जुझारू पत्रकार, सालिन व्यक्तित्व

साइपालखबर संवाददाता
काठमाडौं । पत्रकार बसन्त प्रताप सिंहको बाइलाइन नदेख्ने र नपढ्ने पाठक सायदै कमै छन् । जो सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङमा बसेर निरन्तर १७ बर्षदेखि पत्रकारितामा शसक्त कलम चलाउदै आएका छन् । आम पाठकको मनमस्तिष्कमा सालिन व्यक्तित्व, सक्रिय, सिर्जनशिल र मेहनती पत्रकारको छबि बनाइसकेका उनै जुझारु पत्रकार सिंह नेपाल पत्रकार महासंघको निर्वाचनमा खुल्ला केन्द्रिय सदस्य पदमा प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । निर्वाचन आमागी चैत्र २५ गते देशव्यायी हुदैछ ।

कान्तिपुर दैनिकका लागि बझाङ जिल्ला संवाददाताका रुपमा कार्यरत उनले बिशेषगरी गहन, खोजमुलक, फिचर तथा समाचार लेखनमा उत्कृष्ट पत्रकारको छवि बनाइसकेका छन् । लामो समयदेखि लेखन कार्यमै व्यतित गर्दै आएका उनले यसपल्ट नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रिय नेतृत्वका लागि उम्मेदवारी दिएका हुन् । ‘लेखन कर्मलाई निरन्तरता दिइएकै छ, यतिले मात्रै हाम्रा समस्या समाधान नहुदा रहेछन्, श्रमजिवी पत्रकारहरुको समस्या समाधान गर्न नेतृत्वमै पुग्नुपर्छ भनेर उम्मेदवारी दिएको छु,’ उनले साइपालखबरसंग भने ।

पछिल्लो समय नेपाल पत्रकार महासंघमा क्रियाशिल, निष्पक्ष, व्यवसायिक, श्रमजिवी तथा पेशागत सुरक्षाको ग्यारेन्टी गर्न सक्ने इमान्दार पत्रकारहरुले नेतृत्व पाउनुपर्ने बहस भैरहेका बेला उनको उम्मेदवारीलाई देशैभरी उत्साहका साथ हेरिएको छ । उनी देशैभरी सालिन, भद्र, साहसिक र उर्जाशिल पत्रकारको रुपमा चिनिन्छन् । उनको उम्मेदवारीलाई पुर्वदेखि सुदुरपश्चिमका ७७ जिल्लाभरी नै रुचाइएको छ ।

इटहरीका पत्रकार विराट अनुपमले शनिबार फेसबुक वालमा उनको समर्थन गर्दै लेखेका छन्, ‘बसन्त जीको बारेमा धेरै भन्दिन– उहाँ हिमाली क्षेत्रमा रहेका नेपाली जिल्ला रिपोर्टरमा सबैभन्दा सक्रिय, सिर्जनात्मक र व्यवसायिक पत्रकार हो ।’ अनुपमले आफ्नो पोष्ट मार्फत घुमाउरो भाषामा व्यवसायिकता र क्रियाशिलताको पक्षधरता पत्रकार (मतदाता)हरुलाई खुल्ला केन्द्रिय सदस्य पदमा भोट हालेर जिताउन आग्रह गरेका छन् ।

खुल्ला केन्द्रिय सदस्य पदका उम्मेदवार सिंहका सहकर्मी ओखलढुंगाका लागि कान्तिपुर संवाददाता कुम्भराज राईले पनि फेसबुक वालमा लेख्दै उनको पक्षमा भोट मागेका छन् । लेखेका छन्, ‘सुदुरपश्चिमको बझाङमा रहेर पनि देशै हल्लाउन सक्ने समाचार लेख्ने पत्रकार हुन् बसन्तप्रताप सिंह । उहाँले स्वतन्त्र रुपमा पत्रकार महासंघको केन्द्रिय सदस्यमा उम्मेद्वारी दिनुभएको छ । यदि महासंघको गरिमालाई थप उचो बनाउने हो भने उहाँ जस्तै व्यवसायिक र दुरदराजका पत्रकारलाई जिताउन आवश्यक छ । गफास्टिक र पार्टीको झोले पत्रकारलाई भन्दा उहाँलाई मत दिएर केन्द्रिय सदस्य बनाउँ । यसपालीको महासंघको चुनावमा पहिलो व्यक्तिलाई यसरी भोट मागियो ।’

