साइपालखबर संवाददाता
बझाङ। बझाङमा स्थायी घर भइ काठमाण्डौ स्थित नेपाल ल क्याम्पसमा कानुन अध्ययन गर्न चाहानेले छात्रवृती पाउने भएका छन । यसको लागि क्याम्पसमा ‘माताश्री पदमा मल्ल’ छात्रवृती कोषको स्थापना गरिएको छ । हाल स्विडेनको स्टकहोम विश्वविद्यालयबाट सेवा निवृत भएका प्राध्यापक डाक्टर कटक मल्लले छात्रवृती कोषको स्थापना गरेका हुन ।
नेपाल ल क्याम्पसका पुर्व प्राध्यापक समेत रहेका मल्लले आफु यहाँ अध्यापनरत रहँदा पारिश्रमिकबाट कट्टी भएर संचयकोषमा जम्मा भएको सात लाखबाट उक्त छात्रवृतीकोष स्थापना गरेका हुन । सो रकमको व्याजबाट प्रत्येक वर्ष एकजना बझाङबासी जेहेन्दार विद्यार्थीलाई कानुनमा स्नातक (विए. एएलबी) पढाउने गरी मल्लकी आमाको नामबाट ‘माताश्री पदमा मल्ल’ छात्रबृती कोष स्थापना भएको नेपाल ल क्याम्पसले जनाएको छ । उक्त छात्रवृती क्याम्पसको स्थापना दिवसको अवसर पारेर प्रत्येक बर्ष असार १७ गते प्रदान गर्ने गरी क्याम्पस प्रमुख डिएन पराजुली र मल्ल बीच बिहिबार सम्झौता भएको छ ।

‘म मेरी आमालाई सरस्वती देवीको प्रतीक मान्छु, बर्षको एकै जना भए पनि गरिब तथा जेहन्दार विद्यार्थीले खर्चको अभावमा पढनबाट बञ्चित नहोस भन्ने उद्देश्यले यो कोषको स्थापना गरेको हुँ’ आफु पनि बझाङ मै जन्मेको र बझाङका विद्यार्थीहरुले आर्थिक अभावमा उच्च शिक्षा पाउनबाट बञ्चित भएको अवस्था बुझेको बताउदै छात्रबृती कोषका संस्थापक मल्लले भने ‘यो कोषले खर्च काठमाण्डौ आएर कानुन पढ्ने चाहाना भए पनि आर्थिक अवस्थाले नसक्ने विद्यार्थीलाई राहत र प्रोत्साहन मिल्ने विश्वास लिएको छु ।’ उनले दुर्गम क्षेत्रका विद्यार्थीलाई कानुन अध्ययनका लागि प्रोत्साहन होस भन्ने सोचका साथ उक्त छात्रवृती कोष स्थापना गरिएको बताए ।
