खप्तडछान्ना राइजिङ अफ लामातोलाद्धारा बझाङका १२ वटै स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण

समाचार

साइपालखबर संवाददाता

बझाङ । खप्तडछान्ना राइजिङ अफ लामातोलाले बझाङका १२ वटै स्थानीय तहका लागि विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेकाे छ । जिल्ला जनस्वास्थ्य कार्यालय बझाङ मार्फत विहिबार हस्तान्तरण गरेको हाे । लामो समयदेखि विभिन्न सामाजिक कार्य र आपत्कालिक अवस्थामा खटिँदै आएको राइजिङ अफ लामातोलाले संस्थामा आबद्ध तथा समाज सेवामा लागि परेका व्यक्तिहरूको सहयोगमा करिब चार लाख बराबरकाे स्वास्थ्य सामाग्री जनस्वास्थ्य कार्यालय बझाङलाई हस्तान्तरण गरेको हो ।

संस्थाले पिपिई सुट २४० सेट, सर्जिकल ग्लोबल(पन्जा) १२ जोडी, इग्जामिनेसन ग्लोबल १२ जोडी, थर्मल गन २४ थान, पल्स अक्सिमिटर, सर्जिकल मास्क २४ थान, एन नाइन्टी-फाइभ मास्क २४ थान र ५ लिटरका १२ थान स्यानिटाइजरहरू गरी जम्मा ३ लाख ९३ हजार ५ सय ९८ मूल्य बराबरका स्वास्थ्य सामाग्री बिहीबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो ।

स्वास्थ्य कार्यालय परिसरमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा राइजिङ अफ लामातोलाको तर्फबाट अध्यक्ष दिनेश थापाको नेतृत्वमा सचिव अर्जुन गिरी, सल्लाहकार ढुण्डीराज थापा, स्थानीय मीनबहादुर खड्का, बिजय थापा लगायतले सामाग्री हस्तान्तरण गरेका थिए ।  हस्तान्तरण गरिएको सामाग्री जनस्वास्थ्य कार्यालयले सबै स्थानीय तहलाई समान तरिकाले वितरण गर्ने जनाएको छ ।

आर्थिक सङ्कलनका लागि अमेरिकाबाट बिष्णु प्रसाद जोशी र जापानबाट रमेश थापाले सघाएका थिए । जोशीले गोफण्ड मार्फत अमेरिकामा बसेर ३ लाख ५ हजार ४ सय ४४ रुपैयाँ सङ्कलन गरेर राइजिङ अफ लामातोलालाई पठाए, भने जापानबाट रमेश थापाले जापानबाट २ लाख २३ हजार १ सय २३ पठाएका थिए । यसै गरी राइजिङ अफ लामातोलालाई अन्य विभिन्न देशमा रहेका नेपालीबाट पनि सहयोग प्राप्त भएको र उक्त रकम फेरि विपत्तिमा सदुपयोग गर्ने राइजिङ् अफ लामातोलाका सचिव अर्जुन गिरीले बताए ।

सहयाेग जुटाउन एक महिना अघि ‘विश्व भरीका बझाङी एक होऔँ’ भन्ने नाराका साथ खप्तड छान्ना राइजीङ्ग अप लामातोलाले बझाङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत जनस्वास्थ्यकर्मीहरू सँग जिल्लामा ‘कोरोनाको वर्तमान अवस्था र आवश्यकता’ बारे भर्चुअल माध्यममा छलफल गरेको थियो ।

जापान, अमेरिका, कोरिया, मलेसिया, अस्ट्रेलिया, भारत र नेपालबाट झन्डै ४ दर्जन युवा, जनस्वास्थ्यकर्मी, डाक्टर, विद्यार्थी लगायतको सहभागितामा छलफल गरिएको छलफलका क्रममा कोभिड – १९ को महामारीमा जिल्लाका अस्पताल र स्वास्थ्य चौकीहरूमा औषधी, पिपिई, गन थर्मोमिटर, अक्सिमिटर लगायत स्वास्थ्य सामग्रीको कमी रहेको बताउँदै सकिन्छ भने तिनको आपूर्ति गर्न मद्दत गर्न आग्रह गरेका थिए।

कार्यक्रमपछि विभिन्न देशमा बसेका बझाङ्गी दाजुभाइहरूको मेसेन्जर समूह बनाई आफूले चिनेका साथीभाइहरू लाई जोडी सामूहिक सहयोग रकम सङ्कलन गरी बझाङको लागि स्वास्थ्य सामग्री खरिद गरी गैर नाफामूलक संस्था खप्तड छान्ना राइजिङ्ग अप लामातोला मार्फत वितरण गर्ने भन्ने निर्णय भएकाे थियो।

जापान, अमेरिका, कोरिया, मलेसिया, अस्ट्रेलियामा बस्ने बझाङ्गीहरूका मेसेन्जर समूहहरू बने। अमेरिकामा सहयोग रकम सङ्कलन गर्न सहज होस् भनेर गो फन्ड मी लिङ्क बनाएर फण्ड रेज तीव्र पारिएको थियो। यसरी देश-विदेशमा बस्ने बझाङ्गी र नेपालीहरू बाट करिब आठ लाखको सहयोग जुटेको थियो।

खप्तडछान्ना गाउँपालिकामा २ मा स्थापना भएको खप्तडछान्ना राइजिङ अफ लामातोला संस्थाले बाढी पहिरो, महामारीमा खटेर समाज सेवा गर्दै र विभिन्न नयाँ उद्यमीलाई प्रोत्साहन गर्दै आएको छ। यस गैर नाफामूलक संस्थाले भविष्यमा पनि विपद् व्यवस्थापन र ग्रामीण उद्यममा लगानी गर्दै अघि बढ्ने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *