कोरोना महामारीमा अपांगता भएका ६० प्रतिशतको आयस्रोत गुम्यो

साइपालखबर संवाददाता
काठमाडौं । कोरोना महामारीमा अपांगता भएका आदिवासी जनजातिहरु ६०.७४ प्रतिशले आयस्रोत गुमाएको एक अध्ययनले देखाएको छ । राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपालले ३९ औ अन्तरराष्ट्रिय आदीवासी जनजाति दिवसको अवसरमा सार्वजानिक गरेको ‘नेपालका अपांगता भएका व्यक्तिहरुमा परेको कोभिड १९ को अन्तरिम प्रभाव मुल्याकंन’ मा सो कुरा उल्लेख छ ।

कोरोना महामारीमा अपांगता भएका जनजाति, दलित र मधेशी समुदायका व्यक्तिहरुको सामाजिक र आर्थिक स्थिती पत्ता लगाउने उदेश्यले सर्भेक्षण गरिएको थियो । सर्भेमा सहभागिहरुका ७२.८ प्रतिशतका परिवारले आयस्रोत गुमाए । ५७.३८ प्रतिशतलाई राहत खाना चाहिएको थियो । तर ४१.४२ प्रतिशत अपांगता भएका आदिवासी जनजातीहरुले स्थानीय सरकारबाट राहतको जानकारी नै पाएनन् । २०.६६ प्रतिशतले नियमित औषधि सेवन गर्न पाएनन् ।
खान र बाँच्नका लागि २८.२७ प्रतिशतले ऋण लिए । १३.३९ ले बस्तुभाउ, पशुपंन्छि बेच्न बाध्य भए । ७८.०५ प्रतिशतले मानसिक समस्या महसुस गरे ।
निडवानकी अध्यक्ष प्रतिमा गुरुङका अनुसार सर्भेक्षणमा सातै प्रदेशका ३०६ जना अपांगता भएका व्यक्तिहरु सहभागि थिए । जसमा ६८ प्रतिशत आदिवासी जनजाति समुदाय, १७ प्रतिशत दलित र १५ प्रतिशत मधेशी समुदायको उपस्थिती थियो । नेपालमा करिब पाँच लाख मानिस अपांगता भएका व्यक्ति रहेको २०६८ सालको जनगणनाले देखाउँछ । जसमध्ये एक लाख बढि अपांगता भएका व्यक्ति आदिवासी जनजाती समुदायका छन् ।