जिल्ला अस्पताल बझाङमा विद्युत आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

मकरराज धामी

बझाङ: जिल्ला अस्पताल बझाङमा विद्युत आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । लगातारको बर्षाका कारण गएको बाढीपहिरोले बझाङ जोडने राष्ट्रिय प्रसारण लाईन अवरुद्ध भएको छ । विधुत सेवा अवरुद्ध हुँदा अक्सिजन, नेवुलाइजर, शल्यक्रिया, एक्सरे, भिडियो एक्सरे जस्ता उपकरण सञ्चालन हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो । विद्युत सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन समस्या भएको छ । विद्युत समस्याका कारणले अस्पतालमा आएका सेवाग्राहीहरूलाई तत्काल सेवा दिन असजिलो बन्दै गएको अस्पताल स्रोतले जनाएको छ ।

दैनिक सयौको संख्यामा विरामीहरु अस्पताल आउने गरेको र विधुत नहुँदा बिरामीहरुलाई दिनभर कुराउनु पर्ने अवस्था आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा योगेन्द्र खातीले बताए । उनले भने, ‘विधुत सेवा अवरुद्ध भएको एक हप्ता भन्दा बढी भयो । एक हप्ता देखि अस्पतालमा भएको वैकल्पिक उर्जा जेनेरेटर चलाएर सेवा दिई रहेका छौ । जेनेरेटर चलाउनका लागी डिजेल पनि सकियो । बाढीपहिरोले सडक अवरुद्ध हुँदा बजारमा डिजेल पाउने अवस्था छैन । शुक्रबार देखि सबै सेवा ठप्प भएको छ । अहिले त आकस्मिक सेवा पनि दिन सकिएको छैन । सुत्केरी हुन नसकेका र बाढी पहिरोमा परेकाहरु उपचारका लागी जिल्ला अस्पताल आउने गरेका छन । यस्ता प्रकारका विरामीहरुको शल्यक्रिया गर्नु पर्छ । विधुत सेवा नहँुदा समस्या भएको छ ।’ चैनपुर बजारमा विजुली बलिरहेको रहेको भएपनि संम्वेदनशिल क्षेत्र अस्पतालमा विजुली नभएको र विधुत सेवा सुचारु गर्नका लागी विधुत प्राधिकरण वितरण शाखा चैनपुरमा जानकारी गराएको उनको भनाई छ ।

नेपाल विधुत प्राधिकरणले २ सय किलोवाटको जेउलीगाड जलविधुत आयोजनाबाट जिल्ला सदरमुकाम चैनपुरमा विहिवार साँझ बाट विधुत सेवा सुचारु गरेको छ । विधुत प्राधिकरण वितरण शाखा चैनपुरले विधुतको खपत बढी र उत्पादन क्षमता कम हुँदा बजारमा पनि आलोपालो विधुत आपुर्ति गरिरहेको छ । अस्पताल लाईनमा विधुतका पोल ढलेको र केहि स्थानमा मर्मत गनु पर्र्ने भएकाले समय लाग्ने भएका कारण आपुर्ति गर्न नसकिएको विधुत प्राधिकरण वितरण शाखा चैनपुरका प्रमुख हरेन्द्र राय यादवले बताए ।

उनले भने, ‘जिल्ला अस्पतालले विधुत आफुर्तिका लागी कार्यालयमा जानकारी गराएको छ । हामीले मर्मतका लागी प्रयास गरिरहेका छौ । अस्पताल लाईनमा पहिराले पोल ढालेको र ट्रान्सफर्मरमा समस्या देखिएको छ । राष्ट्रिय प्रसारण लाईन मर्मतमा अझै समय लाग्ने देखिन्छ । हामी अस्पतालमा पनि सके जति चाँडै यसै लाईन बाट अस्पतालमा विधुत आपुर्ति गर्ने छौ । ’ बैतडीको खोडपे देखि चैनपुर सम्म ६० भन्दा बढी पोल ढलेका कारण राष्ट्रिय प्रसारणको लाईन मर्मत गर्न समय लाग्ने देखिन्छ । डडेल्धुरा सम्म सडक खुलि सकेकाले यो हप्ता भित्रै जिल्लाको अवरुद्ध विधुत सेवा सुचारु हुने उनको भनाई छ ।