अन्तरराष्ट्रिय स्तरमा देउडा चिनाउने सपना ! (भिडियाे सहित)

काल बैरी कैल प आउँदो, लाग्या कै छ मार्न

यो ज्यादै निष्ठुरी हुन्छ, को सक्तछ टार्न

क्रूएल डेथ इज् रेडी टु किल, वि क्यान लिभ बाइ द लक

इट इज् वेरी डिफिकल्ट, टु अभोइड डेथ्स् शक

 

‘देउडा इन इङग्लीस’ किताबमा लेखिएका माथिका देउडाका हरफहरू कुनै दिन आफ्नै जीवनमा कुनै दिन लागु हुन्छन् भन्ने लेखक धनराज जोशीले सायदै सोचेका थिए होलान् । तर काल बैरीको झड्का टार्न सक्ने सामर्थ्य को सँग छ र सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोक सँस्कृती देउडालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन जीवन समर्पण गरेका जोशीले पनि यही नियति भोग्नु पर्‍यो ।

बझाङमा बेमौसमी वर्षा सँगै आएको प्रलयकारी विपद्ले देउडा प्रेमीहरुका प्यारा यी अभियन्तालाई पनि छोडेन । कार्तिक २ गते साँझ अविरल झरी पछि घर नजिकै आएको भलको निकास खोल्न जाँदा पहिरोमा परेर उनले ज्यान गुमाउनु पर्‍यो । एक्कासि उनको आँगन नै पहिरोले लगे पछि जोशीको शव भोलिपल्ट बिहान मात्रै २ सय मिटर तल भेटिएको थियो ।

 

बझाङको खप्तड छान्ना गाउँपालिका वडा नं ५, मा जन्मिएर बाजुरा जिल्लाका विभिन्न विद्यालयमा ३० वर्ष सम्म शिक्षण गरेका जोशी, २०६६ सालमा सेवा निवृत्त भए पछि देउडाको अन्तर्राष्ट्रिय करण गर्न जुटेका थिए । लोक संस्कृती, कला, पर्यटन र पश्चिम नेपालको असली पहिचान देउडामा रहेको तर यसको प्रचार प्रचार अन्तर्राष्ट्रिय क्षेत्रमा नभएकोले यो क्षेत्र पछाडि परेको भन्दै उनले देउडा गीतलाई अङ्ग्रेजीमा उल्था गरेर ‘देउडा इन इङग्लीस’ पुस्तक प्रकाशन गरेका थिए।

 

अङ्ग्रेजीमा देउडा गाउँछन् मिस्टर धनराज जोशी,

ती गाउँछन् चौबिसै घण्टा जस्तै बग्छ कोसी

अंग्रेजीमा:

हु सिंग्स देउडा इन् इंग्लिश मिस्टर धनराज जोशी,

ई सिंग्स ट्वेन्टी फोर आवर्स लाइक फ़्लोङ्ग कोसी

 

दुई वटा संस्करणमा छापिएको यो पुस्तक अङ्ग्रेजीमा प्रकाशित देउडाको हाल सम्म कै पहिलो पुस्तक हो । यस पुस्तकमा उनले माया प्रेम, जीवनदर्शन, राजनीति, धर्म देखी लिएर दैनिक जीवन व्यवहारलाई विम्ब र प्रतिक बनाएर गाइने देउडाहरू सङ्कलन र रचना गरी अङ्ग्रेजीमा लेखेका छन् । ‘नेपाली नबुझ्नेलाई देउडा बुझाएर पश्चिम नेपाललाई विश्व जगतमा चिनाउने उहाँ“को सपना थियो’ खप्तड छान्ना गाउँपालिकाका लामातोलाका एक जना कवि सुरेश थापाले भने ‘देउडालाई अङ्ग्रेजीमा लेख्ने उहाँको जमर्को यसैको प्रतिफल थियो’ युवा पुस्ताको देउडा प्रतिको घट्दो आकर्षण बढाउन र सरकारी विद्यालयका विद्यार्थीहरूको अङ्ग्रेजी भाषा सुधार गर्ने उद्देश्य समेत राखिएर प्रकाशन भएको यो पुस्तकमा उनले सामान्य साक्षर व्यक्तिले पनि बुझ्ने गरी अङ्ग्रेजीको नेपाली उच्चारण, नेपालीको अङ्ग्रेजी उच्चारण तथा शब्दार्थ समेत लेखेका छन् ।

 

अङ्ग्रेजी सजिलो पार्न देउडा लेखेको छु

विद्यार्थी व्यस्त हुने बाटो देखेको छु

अंग्रेजीमा:

