हिमाली कन्दरामा ‘किरा’ खोज्नेहरूकाे व्यथा : ‘हामीलाई कहिले पो जोखिम छैन र ?’

वसन्तप्रताप सिंह
साइपाल, बझाङ । वैशाख अन्तिम साता । साइपाल हिमाल बेसक्याम्पको मौसम धुम्म थियो । एकैछिनमा जोडले हावा चल्ने र हिउँ पर्ने ।

हावासँगैको हिमाली स्याँठले मुटु काम्ने गरी हिर्काउँछ । साइपाल आडैको औंलागाडमा लहरै टाँगिएका पालमा मानिसहरू फाट्टफुट्ट बाहिर निस्कन्थे । जाडो खप्न नसकेर एकैछिनमा फुत्त पालभित्रै छिरिहाल्थे ।

छेवैको चौरमा तीन केटाकेटी बेपर्वाह खेलिरहेका थिए । कठ्यांग्रिने जाडोले उनीहरूका गालामा राताराता डाम बसेको परैबाट देखिन्थ्यो । एकैछिनमा फेरि वेगको हावासँगै हिउँ पर्न थाल्थ्यो । सानी बालिका अत्तालिएर रुन थालिन् ।

केहीबेरमा दुवै हातमा पानीको बाल्टी बोकेकी एक महिला आइपुगिन् । बच्चाहरूलाई गाली गर्दै पालभित्र लगिन् । अँगेनाछेउ राखेर सानी छोरीको गाला र हात आगोले सेकिदिइन् ।

‘एकैछिन छोड्यो कि बाहिर निस्किहाल्छे । कति बेला चिसोले कठ्यांग्रिएर मरेको फेला पर्छे भनेर चिन्ता लाग्छ,’ साइपाल गाउँपालिका–३ कायाकी २५ वर्षीया काजल गुरुङ भन्दै थिइन् ।

माइनस डिग्री चिसोको पर्वाह नगरी खेलिरहेकामध्ये दुई जना उनका छोराछोरी रहेछन् । पति चक्र, तीन वर्षको छोरो कालु र १४ महिनाकी छोरी आयुसा किरा (यार्चा) टिप्न घरमा ताला लगाएर औंलागाड आएका हुन् । उनीहरूको घरबाट औंलागाड पुग्न तीन दिन पैदल हिँड्नुपर्छ ।

बिहान ३ बजे उठ्नु, खाना पकाउनु, झिसमिसेमै खाएर तीन वर्षको छोरालाई नजिकैको अर्को पालमा (जहाँ उनकै उमेरका दुई अरू बच्चा छन्) छोडेर यार्चा खोज्न निस्किनु उनीहरूको दैनिकी हो ।

बिहान उज्यालो नहुँदै खाना खाइवरी दिउँसोको नास्ता पोको पारेर उनका पति दौंतरीहरूसँग चौकी वन लाग्छन् । काजलसँग फिदंमा अर्नी (नास्ता) को पोको र पिठ्युँमा छोरी पनि हुन्छिन् । उनीचाहिँ आफ्ना महिला साथीहरूसँग आड्याखोला वनमा किरा खोज्छिन् ।

समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा पाल हालेर बसेका गुरुङ दम्पती यार्चाको खोजीमा ५ हजार मिटरभन्दा माथिसम्म पुग्छन् । दुई जना मिलेर कहिले दिनमै १५/२० वटा भेट्टाउँछन् । कहिले ४/५ वटामै चित्त बुझाउनुपर्छ ।

कहिले त बूढाबूढी रित्तो हात नै पालमा फर्कन्छन् । बिहान झिसमिसेमा हिँडेको यो परिवार साँझ मात्रै पालमा फर्कन्छ । आफू हिमालका पखेरामा किरा खोज्न व्यस्त भए पनि काजलको मन भने पालमै हुन्छ ।

‘छोरी त मसँगै हुन्छे । छोरोले के गर्दै होला ? कतै चोटपटक लायो कि ? खेल्दैखेल्दै खोलातिर गएर केही भइहाल्यो कि ? भनेर चिन्ता लाग्छ,’ काजलले सुनाइन्, ‘ज्यान वनमा भए पनि सुर्ता यसैको हुन्छ ।’ वैशाखको अन्तिम सातादेखि औलागाड क्षेत्रमा यार्चा संकलकका पालहरू थपिने क्रम जारी थियो ।

बझाङका विभिन्न पालिका र जिल्ला बाहिरका मानिसहरू पनि धमाधम यार्चा संलकन क्षेत्रतिर ओइरिन थालेपछि काजल दम्पतीलाई ‘कतै कारोना सर्ने त हैन’ भन्ने अर्को चिन्ता पनि छ । तर, जतिसुकै जोखिम उठाएर भए पनि उनीहरू अबका दुई महिना यहाँ बस्नुको विकल्प छैन ।