शनिबार मनोनयन दर्ता गराएका उनको उम्मेदवारीबारे आइतबार बेलुकीसम्म हेर्दा सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा बढि चर्चा देखिएको छ । यसपल्टदेखि नेपाल पत्रकार महासंघमा केन्द्रिय पार्षदले मात्रै भोट लगाउन पाउने सिन्डिकेट तोडिएको छ । अर्थात प्रत्यक्ष निर्वाचन प्रणाली लागु भएको छ । चैत्र २५ को निर्वाचनमा हरेक जिल्लाका महासंघ सदस्यले खुल्ला केन्द्रिय सदस्य पदका उम्मेदवार सिंहलाई देशैभरीबाट भोट हाल्न पाउनेछन् ।

छोटो अवधिमा ७७ वटै जिल्लामा जोकोही उम्मेदवारले स्वयम् पुगेर भोट माग्ने अवस्था छैन । सम्पुर्ण उम्मेदवारले सामाजिक सञ्जाल, टेलिफोन संवादलाई भरपुर प्रयोग गरेको पाइएको छ । समग्रमा हेर्दा खुल्ला केन्द्रिय सदस्य पदमा सिंहको उम्मेदवारीमा मतदाता, उनका समर्थक तथा शुभचिन्तकको चाम बढेको छ ।

पत्रकार सिंह कान्तिपुर दैनिकमा २०७२ साल माघ १८ गते जिल्ला संवाददाताको रुपमा नियूक्त भएका थिए । तुलनात्मक हिसावले राष्ट्रिय मिडियामा कमै आउने बझाङका विभिन्न क्षेत्रका मुद्धाहरु उनी जिल्ला संवाददाता भएपछि राष्ट्रिय मुद्धा नै बनेका छन् । उनले समाचारमा उठान गरेका मुद्धाहरु संसदमा पनि ध्यानाकर्षण भएका छन् । उनले लेखेका अधिकांश समाचारको राम्रो प्रभाव छाडेका छन् ।

करिब एकबर्षमा कान्तिपुर दैनिक र काठमाण्डौ पोष्टमा उनका ३ सय ४६ वटासम्म समाचार प्रकाशित भएका विगत छन् । यि वाहेक थुप्रै समाचार र अडियो रिर्पाेटहरु इकान्तिपुर अनलाइन र कान्तिपुर एफएमबाट पनि प्रकाशित प्रसारित भएका छन् । उनका हरेक समाचार मानवीय चासोका हुने गर्छन् ।

कान्तिपुर सहित उज्यालो ९० नेटवर्क, नेपाल टेलिभिजन, नेपाल समाचार पत्र, राजधानी दैनिक, रेडियो सेती, साथी पत्रिकामा विभिन्न पदमा र जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

उनी हालै बहुप्रतिष्ठित नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित ‘इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार (२०२०)’ बाट सम्मानित भएका व्यक्ति हुन् । भने यस अघि नै राष्ट्रपतीले प्रदान गर्ने जनसेवाश्री पदकबाट समेत विभुषित भइसकेका छन । यसैगरी शिक्षा पत्रकारिता पुरस्कार, दुई पटक कान्तिपुर उत्कृष्ट जिल्ला संवाददाता, फेडवासन पत्रकारिता पुरस्कार, वीरेन्द्र कुमार साह क्रियाशिल पत्रकारिता पुरस्कार, कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार लगायत दर्जन बढी जिल्ला तथा केन्द्र स्तरका सम्मान पाइसकेका छन् ।

यी त भए उनको आबद्धता, सफलता र सम्मानका कुरा । अब पत्रकारितामा उनको क्रियाशिलता, सामाजिक, राजनीतिक विकृति, कुशासन, अनियमितताविरुद्धको कलमबारे चर्चा गरौ ।

