद्यार्थीको पढ्ने, सुत्ने र उठ्ने समय, परिवारसँग आपसी पे्रम र छलफलजस्ता विषयहरू समेटिएका छन् ।
त्यसैगरी विसं. १९६५ मा प्रकाशित ‘व्यवहारमाला’ नामक पुस्तकमा उनले “सबैले विचार गर्नुपर्छ कि सके दुनियाँभरको नभया आफ्नो मुलुकमा उपकार गर्नुपर्ने कति काम छन् ? आफू बसेका शहरमा कति मानिस भोकले मरिरहेका छन् ? कति अरूको कमारा–कमारी भएर बाँच्न विवश छन् ? विद्या नपाएर कति पशुजस्ता भएर रहेका छन् ? कति बलियाको थिचोमिचोमा मरेका छन् । के प्राणीको उपकार हुने काम यस्तै खेलबाडबाट हुन्छ ?” भन्दै समाजमा विद्यमान, गरिबी, अशिक्षा, भोकमरी, थिचोमिचो दासप्रथा, बेराजगारीको अन्त्यमा पनि जोड दिए । विसं. १९६७ मा प्रकाशित जयपृथ्वीको अर्को पुस्तक हो ‘भूगोल विद्या’ । नेपाली भाषामा भूगोलसम्बन्धी लेखिएको यो अर्को पहिलो पुस्तक हो । पुस्तकमा जयपृथ्वीले विद्यार्थीहरूका लागि भूगोलसम्बन्धी आधारभूत जानकारी समेटे । जयपृथ्वीद्वारा लिखित अन्य पाठ्यक्रमहरूमा नागरिक शिक्षा, प्राकृत व्याकरण, बालबोध, ज्ञानमाला आदि पनि छन् । पाठ्यक्रमका अतिरिक्त उनले पदार्थ तŒवबोध, जापानको इतिहास, मानवतावादी पुस्तकहरू पनि लेखे । ‘ब्रिगेड’ पुस्तक उनले अङ्ग्रेजीबाट नेपालीमा उल्था गरेको पुस्तक हो ।
नेपालको सबैभन्दा जेठो पत्रिका गोरखापत्र प्रकाशनमा पनि जयपृथ्वीबहादुर सिंहको अहं भूमिका रहेको थियो । जयपृथ्वीले १९५८ सालदेखि प्रकाशित गोरखापत्रको सञ्चालनमा पनि प्रत्यक्ष संलग्न भएर काम गरे । विसं. १९६२ मा कलकत्ताबाट हातेप्रेस ल्याई नक्सालस्थित आफ्नै दरबारमा गोरखापत्र प्रकाशनको व्यवस्था पनि मिलाए ।
नेपालमा पठनपाठनको माध्यम भाषा नेपाली हुनुको पछाडि जयपृथ्वीबहादुर सिंहको हात छ । प्रधानमन्त्री देवशमशेरका पालासम्म देशभित्र ‘नेपाली भाषा’लाई ‘गोरखा भाषा’ भन्ने चलन थियो । देशबाहिर भने ‘नेपाली भाषा’ नै भनिथ्यो । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार पछि जयपृथ्वीकै पहलमा ‘गोरखा भाषा’को नाम ‘नेपाली भाषा’ नामकरण भएको हो (आचार्य, २०७०ः १३०) । प्रधानमन्त्री देवशमशेरले नेपालको राष्ट्र भाषा र शिक्षाको माध्यम कुन भाषालाई बन(ाउने भन्ने विषयमा जयपृथ्वीबहादुर सिंह, हरिहर आचार्य दीक्षित, दिव्यदेव पन्त, दरबार स्कुलका प्रिन्सिपल बटेकृष्ण मैत्रेय र मोतीराम भट्टसँग छलफल गरेका थिए । छलफलमा हरिहर आचार्य दीक्षित र दिव्यदेव पन्तले संस्कृत तथा वटेकृष्ण मैत्रेयले अङ्ग्रेजी भाषालाई पठनपाठनको माध्यम बनाइनुपर्नेमा जोड दिए । तर, जयपृथ्वीबहादुर सिंह र मोतीराम भट्टले पठनपाठन ‘नेपाली भाषा’मा हुनुपर्ने सल्लाह दिए । त्यसपछि देवशमशेरले