हेलिकप्टरबाट सुत्केरीको उद्धार

बझाङ : बझाङको छविस पाथिभेरा गाँउपालिका–२ मण्डीकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

सुत्केरीको अत्यधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी २४ वर्षीया गंगा ऐडीलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जिल्ला अस्पताल सिमखेतका निमित्त कार्यालय प्रमुख डा.मिलन खड्काले बताए।

मंगलबार राति जिल्ला अस्पताल सिमखेतमै बच्चा जन्माएकी ऐडीको रक्तस्राव भई पाठेघर नखुम्चिएकाले तथा सास फेर्नसमेत गाह्रो भएपछि रिफर गरिएको खड्काले बताए।