भुईं मान्छेका कुरालाई प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले स्थान दिनुपर्छ : एमाले नेता महर

बझाङ : प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारहरुलाई आफु आवद्ध संचार माध्यामहरुमा भुईं मान्छेका कुराहरुलाई स्थान दिन नेकपा एमाले केन्द्रिय सदस्य ऐन महरले आग्रह गरेका छन् ।

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा नेकपा एमाले बझाङको पार्टी कार्यालय पानकोटमा सोमबार आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा बोल्दै नेता महरले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘अहिले चर्चामा आएका मान्छेहरुलाई खोज्दै मिडियाहरु दौडिरहेका छन् । तर प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले चर्चामा आएका मान्छेका पछाडि नदौडेर भुईं  मान्छेका कुराहरु मिडियामा ल्याउन जोड्दिनुपर्छ । यसको अगुवाई प्रेस चौतारी नेपालले गर्नुपर्छ ।’

पछिल्लो समय प्रेस माथि मानिसहरुको विश्वास घट्दो क्रममा रहेकाले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले आम-मानिसको मर्म र भावना अनुसार प्रेस माथिको विश्वासलाई जगाउन लाग्नुपर्ने उनले बताए ।

उनले भने, ‘अहिले सामाजिक संजालको पछाडी मिडियाहरु कुदेका छन् । यो गलत हो । मिडियाका पछाडी सामाजिक संजाल कुदाउनुपर्छ । यसको अगुवाई प्रेस चौतारीले गनुपर्छ ।’

बझाङ जिल्लाको पत्रकारिताको हिसाबमा प्रेस चौतारीमा सदस्यको संख्या कम भएपनि व्यवसायिक पत्रकारिता गर्ने र गुणात्मक हिसाबमा प्रेस चौतारी नेपाल अगाडी रहेको नेता महरले बताए ।

यसलाई थप परिमार्जित गर्दै निरन्तरता दिनुपर्नेमा समेत उनले जोड दिए । कार्यक्रममा नेताहरुले प्रेस चौतारी नेपालको संस्थागत विकासका विषयमा आ–आफ्नो  मन्तव्य सहित सुझाव राखेका थिए ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य आशा विक, एमाले प्रदेश कमिटी सदस्य जनक जोशी, प्रेस चौतारी नेपालका केन्द्रय सदस्य रमेश केसी, नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष दमन भण्डारी लगाएत नेता कार्यकर्ता र प्रेस चौतारीमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम प्रेस चौतारी नेपाल बझाङ शाखा अध्यक्ष मकरराज धामीको अध्यक्षतामा सुरु भएको थियो ।