भुवनबहादुर सिंह
बझाङ– लामो समय देखी रगतको अभाव खेप्दै आएको बझाङ अस्पतालको व्लड बैङ्क संचालनमा आएकोछ । ब्लड बैङ्क संचालनमा आए स“गै रगतको अभावमा गम्भिर प्रकृतिका विरामीको ज्यान नै जोखिममा हुने अवस्था अव अन्त्य हुने आशा गरिएको छ ।
बुधबार प्रतिनिधी सभा सदस्य भैरबबहादुर सिंहले ब्लड बैङ्कको औपचारीक रुपमा उदघाटन गरेका छन । जयपृथ्वी नगरपालिका र प्रतिनिधी सभा सदस्य सिंहको पहलमा स्थानिय क्षेत्र पुर्वाधार विकास कोषको ५० लाख लागतमा ब्लड बैङ्क स्थापना भएको हो ।
‘चिकित्सक आफैले रगत दिएर आफैले विरामीको अप्रेसन गर्नु परेका थुप्रै घटना छन’ जिल्ला अस्पतालका एक जना डाक्टर मिलन खड्काले भने ‘जिल्ला अस्पतालमा त्यस्तो कर्मचारी सायदै होला जसले आपतकालिन अवस्थामा रक्तदान नगरेको होस’ उनले कतिपय अवस्थामा रगत नपाएर विरामी नै बाहिर जिल्ला रिफर गर्नु परेको घटना पनि सम्झिए ।
जिल्ला अस्पतालमा उपचार गर्न आउने विरामीहरु मध्ये हप्तामा कम्तीमा दुइ जनालाई रगतको आवश्यकता हुने गरेको छ । सुत्केरी हुदा“ रगत आवश्यक परेका, शल्यचिकित्सा गरिएका, एनिमिया, ल्युकिमिया, रक्त क्यान्सर भएका तथा गम्भिर खालको दुर्घटनामा परेकाहरुलाई तत्काल रगत आवश्यक पर्ने गरेको छ । तत्काल रगत चाहिने विरामीहरुको लागि अर्काे मुख्य दाता भनेको बझाङ स्थित नेपाली सेना हुने गर्दथ्यो । ‘सेना, प्रहरी र अस्पतालका कर्मचारीबाट समयमै चाहिएको समुहको रगत नपाएमा विरामीको ज्यानै जाने सम्मको जोखिम थियो’ डाक्टर खड्काले भने ‘ब्लड बैङ्क स्थापना भए स“गै यो समस्या अन्त्य भएको छ ।’
ब्लड बैङ्क स्थापना भए पछि दाताबाट संकलित रगत तीन देखी ६ महिना सम्म सुरक्षित रुपमा भण्डार गरेर राख्न सकिने भएको छ । एक पटकमा ४० पिन्ट रगत स्टोर गर्न सकिने छ । यस अघी रगत आवश्यकता परेकाहरुलाई दाताबाट तत्काल रगत लिएर दिने गरिएको थियो । ब्लड बैङ्क स्थापना स“गै यो समस्या पनि हटेको छ । ब्लड बैङ्कमा रहेको सेन्टीफ्युज र प्लाज्मा कन्सन्टेटर मेसिनले रगतमा भएको राता रक्तकोष र प्लाज्मालाई छुट्याउन सक्ने प्रविधी पनि जडान गरिएकोले विरामीलाई आवश्यक रगत मात्रै दिन सकिने जिल्ला अस्पतालका प्रमुख डाक्डर सन्दिप ओेखेडाले बताए । ‘सबै विरामीहरुलाई रगतमा भएको सबै तत्वहरु आवश्यक हुदैन । तर हामी स“ग यो छुट्याउने प्रविधी नहुदा सबै रगत दिने गरेका थियौं’ उनले भने ‘अब त्यो समस्या पनि अन्त्य भएको छ’
उनले ब्लड बैङ्कको स्थापनाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गम्भिर प्रकृतिका विरामीको उपचार गर्ने सवालमा मनोबल समेत बढाएको बताए । ‘आवश्यक रगत उपलब्ध हुने नहुने निश्चित नहुदा हामीलाई पनि जटिल खालका केसमा हात हाल्न गाह्रो हुने गरेको थियो । अब ढुक्क भएर काम गर्न सकिने अवस्था भयो’ डाक्टर ओखेडाले भने ।
उद्दघाटन गर्ने क्रममा प्रतिनिधी सभा सदस्य भैरब बहादुर सिंहले लामो समय देखीको ब्लड बैङ्क स्थापना गर्ने बझाङ्गीको सपना पुरा भएको बताए । रगतको अभावमा अब कसैले छट्पटाृउनु नपर्ने बताउदै उनले आगामी बर्ष भित्रै जिल्ला अस्पतालमा आइसियु स्थापना गरिने बताए ।
व्लड बैङ्कको लागि आवश्यक पर्ने सामाग्री खरिद तथा स्थापना गर्ने काम जयपृथ्वी नगरपालिकाले गरेको हो । बायोमेट्रीक इन्जिनियरको सहयोगमा स्फेसिफिकेसन तयार गरेर सामाग्री खरिद गरी ब्लड बैङ्क स्थापना गरिएको नगरपालिकाका प्रमुख विरेन्द्र खड्काले बताए ।