जसले साइपालबासीको आँखा खोलिदिए

गतबर्ष बझाङको विकट साइपाल गाउँपालिकाका एकै गाउँका ३०० दृष्टिविहीनहरुको बारेमा रिपोर्टिङ गरेको समाचारको प्रभाव अन्तरराष्ट्रिय स्तरसम्म भयो । उक्त बिषयमा ‘साइपालको अध्यारो संसार’ शिर्षकमा कान्तिपुर दैनिकमा प्रथम पृष्ठमा समाचार प्रकाशित भएको थियो । उनी कोरोना महामारीको प्रवाह नगरी बझाङ सदरमुकाम चैनपुरदेखि दुईदिनको पैदल यात्रा गरेर फिल्ड रिपोर्टिङमा गएका थिए ।

समाचार प्रकाशित भएपछि स्थानीय र प्रदेश सरकारको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन भयो । दृष्टिविहिनहरुको आँखाको शल्यक्रिया भइ आंखा देख्न सक्ने मात्रै भएनन्, उक्त फलोअप रिपोर्टिङ ‘फर्कियो साइपालमा खुसी’ ले इञ्जा सामुदायिक पुरस्कार पायो ।

कुशासन र अनियमितताविरुद्ध

अव्यवस्थित डोजर सञ्चालन सम्बन्धीको खोजमुलक समाचारले देशैभरीको इस्युलाई स्थापित ग¥यो । जथाभावी डोजर सञ्चालन गरेर सडक निमार्ण भैरहेको, जसले गर्दा बाढिपहिरोको गइ धनजनको क्षति भएको, बझाङको आमवगर स्थित नमुना बस्ती जोखिममा परेको, खानेपानी, सिचांइ लगायत पुर्वाधारहरुमा क्षति पुगेको बिषयहरु उजागर गरेका थिए ।

समाचार प्रकाशित भएको भोलिपल्टै कान्तिपुर सम्पादकिय समेत प्रकाशित भएपछि यसैलाइ आधार मानेर वन तथा वातावरण मन्त्रालयले जिल्ला विकास समितिको नाममा स्पष्टिकरण पत्र काटेको थियो । यस पश्चात जिल्ला विकास समितिले सडक निमार्ण कार्यमा डोजर चलाउदा अनिवार्य वातावरणिय परिक्षण गर्ने र इन्जिनियर स्तरको कर्मचारीेको उपस्थितीमा मात्र डोजर संचालन गर्ने नियमको कडाइका साथ पालना गरेको छ । भने सरकारले समेत यसलाई अनिवार्य पालना गर्नुपर्ने भनि देशैभर सर्कुलर गरेको छ ।

बझाङ, बाजुरा, अछाम र डोटीको संगम स्थलमा पर्ने पर्यटकिय थलो भुस्वर्ग खप्तडको नाममा १० बर्षसम्म भएको आधा अर्ब लगानी भएको अनिमितताबारे खोजी समाचार गरेका छन् । विरामी हुदा सिटामोलसम्म खान नपाउने स्थितीलाई उनकै समाचारको प्रभावले जिल्ला अस्पताल बझाङका बिशेषज्ञ डाक्टरबाटै सेवा उपलब्ध भएको छ ।

चीनको सिमानासित जोडिने ताक्लाकोट नाकामा हुने चोरी निकासी, यार्सागुम्बा लगायत बहुमुल्य जडिबुटी तथा अत्तरको नाममा हुने अवैध चरेसको व्यापारबारे निरन्तर खबरदारी गर्दै आएका छन् । उनैको समाचारले गर्दा बझाङको सदरमुकाम चैनपुर र ताक्लाकोट नाका जोड्ने राष्ट्रिय महत्वको राजमार्ग निर्माण भैरहेको छ ।