सिजनमा किरा टिपेर दिने सर्तमा यार्चा व्यापारीको स्थानीय एजेन्टबाट यो परिवारले एक लाख रुपैयाँ पेस्की लिएको छ । ५० हजार गत वर्ष र ५० हजार यो वर्षका लागि ।

कोरोनाले गर्दा अघिल्लो वर्ष यार्चा संकलनमा प्रशासनले रोक लगाएका कारण पेस्की फर्छ्योट गर्न पाएका थिएनन् । उनीहरूले गत वर्षको पेस्की पनि यही वर्ष तिर्नु छ । ‘अघिल्लो वर्ष त किरा टिप्नै पाइएन भनेर ठेकेदारले पनि माफी दियो,’ चक्रले भने, ‘यो साल पनि किरा दिएनौं भने खाएको पेस्कीको डबल तिर्नुपर्छ ।

अरू आम्दानी केही छैन । जसरी भए पनि पेस्की त कटाउनैपर्‍यो, कोरोनाका डर मानेर भएन ।’ कोरोना महामारीका बेला नाबालकहरूसहित मानिसहरूको भीडभाडमा जाने रहर नभए पनि खाएको पेस्की तिर्ने आम्दानीका अरू स्रोत नभएकाले बाध्य भएर यार्चा टिप्न आएको उनले बताए ।

औलागाडबाट दुई दिनको पैदलबाटो पूर्वउत्तर हिँडेपछि साइपालकै अर्को यार्चा संकलन क्षेत्र माजा पुगिन्छ । चारैतिरबाट हिमालले घेरिएको यो सुन्दर उपत्यका यतिबेला यार्चा खोज्नेले टाँगेका पालले रंगीचंगी छ । आँखाले हेरी नभ्याउने बुकी पाटनहरू मानिसले भरिएका छन् ।

चारै हातखुट्टा टेकेर हराएको सियो खोजेझैं यार्चा खोजिरहेका मानिसहरू देखिन्छन् । पाँच वर्षका बालकदेखि ७० वर्षसम्मका वृद्धवृद्धा यहाँ भेटिन्छन् ।

सयौंको संख्यामा रहेको यो हुलमा तल्कोट गाउँपालिका–४ मल्लो स्याँडाकी ६५ वर्षीया जुना बुढा पनि मिसिएकी छन् । ११ वर्षको छोरा र ७ वर्षकी छोरीलाई साथै ल्याएर चार दिनको पैदल यात्रापछि उनको परिवार माजा आइपुगेको हो ।

उनका छोरी र छोरा पहिला पनि यहाँ आइसकेका छन् । जुना भने यस पटकमात्र संकलन क्षेत्रमा पुगेकी हुन् । माजा पुगेको आठ दिन भइसक्दासम्म उनले एउटा पनि यार्चा भेट्टाएकी छैनन् ।

खासमा उनी माजामा यार्चा पाउने आसाले भन्दा पनि नाबालक छोराछोरीको सुरक्षाका लागि आएकी रहिछन् ।

तीन वर्षअघि दौंतरीहरूका साथ लागेर यार्चा टिप्न आएकी उनकी ७ वर्षीया छोरी रेखा बुढा खोला तर्न खोज्दा बगेर बेपत्ता भएकी थिइन् । अरू छोराछोरीलाई त्यस्तो घटना नपरोस् भनेर साथ लागेर आएको उनले बताइन् ।

‘छोराछोरीलाई किरा टिप्न नलाउँ भने वर्षभरि के खानु ? लाउँ (पठाउँ) भने आलाबौला (कच्चा उमेरका) कै बेला क्याप हुँदो ? (कुन बेला के पो हुन्छ) । त्यसाईले यिनका पुछपुछ (पछिपछि) आयाकी हुँ,’ जुनाले भनिन्, ‘३/४ सय किरा त पाइहालूँला । त्यति भए चार महिना चामलको चिन्ता गर्नु पर्दैन भनेर आएकी हो ।’

जुनाको परिवारको मुख्य आयस्रोत भनेकै यार्चा संकलन हो । कोरोना महामारीका बीच उनलाई बच्चाहरूसहित यहाँ आउन मन त थिएन तर रोगभन्दा पनि भोकको चिन्ताले पिरोल्यो । ‘पोहोर किरा टिप्न नपाउँदा साह्रै दुःख पायौं । कति दिन भोकभोकै बस्यौं,’ उनले भनिन्, ‘भोकले मर्नुभन्दा त रोग लागेरै मरूँला भनेर आएका हौं ।’

