‘रुपान्तरणका लागि बचत’ समूहका पदाधिकारी छनौटका लागी मतदान

रिदम सिंह
बझाङ्ग । केदारस्यु गाँउपालिका वडा नं ८ लोतुमा बिहिबार दुई स्थानमा निर्वाचन सम्पन्न भएको छ । उक्त निर्वाचनमा कुल ४० जनाले आफ्नो मत खसालेका छन् । यो निर्वाचन कुनै राजनीतिक वा जन प्रतिनिधि छनौटका लागि नभइ प्रगतिशिल युवा समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तर्गत “रुपान्तरणका लागि बचत” कार्यक्रमका बचत समूहका पदाधिकारी छनौटको लागि भएको हो ।
“रुपान्तरणका लागि बचत” कार्यक्रम अन्तर्गत केदारस्यु गाँउपालिका वडा नं ८ मा सात वटा समुहहरु गठन भएका छन् । “रुपान्तरणका लागि बचत” कार्यक्रम पुरा लोकतान्त्रिक प्रणालीबाट संचालन हुने भएकोले यसको व्यवस्थापन समिति गठन गर्दा निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने हुन्छ । यसै क्रममा बिहिवार मौभेरी रुपान्तरणकारी बचत समुह र हिमालय रुपान्तरणकारी बचत समुहको व्यवस्थापन समिति निर्वाचन मार्फत चुनिएको हो । पारदर्शीता र लोकतन्त्र “रुपान्तरणका लागि बचत” कार्यक्रमको मुल मान्यता पनि भएको र पदाधिकारी छनौट गर्दा निर्वाचन नगरी मनोनयन गर्दा समुहका कमजोर र आवाज उठाउन नसक्ने वर्गको भावना व्यक्त नहुने हुदाँ निर्वाचन प्रणाली अपनाउनु अनिवार्य रहेको प्रगतिशिल युवा समाजका कार्यक्रम अधिकृत रञ्जित खनालले बताउनु भएको छ ।
प्रगतिशिल युवा समाजले बझाङ्गमा विकासका थुप्रै परियोजनाहरु संचालन गर्दै आइरहेको छ । केदारस्यु गा.पा. मा प्रगतिशिल युवा समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजनाले जीविकोपार्जनको क्षेत्रमा बिगत एक वर्ष देखि काम गर्दै आएको छ । यसै सिलसिलामा यस परियोजनाद्वारा केदारस्यु गाँउपालिका वडा नं ८ मा बचतको कार्यक्रम सुरु भएको छ ।