अन्याय, अपराध, महिला, बालबालिका, दलित र जनजातिका बिषयमा खबरदारी

उनी शिक्षा, स्वास्थ्य, सामाजिक कुप्रथाहरु (बालविवाह, बहुविवाह, छाउपडी प्रथा, महिला तथा बालबालिका माथी हुने विभेद, जातिय छुवाछुत ) आदी विषयमा निरन्तर खबरदारी गर्दै आएका छन् । हाम्रो सामाजिक संरचना कस्तो छ भने महिलाका बिषय महिलाले नै खोतल्नुपर्छ भन्ने सोचाइ छ । तर उनी सबैभन्दा बढि यौन हिंसा तथा लैगिंक हिसा विरुद्धको समाचार लेख्ने पत्रकारभित्र पर्छन् ।

जस्तो गत असोज ७ गते बझाङको मस्टा गाउँपालिकाका राजेन्द्र बोहराले सोही ठाउँकी १३ वर्षीया सम्झना कामीलाई बलात्कारपछि हत्या गरे । सम्झना गोठमा गाईबस्तुलाई घाँस हाल्न हिँडेको मौका छोपेर उनले शिव मन्दिरभित्र बलात्कार गरी त्रिशूल र घनले हानेका थिए । घटना भएकै दिन अभियुक्तलाई प्रहरीले पक्राउ गरेपनि हप्तादिनसम्म सार्वजानिक गरेको थिएन । उनको निरन्तरको फलोअपले गर्दा अभियुक्तलाई सार्वजानिक गरी कारबाही भयो । पिडित पक्षलाई सरकारले क्षतिपुर्ती भराएको छ ।

बझाङ जिल्लाको चैनपुर र थलारामा रहेका बादीहरु तथा जिल्लाभरी रहेका हलियाहरुले आवासको अभावमा भोग्नु परेका समस्या सम्बन्धी विभिन्न समाचारहरु कान्तिपुरमा निरन्तर प्रकासित भए पछि नेपाल सरकारले जनता आवास कार्यक्रम अन्र्तगत घर बनाइदिएको छ । साइपाल, उरै, खप्तड लगायत पर्यटकिय थलोको पर्यटन प्रवद्र्धनमा पनि उनको योगदान छ ।

पत्रकार जन्माउने पत्रकार

पत्रकारितामा उनी आफु मात्रै स्थापित छैनन् । बझाङमा दर्जनौ पत्रकार उत्पादन गरेका छन् । सुदुरपश्चिम प्रदेश तथा देशका विभिन्न जिल्लामा खोज पत्रकार उत्पादनमा पनि उनको योगदान छ । ‘पत्रकारितामा उहाँका १७ बसन्तहरु बिते, तर उहाँमा कहिले घमण्ड देखिएन,’ बझाङका पत्रकार मानबहादुर बोहोराले भने, ‘सालिन र सादा जिवन, उच्च विचार सधै पाइरह्यौ, उहाँले देखाएको बाटो हिडेर नै हामीले पनि पत्रकारितामा स्थापित हुन पाएका छौं ।’

पत्रकारिता यात्राको सुरुवाती बर्षहरुमा आफुले भोगेका दुखकष्टहरुले गर्दा सिकारु पत्रकारहरुलाई हौसला दिने, उर्जा दिने काममा रुची राख्छन् । समाचार लेख्न सिकाउनेदेखि राष्ट्रिय स्तरमा मिडियामा आबद्ध गराउने र व्यवसायिक सिप, दक्षता, क्षमता विस्तार तथा विकासमा सहयोग गर्छन् ।

उनी कुनै पत्रकारलाई दलिय नजरले हेदैनन् । हरेक व्यक्तिसंग मध्यमार्गी दृष्टिकोणले सम्बन्ध राख्ने खुबी बोकेका उनी समाचार स्रोत र पाठकसम्मै प्रिय छन् । विधिको शासन, पारदर्शिता, जवाफदेहिता र न्यायको पक्षमा पैरवी गर्ने उनी सरकारी निकायका अनियमितता, राजनीतिक विकृति, भ्रष्ट्राचार, अन्याय, अत्याचार विरुद्ध डटेर लेख्छन् ।

Add a subheading