आई रोट् देउडा इन् इंग्लिश टु मेक लर्निङ्ग ईजी

आई फाउन्ड  इजिएस्ट मेथड् टु किप लर्नर्स बिजी

 

जोशीले देउडा गीत रचना र सङ्कलन गर्ने, अङ्ग्रेजीमा उल्था गर्ने मात्रै नभएर जिल्लाका विभिन्न स्कुलमा गएर विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गर्नुका साथै विपन्न विद्यार्थीहरूले पनि अङ्ग्रेजी पढ्ने अवसर पाउनु पर्छ अभियान चलाउँदै आएका थिए । ‘गरिबका छोराछोरीले पनि संसार बुझ्नका लागि अङ्ग्रेजी भाषाको ज्ञान हासिल गर्न पाउनु पर्छ भन्ने उद्देश्यले उहाँले विभिन्न सहयोग गर्दै आउनु भएको थियो’ लामो समय बझाङ र बाजुरा जिल्लामा अङ्ग्रेजी शिक्षकको रूपमा कार्यरत भानुभक्त भने । धनराज जोशीले आफैले तीन महिने अङ्ग्रेजी भाषा शिक्षण कोर्स नै तयार गरेर निःशुल्क अङ्ग्रेजी सिकाउने तयारी गरेको उनले बताए ।

 

नाता हो दुई दिनको नाटक, नास भैजान्या चोला

घमन्डी भै नदेखिनु, मानव हुनु होला।

अङ्ग्रेजीमा

रिलेसन्स टु डेज ड्रामा पेरिसेबल बडी 

बि हम्बल एक्ट याज ह्युमन, डन्ट पोज याज गडी 

 

जस्ता मानवताबादी दर्शन बोकेका गितहरुलाई अङ्ग्रेजीमा लेखेका जोशीले अन्य गीतजस्तै देउडालाई पनि अङ्ग्रेजीमा पनि गाउन सकिन्छ भन्ने प्रमाणित गरेका थिए । देउडाका अन्त्यानुप्रास अङ्ग्रेजीमा पनि हुबहु उल्था गरेका जोशी पछिल्लो समय जिल्ला भरीका विद्यालयहरूको भ्रमण गर्दै अङ्ग्रेजी भाषा र देउडा गीतको प्रचार प्रचारमा जुटेका थिए ।

 

‘अङ्ग्रेजीमा देउडा भन्ने बित्तिकै धेरै मानिसहरूले अनौठो मानेका थिए । यो कसरी सम्भव होला भन्ने बहस नै चलेको थियो’ सृजनशील कला प्रेमीहरूको सञ्जालका निर्देशक एवं कैलाली बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक हरीचन्द्र कमलीले जोशीको पुस्तक विमोचनको कार्यक्रमको स्मरण गर्दै भने ‘पुस्तक हेरे पछि सबै चकित भयौँ । देउडालाई उस्तै भावार्थ दिने गरी अङ्ग्रेजीमा अनुवाद गर्नु भएको रहेछ । उहाँको सिर्जना वास्तवमै अद्भुत थियो’

 

अङ्ग्रेजीमा देउडा ( देउडा ईन ईंग्लिश )को पहिलो संस्करणको विमोचन कार्यक्रमकै स्मरण गर्दै  कैलाली बहुमुखी क्याम्पस धनगढीका विद्यार्थी नेता समीर जोशीले भने, “सबै प्राध्यापक र विद्यार्थीहरूमा खुलदुली छाएको थियो सबै मानिसहरू अङ्ग्रेजीमा देउडा भन्ने बित्तिकै आश्चर्य मान्दै थिए !  सबै प्राध्यापक र विद्यार्थीहरू हलमा लेखक स्व. धनराज जोशीको प्रतीक्षामा थिए त्यतिकैमा लेखक र उहाँकी धर्म पत्नी हलमा प्रवेश गर्नु भयो ,उहाँहरू साधारण पहिरन मा हुनुहुन्थ्यो भर्खर गाउँबाट आयझैँ देखिनु हुन्थ्यो यतिकैमा प्राध्यापक र विद्यार्थीहरू कानेखुसी गर्न थाले के साँच्चिकै लेखक यिनै हुन् त यिनले पनि  अङ्ग्रेजी बोल्न र लेख्न जान्छन् होला त ?  त्यतिकैमा मैले प्राध्यापक धर्मराज उपाध्यायलाई मञ्चमा पुस्तकको बारेमा केही कुराहरू राख्न बोलाएँ। उहाँले देउडामा विद्यावारिधि (PhD) गर्दै हुनुहुन्थ्यो र उहाँले उक्त पुस्तकले आफ्नो विद्यावारिधि गर्न सहयोग पुर्‍याउने कुरा व्यक्त गर्दै  लेखक लाई मञ्च मा बोलाएर पुस्तक र आफ्नो जीवन सङ्घर्षको बारेमा केही राख्न लगाउँदा  उहाँले अङ्ग्रेजीमा जुन स्तरको भाषण दिनु भयो  त्यो  उहाँको पहिरन र भेसभुसा सँग कतै मेल खान्थेन मान्छेहरू चकित भए र हल तालीले गुन्जिन थाल्यो। झन् उहाँले नेपाली र अङ्ग्रेजीमा देउडा गाउँदा त माहौल नै अर्कै बन्यो। फेरि प्राध्यापक र विद्यार्थीहरू कानेखुसी गर्दै थिए वास्तवमा भेसभुसा र पहिरनले होइन क्षमता र प्रतिभाको आधारमा समाजले विद्वानलाई चिन्नु पर्छ र त्यसै अनुसार सम्मान पनि  दिनु पर्छ।  कोट पाइन्ट लगाउँदैमा सबै मान्छेहरू धनराज जोशी बन्न सक्दैनन् ।”

