घरेलु हिंसाको पासविक रुप: श्रीमानले नै कान काटेर हातमा दिए

श्रृङखलाबद्ध हिंसाले पिडितलाई एन्जाइटी डिसअर्डर

जिल्ला अस्पताल बझाङमा काटिएको कानको उपचार गराउदै जानकी नेपाली । तस्विर/ साइपालखवर डटकम।

साइपालखवर
बझाङ । टाउकोमा सेतो र बाक्लो पट्टी बेरिएकी जानकी नेपाली अस्पतालको बेडमा पल्टीरहेकी छन । घरिघरी बर्बराउने उनको शरिर भरी चक्कु, छुरीले काटेका घाउहरु छन । धेरै जसो घाउमा खाटा बसिसेका भए पनि कतिपय अझै आलै छन । उनको जिउ सुकेर कडा खालको कुपोषण लागेको बालकको जस्तो भएको छ । जिल्ला अस्पतालको बेडमा दुइवर्षको बच्चा सहित छटपटाईरहेकी २१ बर्षिया जानकी नेपालीको चार दिन अघि मात्रै उनका श्रीमान मनोजले निर्घात कुटपिट पछि बाँया कान काटिदिएका हुन ।
मदिराको मातले लट्ठ भएका मनोजले एकजना आफन्त सँग दिउँसो किन हाँसेको ? भनेर उनलाई बुधबार कुटपिट गरेका थिए । ‘जे हातमा पर्यो त्यही सामानले कुट्यो, म ढले पछि चक्कुले कान काटिदियो’ उनले भनिन ‘त्यसपछी काटिएको ठाउँमा दाँतले चपायो अनि रगत चुस्यो । लास्टमा काटिएको कान मेरो हातमा दिदै भोली मेडिकल गएर जोडीमाग्नु भन्यो र आफु भाग्यो’ अहिले उनको काटिएको कानको शल्यक्रिया भएको छ । शल्यक्रिया सम्पन्न भएको भए पनि कान जोडिने नजोडिने केही निश्चित नभएको चिकित्सकहरुले बताएका छन ।
जानकी माथी उनका श्रीमानले गरेको पासविक हिंसाको यो घटना भने पहिलो होइन । १५ वर्षको उमेरमा ९ कक्षा पढ्दै गर्दा विवाह गरेकी उनले छ वर्षको अवधीमा श्रीमानको कुटाइका कारण पटक पटक मृत्युशैयामा पुग्नु परेको बताईन । विवाहको केही महिना पछि नै यातना दिन सुरु गरेका थिए । सासु ससुरा लगायत सबै परिवार भारतको व्यङलोरमा बस्ने जानकीका श्रीमान र तीन वटा छोरा छोरी मात्रै घरमा बस्थे ।
गाउँ भन्दा अलि टाढा रहेको उनको घरमा श्रीमानले हरेक साँझ कुनै न कुनै बहानामा जानकीलाई यातना दिइरहन्थे । ‘जे हातमा पर्यो त्यही सामानले हान्थ्यो । शरिर भरी चुरोट विडीको ठुटा र अगुल्टाले पोल्थ्यो । पिडाले म बेहोस हुन्थे’ पोलेका दाग देखाउदै उनले भनिन ‘कुट्टा कुट्दा थाके पछि आफै शान्त हुन्थ्यो। भोली पल्ट विहान हिजो रक्सीको मातमा गल्ती गरिहाले भनेर माफी माग्थ्यो’ ।
निरन्तरको यातना सहन नसकेर उनले आत्महत्या गर्न पनि खोजकोे तर बालबच्चाको माया लागेर मर्न नसकेको बताईन । दुई वर्ष अघि अव कुटपिट गर्दैन भारत जाउँ भनेर फकाएर लगेकी उनलाई १ बर्ष सम्म अस्पताल भर्ना हुनु पर्यो । रक्सी खाएर आएको मनोजले सानो ग्या“स सिलिन्डरले टाउकोमा हिर्काउदा दुइ महिना सम्म बेहोस भएकी थिइन । ‘एक वर्ष उतै उपचार गराएर गएको माघमा बहिनीलाई घर ल्याएका थियौ’ जानकीका दाई गोविन्द नेपालीले भने ‘पापीले फेरी यस्तो हालत गरिदियो’ उनले मनोजले यौन सम्पर्कका बेला पनि अमानविय यातना दिने गरेको कुरा बहिनीले आमा स“ग सुनाएको बताए । ‘यौन सम्पर्क गरिसके पछि यौना¨मा चुरोटले पोल्ने, चक्कुले काटेर यातना दिने गरेको रहेछ । बहिनीले यो कुरा हामीलाई भन्न नसकेर आमालाई सुनाएकी थिइन’ उनले भने ।