माजाबाट सिधा उत्तरमा पर्ने गरुड हिमाल नाघेर, बाँदर हिँड्न पनि गाह्रो हुने खालको अक्करे भीरको बाटोमा हिउँ छिचोल्दै दिनभर हिँडेपछि साइपालकै अर्को यार्चा संकलन क्षेत्र राइढुंगी पुगिन्छ । स्थानीयका अनुसार यहाँ जिल्लाको अरू संकलन क्षेत्रभन्दा बढी मानिसहरू यार्चा संकलनका लागि आउँछन् ।

मल्लो राइढुंगी, ल्यान्टरढुंगा माडुलगायत २० भन्दा बढी ठाउँमा सयौंको संख्यामा पाल हालिएका छन् । यिनैमध्ये एउटा पालमा बस्छन् साइपाल–१ धलौनका ११ वर्षीय मनराज बोहरा । उनी छिमेकी काकीको आश्रयमा यहाँ आएका हुन ।

समुद्र सतहबाट ४६ सय मिटर उचाइको उनको पालबाट मनराज दिनहुँ झिसमिसेमा खाना खाएर किरा (यार्चा) टिप्न निस्किन्छन् । ५ हजार ५ सय मिटर उचाइमा रहेको ल्यान्टरढुंगासम्म पुगेर यार्चा खोज्छन् । साँझ जाडोले थुरथुर काँप्दै पालमा आइपुग्छन् ।

कहिले ८/१० सम्म भेट्टाउँछन् । ‘कहिले एउटा दुइटा मात्रै भेटिन्छ, कहिलेकाहीं मात्रै १२/१३ वटा पनि पाउँछु,’ उनले भने ‘खोज्दा खोज्दा चिसोले हात खाइहाल्छ । कुनै दिन त एउटा पनि पाइँदैन ।’

२०७२ साउन ८ मा यही वनमा उनको बुबा धिर्क बोहराको हत्या भएको थियो । साइपालकै सबैभन्दा बढी यार्चा भेट्टाउनेमा कहलिएका धिर्कलाई कुटोले हानेर हत्या गरी उनको साथमा रहेको यार्चा र नगद लुटिएको थियो । हत्यारा हालसम्म पत्ता लागेको छैन ।

बुवाको हत्या भएको एक वर्षपछि आमा पोइल गइन् । त्यसपछि दुई भाइ र एक बहिनीको जिम्मा मनराजकै काँधमा आयो । ‘भाइबहिनीको पढाइ खर्च त होला भनेर आएको हुँ,’ उनले भने ।

काजल, जुना, र मनराजको बाध्यता सयौं यार्चा संकलक परिवारको प्रतिनिधि कथा मात्रै हो । आफू र परिवारको ज्यान पाल्न विकट हिमाली कन्दरामा जीवनबुटी खोज्नेहरूका संघर्ष र जोखिमका कहानी आङ सिरिङ्ग पार्ने खालका छन् ।

यार्चा ‘हिमालयन भियग्रा’ का नामले अन्तर्राष्ट्रिय बजारमा जति प्रख्यात छ, अक्करे भीरमा यार्चा टिप्नेहरूका कथा त्यसको ठीकविपरीत मार्मिक छन् । सयौंको संख्यामा पाटन क्षेत्र पुगेका संकलकहरूका लागि कोरोना महामारी जोखिमको सूचीमा थप भएको एउटा नाम मात्रै हो ।

‘हामीलाई जोखिम कहिले थिएन र ?,’ १८ वर्षदेखि प्रत्येक वर्ष माजा वनमा यार्चा संकलन गरिरहेका तल्कोट गाउँपालिका लोकन्डका गोविन्द रोकायाले भने, ‘यहाँ आएपछि फर्केर घर नगएसम्म कहाँनिर के हुने हो भन्न सकिँदैन । पाइलापाइलामा जोखिमैजोखिम छ ।’

सबैभन्दा ठूलो जोखिम खोलामा पुल र साँघु नहुँदा भएको उनले बताए । रेखा बगेर बेपत्ता भएको माजागाड यस्तो खोला हो जहाँ जेठको पहिलो सातासम्म हिँडेर वारपार गर्न सकिन्छ । जेठ दोस्रो साताबाट गर्मी बढ्दै जाँदा हिउँ पग्लिन सुरु हुन्छ ।

जेठ अन्तिमसम्म त यो खोला तर्नै नसकिने गरी उर्लिन्छ । खोलामा काठ तेर्स्याएर वारपार गर्न खोज्दा ५ वर्षयता पाँच जनाले ज्यान गुमाइसकेका छन् । ‘पारिपट्टि बसौं भने हिउँ पहिरोको डर हुन्छ,’ रोकायाले भने, ‘खोला वारि बसेर किरा टिप्न पारि जानैपर्छ । लल्यो (एउटा मात्रै काठ तेर्स्याएर बनाएको साँघु) तर्दा एक दुई जना मान्छे नमरेको कुनै साल छैन ।’

