बझाङ : बझाङ जिल्लामा संचालित गैरसरकारी संस्था प्रगतिशिल युवा समाजले जयपृथ्वी नगरपालिका –११ मा निर्माण गरिएका २ विद्यालयका भौतिक संरचनाहरु विद्यालयलाई हस्तान्तरण गरेको छ ।
सुइलमा रहेको भुमिदेव आधारभुत विद्यालयमा समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत उक्त विद्यालयमा छात्रामैत्री, बालमैत्री, अपाङ्गतामैत्री र भुकम्प प्रतिरोधी शौचालय र जयपृथ्वी नगरपालिका ११ दैकुमलामा रहेको निलकट्टी माध्यामिक विद्यालयमा बालमैत्री, अपाङ्गतामैत्री र भुकम्प प्रतिरोधात्मक २ कोठे विद्यालयको भवन निर्माणगरी हस्तान्तरण गरेको छ ।
वल्र्ड भिजन इन्टरनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, प्रगतिशिल युवा समाज बझाङको साँझेदारी र जयपृथ्वी नगरपालिकाको समन्वय र स्थानियहरुको सहयोगमा उक्त संरचनाहरु निर्माण गरिएका हुन ।
शुक्रबार १ कार्यक्रमका विच उक्त भौतिक संरचनाहरु विद्यालयलाई हस्तान्तरण गरिएको हो । दैकुमलामा रहेको निलकटिट् माध्यामिक विद्यालयमा निर्माण गरिएको विद्यालय भवन २९ लाख ९६ हजार ६ सय २७ रुपैयाँ लागतमा निर्माण गरिएको हो भने, सुइलमा रहेको भुमिदेव आधारभुत विद्यालयमा निर्माण भएको शौचालयको १६ लाख १२ हजार २ सय ५३ रुपैयाँ लागत लागेको प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।
उक्त विद्यालयको भवन र शौचालयको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले रिवन काटेर उद्घाटन गरेका छन् । उक्त उद्घाटन कार्यक्रममा बोल्दै मेयर बजालले संस्थाले शिक्षा क्षेत्रमा उल्लेखनीय योग्दान गरेको र अझैपनि यस्ता कार्यहरुमा नगरपालिका संस्थासंग समन्वय सहकार्य गर्न तयार रहेको समेत बताए ।
उक्त कार्यक्रममा बोल्दै निलकट्टि माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रेमराज जोशीले संस्थाले विद्यालयको घेरबार, कक्षाकोठा व्यवस्थापका लागि शैक्षिक सामाग्री, विद्यालय भवन, हातधुने धारा लगाएतका विभिन्न भौतिक संरचना निर्माण गरेको भन्दै संस्थालाई धन्यवाद समेत दिएका छन् ।
कार्यक्रममा बोल्दै भुमिदेव आधारभुत विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष झलक बोहराले प्रगतिशिल युवा समाज र वल्र्ड भिजन इन्टरनेश्नल नेपाल संस्थाले विद्यालयमा विध्यार्थीहरुका लागि शैक्षिक सामाग्री, कक्षाकोठा व्यवस्थापनका लागी सामाग्री र शौचालय निर्माण लगाएत अहिले विध्यालय भवनको समेत निर्माण हुन लागेको बताए ।
संस्थाले निर्माण गरेका भौतिक संरचनालाई सुरक्षा तथा सरसफाइ गर्न विद्यालय परिवारको र समुदायको महत्वपुर्ण भुमिका हुने भएकाले सबैले यसमा ध्यान दिनुपर्ने संस्थाका अध्यक्ष रमेश केसीले बताए ।
उक्त भौतिक संरचना हस्तान्तरण कार्यक्रममा जयपृथ्वी नगरपालिकाका शिक्षा शाखा प्रमुख, पत्रकार तथा स्थानियहरुको पनि सहभागिता रहेको थियो ।

