कालङ्गा हाइड्रोद्वारा १० अक्सिजन सिलिण्डर सहयोग

ग्रेसबहादुर सिंह

बझाङ । जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि बझाङमा निर्माणाधिन ६५ मेगावाटकाे कालङ्गा हाइड्रो पावरले १० वटा अक्सिजन सिलिन्डर सहयोग गरेको छ । कोरोना महामारी बढ्दै गएका बेला जिल्लामा कोरोना संक्रमितहरुलाई अक्सिजनको अभाव हुने भएकाले कालङ्गा हाइड्रो पावरले परियोजना निर्माणका लागी राखिएका सिलिण्डरहरु जिल्लाका स्वास्थ्य संस्था र आइसाेलेसनलाई दिएको छ । कालङ्गा हाइड्रो पावरले सात हजार लिटर अक्सिजन क्षमताका अाठ वटा सिलिण्डर जिल्ला अस्पताल बझाङलाई र दुई वटा सिलिण्डर बुङ्गल नगरपालिकाले निर्माण गरेको त्रिवेणी आदर्श क्याम्पसमा बनाइएको आइसाेलेसन सेन्टरलाई हस्तान्तरण गरेको कालङ्गा हाइड्रोका मेकानिकल इन्जिनियर तथा प्रोजेन्ट इन्चार्ज गणेश अधिकारीले बताए । हाइड्राेले सहयोग गरेका १० वटा सिलिण्डरबाट ७० हजार लिटर अक्सिजनको ब्यवस्थापन हुने र स्वास्थ्य संस्थामा रहेका अक्सिजन वितरण गर्न उपकरणका आधारमा एउटै सिलिण्डरबाट एक जनाभन्दा बढीलाई अक्सिजन दिन मिल्ने प्रोजेक्ट इन्चार्ज अधिकारीले बताउनु भयो । यस्तै अहिले बुङ्गल नगरपालिकामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । नगरपालिकाले निर्माण गरेको कफल्सेरी कोभिड अस्पतालमा १७ जना उपचार गराई रहेका छन् भने त्रिवेणी आदर्श क्याम्पसको आइसाेलेसनमा ११ जना र होम आइसाेलेसनमा छ जनाकाे उपचार गराई रहेको बुङ्गल नगरपालिका स्वास्थ्य शाखा सह संयोजक बसन्तराज जोशीले बताए । कुल संक्रमितहरुमध्ये नगरपालिका भित्र कार्यरत छ स्वास्थ्यकर्मी, एक पत्रकार र अन्य २७ जना सर्वसाधारणहरुलाई कोरोना संक्रमण देखिएको छ। संक्रमित एकलाई थप उपचारका लागी जिल्ला अस्पताल बझाङ रिफर गरिएको छ भने अन्य ३३ जनाको अवस्था सामान्य रहेको छ ।