 

 

‘देउडालाई अङ्ग्रेजीमा भन्न सकिएला भनेर हामीले सोचेकै थिएनौ’ सत्यवादी उच्च माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक लक्ष्मणप्रसाद उपाध्यायले भने ‘जोशीले त्यो सम्भव मात्र बनाइदिनु भयो । देउडा संस्कृतिमा उहाँको योगदान साँच्चीकै स्मरणीय छ ।’ देउडा सुदूरपश्चिमको लोकसंस्कृति हो, यसलाई अङ्ग्रेजीमा गाएर विदेशी माझ यसको महत्त्व र नेपालीपन चिनाउन जरुरी छ भनेर अभियान चलाउने जोशी नै पहिलो व्यक्ती भएको उनले बताए । शिक्षा प्रेमी बझाङ्गी राजा जय पृथ्वी बहादुर सिंहको सम्मानमा जोशीले यस्तो देउडा लेखे :

 

जय पृथ्वी शिक्षा प्रेमी ओजस्वी हुन् राजा

बझाङ्गीलाई शिक्षा  दिने जनताको साझा

 

अंग्रेजीमा:

वि ह्याव गट प्रेज्वर्दी हीरो जयपृथ्वी बहादुर सिंह 

बझाङ्गिज आर एजुकेटेड बाई दिस् नोबल् किङ्ग 

 

देउडालाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा जुटेका धनराज जोशीले १८ वर्षको उमेरमा मात्रै स्कुल देखेका थिए । आठ दाजुभाइ मध्ये सातौँ सन्तानको रूपमा विसं २००४ सालमा जन्मिएका जोशीले भारतमा चौकीदारी गर्ने क्रममा अङ्ग्रेजीको महत्त्व बुझे पछि विद्यालय भर्ना भएका थिए । आर्थिक अवस्था कमजोर रहेका जोशीले सदरमुकाम चैनपुरमा रहेकी दिदीको आश्रयमा पढाइलाई अगाडी बढाएका थिए । ‘स्कुलमा हरेक वर्ष हिउँदको दुई महिना स्कुल बिदा हुन्थ्यो । बिदाको वेला म भारतमा मजदुरी गर्न जान्थे । त्यही पैसाले वर्षभरिको कापी कलम जुटाउँथे’ उनले पुस्तकको भूमिकामा आफूले अध्ययन गर्दा पाएको दुखको वर्णन गर्दै लेखेका छन् ‘कापी किन्न पैसाको अभाव हुने भएकोले बिहान साँझ सेती नदीको किनारमा जान्थे र त्यहाँका ढुङ्गामा लेखेर अङ्ग्रेजीका शब्द र वाक्यहरू कण्ठ गर्थे’। “सङ्घर्ष गरेर पढेका जोशी  गाउँघरमा सबैलाई जीवन स्तर उकास्न शिक्षाको महत्त्व रहन्छ भन्ने उपदेश दिनु हुन्थ्यो”, खप्तड छान्नाका पत्रकार भूमिराज ‘पिठातोली’ सम्झिन्छन्। “डेढ दशक पहिले एउटा उहाँ गाउँको एउटा बिहेमा आउनुभएको थियो । उहाँलाई देख्ने पाटा देवलका दमाहा बजाउने  दाजुभाइले पैसा मागे । उहाँले सबैलाई थोरै थोरै पैसा पनि दिनुभयो । पैसा दिने बेलामा उहाँले भन्नुभएको थियो, ‘आफू भोको रहेर पनि छोराछोरीलाई पढाउनुस् । छोराछोरी नै तपाईँहरूका सम्पत्ति हुनेछन् ।’ उहाँको यो प्रेरणादायी कुरा झलझल याद आइरहन्छ।