निरन्तरको यातना र टाउको लगायत संवेदशिल भागमा परेको चोटको कारण जानकीको मानसिक अवस्था समेत ठिक नभएको चिकित्सकहरु बताउछन । मानसिक समस्याका कारण एकहोरो टोलाउने, झस्कीने र अहिले भैरहेका घटनामा ध्यान केन्द्रित गर्न नसक्ने लगाएका समस्या देखिएको छ । ‘जानकीलाई एन्जाइटी डिसअर्डर भएको देखिन्छ’ जिल्ला अस्पतालका प्रमुख डाक्टर संन्दिप ओखेडाले भने ‘लामो समय गम्भीर खालको यातना भोगेका कारण उनको दिमागमा वर्तमानमा भैरहेका घटना भन्दा विगतका घटना बढी स्मरण आउने भएकाले झस्किने र विना कारण तर्सिने गरिरहेकी छन’ लामो यातनाका कारण विक्षिप्त अवस्थामा रहेकी उनलाई मानसिक उपचार र परार्मशको खाँचो रहेको डाक्टर ओखेडाको भनाई छ ।
श्रृङखलाबद्ध रुपमा अमानविय यातना भोगेकी भए पनि जानकीले हाल सम्म कानुनी उपचार पाएकी छैनन । भारतमा घटना भएको बेला उनका सासुससुराले छोरा विरुद्ध भारतिय प्रहरीमा उजुरी गरेको भए पनि कुनै कारबाही नगरी छाडिदिएको उनका दाजु गोविन्दले बताए । यस पटक पनि उनिहरुले प्रहरीमा उजुरी दिएका छन तर मनोजलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । पिडक नगरपालिका भित्रै घुमिरहेको बेला बेला फोन गरेर धम्की दिइरहेको भए पनि प्रहरीले कारबाहीमा चासो नदेखाएको उनको आरोप छ ।
यता जिल्ला प्रहरी कार्यालयले जानकी माथी भएको हिंसाको घटनामा ठाडो उजुरी आएको भए पनि जाहेरी नपरेको र प्रहरीले पिडकको खोजी गरिरहेको बताएको छ । ‘ठाडो उजुरी मार्फत घटनाको बारेमा हामी कहाँ जानकारी आएको छ’ बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले भने ‘हामीले पिडकको खोजी गरिरहेका छौं । मुद्धा नै लिएर आउनुस हामी कारबाही अगाडी बढाउछौ भनेका छौ’ उनले मुद्धा नै दर्ता गरे पछि अहिले नभए पनि कुनै बेला पिडकलाई गिरफ्तार गरेर कारबाही गर्न सकिने बताए ।
जानकीको घटना महिला अल्पकालिन सुरक्षित आवास गृहले हेरिरहेको र आवश्यक परामर्श पछि कस्तो मुद्धा दर्ता गर्ने भन्ने छलफल भैरहेको आवास गृहकी प्रमुख गिता शाहीले बताईन । ‘अहिले पिडितको शारिरिक र मानसिक अवस्था ठिक नभएकोले हामीले मुद्धा दर्ता नगर्न सुझाव दिएका हौ’ शाहीले भनिन ‘उनलाई अस्पतालबाट डिस्चार्ज गरिसके पछि हामी काउन्सिलिङ गरेर कस्तो खालको मुद्धा हाल्ने भनेर उनलाई सल्लाह दिने सोचमा छौ’ ।
पिडित जानकीले भने मनोज सँग बस्दा जुनसुकै बेला पनि ज्यानको खतरा रहेकोले आफुलाई छ वर्ष सम्म दिएको यातनाको क्षतीपुर्ती, पिडकलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने र आफ्ना बालबच्चाको भरणपोषणको व्यवस्था गरिनु पर्ने कान्तिपुर सँग बताएकी छिन । ‘त्यो सँग बस्ता मलाई जुनसुकै बेला पनि मार्न सक्छ । मलाई छुट्टै बसेर खाने व्यवस्था गरिदिनु पर्यो । त्यो पापीलाई कडा भन्दा कडा सजाय हुनु पर्यो’ उनले भनिन ।