बझाङमा २४ घण्टा पछि सुत्केरीको उद्धार

बझाङ– सुत्केरी शल्यक्रिया पछि अत्याधिक रक्तश्राव भई सिकिस्त भएकी महिलाको २० घण्टा पछि उद्धार भएको छ । सुर्मा गाउँपालिकाकी २८ बर्षिय लक्ष्मीदेवी बोहराको सोमबार साँझ सिम्रिक एयरको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । आइतवार देखी सिकिस्त बोहराको सोमबार साँझ ६ वजे तिर उद्धार गरिएको हो ।

सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल भर्ना भएकी बोहराको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । आइतवार दिउँसो शल्यक्रिया गरिएकी उनको राती ९ बजेबाट रक्तश्राव सुरु भएको थियो । अत्याधिक रक्तश्राव हुन थाले पछि जिल्ला अस्पताल बझाङ मै राति नै पुन शल्यक्रिया गरी उनको पाठेघर निकालिएको अस्पताल प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए ।

‘पाठेघर निकाले पछि एकछिन रगत थामिए जस्तो भए पनि केही बेरमा फेरी बग्न थाल्यो’ ओखेडाले भने ‘रक्त श्राव रोक्नै सकिएन । जिल्ला मै राख्दा बचाउन नसकिने भए पछि धनगढी पठाएका छौ’ उनको उद्धारको गर्न राष्ट्रपती महिला उत्थान कार्यक्रमको हेलिकप्टरको लागि दिन भरी प्रयास गरिएको थियो । खराव मौसमका कारण महिला उत्थान कार्यक्रम संग सम्झौता भएको नेपाली सेनाको हेलिकप्टर बझाङ आउन नसके पछि बझाङ मै रहेको सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको थियो । अत्याधिक रक्त श्रावको कारण महिलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ भने शिशु भने पुर्णरुपमा स्वस्थ रहेको जिल्ला अस्पतालले जनाएको छ ।

सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले खर्च व्यहोर्ने गरी बोहोराको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलकान्त भण्डारीले बताए । महिलाको ज्यान नै जाने अवस्था भए पछि प्रदेश सरकार स“ग समन्वय गरेर उद्धार गरिएको उनले बताए ।