 

समाजका विकृति र भेदभावको अन्त्य  शिक्षाले नै गर्छ भन्ने दृढ विश्वास थियो स्व. धनराज जोशीको।  “उहाँ  एक हक्की मान्छे हुनुहुन्थ्यो” आफूले सेती एफएममा अन्तर्वार्ता लिएको स्मरण गर्दै जय पृथ्वी एफएमका निर्देशक प्रताप ओली भन्छन्, ” उहाँले अन्तर्वार्तामा भन्नू भएको थियो कि  म बाहुनको छोरा भएर पनि सबैको हातको खान्छु । सबैसँग मिलेर बस्छु।   मलाई विलासितामा रमाउन मन लाग्दैन ।

 

मैदान भाग्यवान् छोरा मोटर घुइँकाउँदा छन्

दुर्भागी पहाडी छोरा भारी चुइँकाउँदा छन्

अंग्रेजीमा:

लक्की सन्स इन प्लेन सर्फेस ड्राइभ् कार्  अन् द रोड,

अन्लक्की इन् हिल्ली रीजन् बीअर् द हेवी लोड

 

 

जोशीका भान्जा विजय राज जोशी आफ्नो मामाको सम्झना गर्दै भन्नु हुन्छ, “मामाको काम गर्दै पढ्ने बानी थियो  पिठ्यूँमा भारी हातमा किताब हुन्थ्यो !” जोशीका अर्का भान्जा विष्णुभक्त  जोशी स्मरण गर्छन्, “उहाँको अङ्ग्रेजी प्रतिको लगाव यति थियो को खाने बेलामा समेत डिक्सनरी पढ्नु हुन्थ्यो ! उहाँको  डिक्सनरी झोलामा नै हुन्थ्यो। रेडियोमा सधैँ अङ्ग्रेजी नै सुन्ने! हामी हिन्दी गीत सुन्न चाहाना गर्थ्यौँ  रेडियोमा  उहाँले अङ्ग्रेजी समाचार र बिबिसी वर्ल्ड सर्भिस  मात्रै सुन्ने!  उहाँले बिहे पनि त्यो जमानामा अङ्ग्रेजी बोल्न जान्ने  माइजू सँगै गर्नुभयो!”

 

‘उहाँ  स्कुल पढ्दा देखी नै देउडालाई उस्तै भाव आउने गरी अङ्ग्रेजीमा अनुवाद गरेर सुनाउनु हुन्थ्यो। यस्तो ठाउँको ठाउँ हाम्रा गाउँघरका हल्का फुल्का ठट्यौली पाराका रमाइला गीतहरू कसरी अनुवाद गर्नु हुन्छ भनेर  साथीहरूले सोध्दा म हुक्का गुड-गुडाए झैँ धारा प्रवाह अङ्ग्रेजी बोल्न सक्छु (आइ क्यान च्याटर हबल एण्ड बबल इन इङ्ग्लिस) भन्नु हुन्थ्यो ’ जोशीका सहपाठी समेत रहेका स्विडेनको स्टकहोम युनिभर्सिटीका प्राध्यापक कटक मल्लले भने।

 

तैं माया गरिन मलाई कुकुर मात्र भुकाई !

म तेरो पैलेको प्रेमी माया क्यान लुकाई ?

अंग्रेजीमा:

यु ह्याव नट लव्ड मी एट् अल् सिम्प्ली डग्स बार्क!

आई एम दाइ प्रिभियस् लवर् व्हाई नाउ हार्ट डार्क!

 

‘अङ्ग्रेजी प्रतिको उहाँको लगाव यति सम्म थियो की त्यो वेला अरु विषयको परीक्षा पनि अङ्ग्रेजी माध्यमबाटै दिनुहुन्थ्यो’ साधारण जीवनशैली, जिज्ञासु स्वभाव र सृजनशील मन भएका जोशी एक असाधारण व्यक्तित्व भएको मल्लले बताए ।

 

जोशीको निधन पछि देउडालाई चिनाउने उनको अभियान रोकिएको भए पनि यसलाई निरन्तरता दिने र बझाङ जिल्लाका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको अङ्ग्रेजी भाषा सुधारको लागि केही काम गर्ने सोच रहेको उनका छोरा विष्णु जोशीले बताए । हाल युनिभर्सिटी अफ म्यासाच्युसेटसमा रसायन शास्त्रमा विद्यावारिधि गरी रहेका विष्णुले बुवाको नाममा कुनै प्रतिष्ठान नै खोलेर उनले थालेको अभियान अगाडी बढाउने बताए ।