नेपाली भाषालाई पठनपाठनको माध्यम बनाए । नेपाली भाषाप्रति जयपृथ्वीको यो अगाध स्नेह थियो । त्यसैले उनले विद्यालयमा पढाइ हुने पाठ्यपुस्तक र गोरखापत्रको प्रकाशनमा भाषिक शुद्धता र एकरूपताका लागि विसं. १९६९ मा ‘प्राकृत व्याकरण’ लेखे । विसं. १९७३ मा गोरखापत्रमा ‘तरङ्गिणी’ नाटकको समीक्षा छापिएपछि ‘यस्तोे गरी सज्जन महानुभावहरूले नेपाली भाषा साहित्यका पुस्तकहरूको अभाव हटाउँदै जानुभयो भने हाम्रो नेपाली भाषालाई पनि विश्वविद्यालयमा स्थान मिल्ला’ भनेर उनले टिप्पणी गरेका थिए ।
जयपृथ्वीले केन्द्रस्तरका साथै स्थानीय स्तरमा खासगरी आफ्नो राज्य बझाङको समेत शैक्षिक, आर्थिक, सामाजिक विकासमा विशेष जोड दिए । राणाहरूको स्वीकृतिविना जनताका छोराछोरीका लागि काठमाडौँको नक्सालमा सत्यवादी पाठशाला खोले । तर, राणाहरूले उक्त स्कुल सञ्चालन हुन दिएनन् । त्यसपछि उनले १९६९ सालमा सत्यवादी पाठशाला बझाङमै सारे । बझाङमा स्थापित सत्यवादी पाठशाला सुदूरपश्चिमको पहिलो स्कुल हो । सत्यवादी पाठशाला बझाङमा सारेपछि उनले आफ्ना भाइ अमरबहादुर सिंहलाई हेडमास्टर नियुक्त गरे । अमरबहादुर सिंहपछि सत्यवादी पाठशालाको प्रधानाध्यापक भारत, पिथौरागढको अस्कोट निवासी रामदत्त अवस्थी बने ।
त्यतिबेला बझाङ राज्य कुण्डा, सटिका, तलकोट, जुजी, छान्ना, छबीस, पणेस, स्यूँ, थली–नबीस, सुनी, बुङ्गल दरा तथा चीरगर्खामा विभाजित थियो । त्यसैले जयपृथ्वीले सत्यवादी पाठशालामा अध्ययनका लागि हरेक दराबाट चार–चार जना विद्यार्थीहरूका लागि भर्नाको व्यवस्था मिलाए । गरिब विद्यार्थीका लागि आवास, पाठ्यपुस्तक र खाना निःशुल्क उपलब्ध गराए । सत्यवादी पाठशालाका प्रधानाध्यापकले पाठशालाको मासिक तथा वार्षिक प्रगति विवरण उनी बस्ने ठाउँ बैङ्गलोर पठाउनुपर्ने नियम बसाए । सोही आधारमा उनी प्रधानाध्यापक रामदत्त अवस्थीलाई आवश्यक निर्देशन दिने गर्थे । सत्यवादी पाठशालामा अङ्ग्रेजी शिक्षा जनताका छोराछोरीलाई निःशुल्क र राजपरिवारका छोराछोरीलाई सःशुल्क पढाउनुपर्ने व्यवस्था मिलाए । त्यतिबेला बझाङमा स्कुल छोड्ने विद्यार्थीलाई शिक्षक विद्यार्थीको समूह गई पुनः विद्यालयमै ल्याउने चलन थियो । स्कुल छोड्ने विद्यार्थीलाई प्रधानाध्यापक अवस्थीले जरिवाना समेत गर्थे । जयपृथ्वीले उक्त कुरा थाहा पाएपछि विद्यार्थीलाई गरिने आर्थिक जरिवाना गैरकानुनी हुने भएकाले त्यसको सट्टा मानसिक र शारीरिक कार्य दिनु भनेर प्रधानाध्यापक अवस्थीलाई निर्देशन दिए ।