साइपालका यार्चा संकलन क्षेत्रमा मात्रै यस्ता खोलाहरूको संख्या चार दर्जन बढी छ । जंघार तर्दा खोलामा बगेर र साँघुबाट खसेर १५ वर्षको अवधिमा साइपाल गाउँपालिकामा ५० भन्दा बढीले ज्यान गुमाइसकेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामी बताउँछन् ।

यार्चा संकलकका लागि अर्को ठूलो जोखिम भनेको बाटो हो । एक वनबाट अर्को वनमा जाँदा होस् वा एउटै वनभित्र आवतजावत गर्दा पनि यहाँ गतिलो बाटो छैन । दर्जनौं ठाउँमा काठ तेर्स्याएर त, कति ठाउँमा डोरीको सहारामा झुन्डिएर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ ।

‘झारल नाउरहरू पनि हिँड्न नसक्ने भीरको बाटोमा पनि हिँड्नुपर्छ,’ साइपाल–३ काँडाकी कविता बोहरा भन्छिन्, ‘माथि हेर्‍यो भने जुम्रा पनि खस्लान् जस्तो भीर देखिन्छ । तल हेर्दै रिङटा लागेर डरले हातखुट्टा लुला हुन्छन् । साँझ पालमा पुगेपछि आजको दिन त बाँचियो भन्ने लाग्छ ।’

सुर्मा, मष्टा, तल्कोट, साइपाल गाउँपालिका र हुम्लाबाट यार्चा टिप्न आउनेमध्ये विगत १० वर्षको अवधिमा १४ जना जतिले ज्यान गुमाइसकेको तल्कोट गाउँपालिकाका रामचन्द्र रोकायाले बताए । यसबाहेक २०६५ यता विभिन्न ठाउँका १२ जनाले हिउँ पहिरोमा परेर, ६ जना लेक लागेर र ८ जनाले बिरामी पर्दा उपचार नपाएर साइपालका जडीबुटी संकलन क्षेत्रमा ज्यान गुमाइसकेका छन् ।

संघीयता कार्यान्वयन भएपछि यार्चा संकलन हुने पालिकाहरूले संकलकबाट प्रवेश शुल्क उठाउने गरेका छन् । शुल्क उठाए पनि जोखिम घटाउनका लागि कुनै पहल नगरेको गुनासो संकलकहरूको छ ।

‘बाटोघाटो पुलपुलेसा बनाउने कुरा त परै जाओस्, बाटोमा ढ्लेका रुख र बर्खामा खसेका ढुंगा पनि हटाइएका हुँदैनन् । हामीले घरबाट हिँडेदेखि नै पाइला पाइलामा ज्यानको बाजी लाउनुपर्छ,’ तल्कोटको बडीगाउँका राजकुमार जेठाराले भने ।

साइपालका जनप्रतिनिधिहरू भने यार्चा संकलन क्षेत्रमा हुने जोखिमका बारेमा गाउँपालिका जानकार रहेको र न्यूनीकरणका लागि प्रयासहरू गरेको दाबी गर्छन् । उच्च हिमाली क्षेत्र भएका कारण आफूहरूले गरेका प्रयास दिगो हुन नसकेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।

‘दुई वर्षअघि मात्रै हामीले २० भन्दा बढी खोलामा काठका पुल बनायौं । यो वर्ष जाँदा धेरैजसो हिउँले भाँचेको र बाढीले बगाइसकेको रहेछ । १० लाख खर्च गरेर साइपाल बेसक्याम्पसम्म खच्चड हिँड्ने बाटो बनाएका थियौं ।

गत बर्खाको बाढीले त्यसको नामोनिसान बाँकी राखेन,’ उनले भने, ‘त्यहाँको मौसम सुहाउने खालको संरचना बनाउन हामीसँग बजेट हँॅदैन । हाम्रो स्रोतले भ्याउने संरचना त प्रत्येक साल बनाइरहेका छौं तर टिक्तैन ।’

जिल्लामै पहिलो पटक साइपाल गाउँपालिकाले जडीबुटी संकलकका लागि भनेर यस वर्षबाट पाटन क्षेत्रमै घुम्ती स्वास्थ्य सेवा सुरु गरेको छ । उनले भने, ‘यो वर्ष पनि हामीले थुप्रै ठाउँमा काठेपुल र बाटो बनाउनका लागि बजेट छुट्याएका छौं ।

ठूलो क्षेत्र भएकाले सबै ठाउँमा काम गर्न नसकिएको होला तर पनि हामीले सक्ने गरिरहेका छौ ।’ बझाङ जिल्लामै सबैभन्दा बढी यार्चा संकलन हुनेमा साइपाल क्षेत्र पर्छ । जिल्ला भित्र र बाहिरका गरी बर्सेनि १० हजारभन्दा बढी संकलक यहाँका पाटनमा यार्चा संकलनका लागि पुग्छन् ।

साभार : कान्तिपुर दैनिक