सुदूरपश्चिम सरकारले खप्तडको बिकासमा प्राथमिकता दिने

साइपालखबर संवाददाता
बझाङ । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड विकास क्षेत्रलाई योजना र बजेट केन्द्रित बनाउने भएको छ । सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासको आधारस्तभ खप्तड क्षेत्रको विकास र प्रवद्र्धनमा प्रदेश सरकारले नेतृत्वदायी भुमिका निर्वाह गर्ने भएको छ ।

धनगढीमा असार ११ गते आयोजित खप्तड क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समितिको गोष्ठीमा खप्तड क्षेत्रको योजनाबद्ध विकासका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले योजनाबद्ध विकासमा नेतृत्व गर्ने प्रतिबद्धता जनाएको छ । ‘खप्तडको समग्र विकासका लागि विद्यमान कानुनी जटिलता फुकाउन सम्बन्धित निकायहरुमा पहल गर्ने र नतिजामुखी विकास योजना कार्यानवयमा अग्रसर हुनुपर्दछ,’ प्रतिबद्धतामा भनिएको छ, ‘निजी क्षेत्रलाई लगानी केन्द्रित गर्न गराउन आवश्यक पहलकदमी लिनेछौ ।’ खप्तडको पर्यटन सम्भावनालाई उजागर गर्न राष्ट्रिय अन्तरराष्ट्रिय तहमा आवश्यक प्रचारप्रसारलाई प्रथामिकता दिने उल्लेख छ ।

गोष्ठीमा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, पूर्व उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री माया भट्ट, प्राकृतिक श्रोत तथा विकास समितिका सभापति हर्क ब. कुँवर, प्रदेश सभा सदस्य भरत ब. खड्का, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पुष्पराज कुँवर, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति सचिव हरि जोशी, नाटा सुदूरपश्चिमका महासचिव पदम ब. सिंह उद्योगी तथा पर्यटन व्यवसायी गोपाल हमाल तथा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान अध्यक्ष अर्जुन शाह लगायत पत्रकार, खप्तड क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाहरू को उपस्थिति थियो ।