जयपृथ्वीबहादुर सिंहले सत्यवादी पाठशालाका अतिरिक्त बझाङका अन्य भेगमा समेत स्कुल खोल्न चाहेका थिए । सोही विषयमा छलफल गर्न उनले विसं. १९६६ मा जयपृथ्वीनगरमा बृहत भेला बोलाए । भेलामा बझाङका हरेक दरा र गर्खाका जिम्मुवाल–मुखिया र भलाद्मी उपस्थित थिए । छलफलका क्रममा जयपृथ्वीले जनताका छोराछोरीको शिक्षाका लागि बझाङमा थप स्कुल खोल्न चाहेको बताए । उक्त भेलामा सहभागी बझाङको दुर्गम क्षेत्र ज्यावनबाट परिमल धामी र पौमल धामी उपस्थित थिए । छलफलमा जयपृथ्वीले दोस्रो दिन टुँडिखेलमा ज्यावन र काँडा क्षेत्रमा दुईवटा स्कुल स्थापना गर्न लागेको र स्कुलका लागि शिक्षकहरूको समेत व्यवस्था भइसकेको घोषणा गरे । तर, ज्यावनमा स्कुल खोल्ने जयपृथ्वीको घोषणापछि परिमल धामी र पौमल धामीले “सरकार हाम्रो गाउँमा स्कुल खुलेमा देउता रिसाउनेछन् । देउता रिसाए हामी कहाँ गएरबस्ने ? त्यसैले हाम्रो गाउँमा स्कुल नखोलिबक्सियोस्” भनेर बिन्ती गरेछन् । जनताका छोराछोरीका लागि स्कुल खोल्न खोज्दा नखोलियोस् भनेर स्थानीय परिमल धामीहरूले असहमति जनाएपछि जयपृथ्वी रिसाए । त्यसपछि उनले “तिम्रा छोराछोरी तिमीहरूजस्तै अशिक्षित राखी राख, भोलि धनीमानी फटाहाले घोडा बनाएर जोत्नेछन्, त्यसपछि बल्ल तिमीहरू चेत्नेछौँ” भनेका थिए रे । उक्त भेलामा सहभागी परिमल धामी विसं. २०३४ सम्म जीवितै थिए । ज्यावन क्षेत्रमा स्कुल खोल्ने जयपृथ्वीको चाहना आफ्ना कारण पूरा हुन नसकेको पछूतो धामीले २०३४ सालमा बझाङ यात्रामा रहेका पूर्णप्रकाश नेपाल यात्रीसँग पोखेका थिए । धामीको उक्त भनाइ यात्रीले आफ्नो पुस्तक “सेतीको नालीबेली”मा समावेश गरेका छन् ।
देशको आर्थिक, सामाजिक तथा शैक्षिक उन्नतिमा तल्लिन जयपृथ्वी सच्चा विकासवादी थिए । उनी दासत्व, थिचोमिचो, जातीय विभेद विरोधी थिए । सोही कारण उनको ससुरा चन्द्रशमशेरसँग खटपट भयो । भारदारी अड्डाको प्रमुख हुँदा जयपृथ्वीले तप्तबहादुर भन्नेको ज्यान मुद्दामा निष्पक्ष फैसला गरेका थिए । तर, चन्द्रशमशेरलाई उक्त फैसला चित्त नबुझेपछि उनले जयपृथ्वीको मन कटु वाक्यले दुःखाएका थिए । देश विकासका लागि केही गर्न खोज्दा पाइलापाइलामा राणाहरू तगारो बनेपछि उनलाई स्वदेशमा बस्ने वातावरण नै बन्न सकेन । त्यसपछि उनी देश छोड्न बाध्य भए । जीवनको पछिल्लो चरणमा उनले भारतको बैङ्गलोरमा मानवतावाद क्लब स्थापना गरी विश्वव्यापी रूपमा मानवतावादको प्रचार गरे । विसं. १९९७ मा बैङ्गलोरमै उनको निधन भयो । मुलुकको उन्नति प्रगतिमा उल्लेख्य भूमिका निर्वाह गरेका जयपृथ्वीको सर्वत्र खोजी हुनुपर्ने हो । उनको योगदानको जनस्तरदेखि सरकारी स्तरसम्म कदर हुनुपर्ने हो । तर, दुर्भाग्य मुलुकका लागि केही गरेर गएका जयपृथ्वीलाई मुस्किलले सम्झने गरिएको छ । साभार:गोरखा पत्र