अल्लो प्रशोधन गरि कपडा तयार गरिँदै

बझाङ : बझाङमा जङ्गलमा  उपयोग विहिनभई खेर गई रहेको अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन सुरु गरिएको छ ।

थलारा गाँउपालीका २ मोराइलमा अन्जु खाती र जौमती देवी खातीले परम्परागत उद्योगबाट कपडा बुन्ने कामको थालनी गरेकी हुन् ।।

उनले जङ्गलमा खेर गइरहेको अल्लोलाई प्रशोधन गरि कपडा बुन्ने गरेकी छन् ।

उनले बुनेको कपडालाई गाउँपालिकाले खरिद गरि विद्याथीहरुका लागि झोला बनाउन सुरु गरिएको छ ।

आफ्नो काममा गाउँपालिकाकोसमेत साथ पाएपछि आफुहरु उत्साहित भएर अल्लोको कपडा बनाइरहेको उनले बताइन्।

आफूहरूलाई केही समय अघि युुएमएन र प्रगतिशील युवा समाज संस्थाले ३ महिना तालीमका लागि दाङ जिल्ला पठाएर धाँगो बनाउने सिप सिकाएको र अहिले आफूहरूले  आफ्नै गाउँमै उद्योग सुरुवात गरिएको अन्जु खातीले बताइन्  ।

जङ्गलबाट अल्लो ल्याएर प्रशोधन गरि धागो बनाएर दुई महिला आत्मनिर्भर भइरहेको देखेसँगै अहिले अन्य महिलाहरूले पनि खातीको कामको सिको गरिरहेका छन् ।

अल्लोको कपडा  उद्योग प्रवदर्न गर्न स्थानीय महलिाहरुलाई आवश्यक सिप सामाग्रीको सागै उत्पादित कपडा खरिद गर्ने कार्यमा युुएमएन संस्था र पालीकाले चाँजोपाँजो गरि दिएपछि यहाँका अन्य महिलाहरू पनि यो उद्योगसँग आकर्षित भएका हुन् ।

युुनाइटेड मिसन टु नेपालकी कर्मचारी इन्दिरा राईले अल्लो प्रशोधन गरि कपडा निकाल्ने काम बिस्तारै सफल हुँदै गइरहेको बताइन् ।

आफूहरूको प्रयास सफल भइरहेकाले अन्य पालिकाहरूमा पनि यो उद्योगको लागि पहल गरिन लागिएको र अल्लोको कपडा उद्योग सञ्चालन भए गाउँघरका महिलाहरूले रोजगारी पाउने अपेक्षा गरिएको उनको भनाई छ ।

संस्थाले अल्लोको कपडा उत्पादन साथै अल्लोका झोला बनाउने तालीम पनि महिलाहरूलाई  दिइरहेको उनको भनाई छ ।