सुदूरपश्चिमको खप्तड क्षेत्र घुम्नका लागि बाह्रै महिना उपयुक्त मानिन्छ । यहाँ फुल्ने मनोरम फूलको दृश्यपान गर्न चैतदेखि मंसिरसम्म सबभन्दा राम्रो सिजन हो । यसबारे वसन्तप्रताप सिंह र विद्या राई लेख्छन् :

फूलैफूलको गलैंचाले ढाकिएका फराकिला पाटनहरू । खप्तड साँच्चिकै अलौकिक छ । उसै पनि भूस्वर्गको उपमा पाएको छ । नीला, पहेंला, राता, सेता, बैजनी आदि रंगीविरंगी फूलहरू देख्दा यहाँ पुग्ने जोकोहीका आँखा टक्क अडिन्छन् । तिनै फूलबाट निस्कने मगमग बास्ना श्वास नलीमा ठोक्किँदा मनै लट्ठिन्छ । फूल अनि बास्नासँग रमाउन माहुरीझैं भएर पुग्ने पर्यटकहरू खप्तडसँग नतमस्तक भइदिन्छन् ।
घन्टौं उकाली चढेर पुगिने खप्तडका पाटनमा फूलैफूलको स्वागतले थकान क्षणभरमै मेटाइदिन्छन् । पाटनका थुम्का (झोती) मा उकाली ओराली गर्दा अनि बाटो बिर्सेर घन्टौं हराउँदाका भोक, प्यासको परवाह नै हुँदैन । फूल फुल्ने बेलाको खप्तडलाई शब्दमा बयान गरिसाध्य छैन । शब्दरूपी बयान अधुरो र अपूरो लाग्छ । हिउँदका चार महिनाबाहेक जुनसुकै बेला यहाँका पाटन क्षेत्र ढकमक्कै हुन्छ । घोडा दाउन्ना पाटन, खप्तडी पाटन, बुकी दहमा बाक्लै फूल फुल्छन् । खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको अध्ययन अनुसार बुकी, जाई, जुई चमेली, सुनाखरी, गुराँस, चाँप, चिमालो, प्याउलीलगायत १ सय ३५ प्रजातिका फूल फुल्छन् । अन्य थुप्रै प्रकारका फूलबारे पर्याप्त अनुसन्धान गर्न बाँकी नै भएको बताइन्छ ।

हिमाली क्षेत्र भए पनि शीतोष्ण हरियाली जंगल छ । जंगलभित्र गुराँस, लालीगुराँस, चिमालाजस्ता थरीथरीका फूलहरूले मन्त्रमुग्ध पार्छन् । पाटन, झोती, जंगल, थरीथरीका फूल, कञ्चनसँगै कलकल बगिरहने खोला, खोल्सा, पाटन र जंगलमा लुकामारी खेल्दै आगन्तुकलाई जिस्काउने जंगली जनावर, चराहरूको चिरबिराहट, खप्तड बाबा आश्रम, खप्तड दह, त्रिवेणी सबै एकअर्काका परिपूरक लाग्छन् । खप्तडको रहस्यमयी जैविक विविधताले जोसुकैलाई प्रफुल्ल बनाउँछ ।
त्यसैले त खप्तड बाबाले जीवनको उत्तरार्द्धका झन्डै ५५ वर्ष खप्तड कुटीमा बिताएका थिए । उनले लामो समय किन बिताए भन्ने विषय अझै रहस्यमै छ । जानकारहरूका अनुसार उनी एलोपेथिक डाक्टर थिए । उनले मृत्युको दिन तोकिदिएका बिरामी कुनै साधुकहाँ गएर जडीबुटी लिएर सञ्चो भएका थिए । त्यसबाट उनी आश्चर्यमा परे र आफैं जडीबुटीको रहस्य खोज्न साधु बनेको कथा खप्तड बाबाले बताउने गरेको स्थानीयहरू सुनाउँछन् । उनी मानिसका लागि कहिल्यै नमर्ने औषधि खोज्न चाहन्थे । त्यही क्रममा उनी खप्तड आइपुगेका थिए । जीवनका अन्तिम दिनहरूमा उनले आफूले सञ्जीवनी बुटी खप्तडमा फेला पारेको तर नटिपेको बताउने गरेको लामो समय उनको सहयोगीका रूपमा काम गरेका बझाङ, खप्तडछान्नाका चक्र रोकायाले बताए ।
बाबाले खप्तडमा बसेर ‘विचार विज्ञान’, ‘स्वास्थ्य विज्ञान’ लगायत दर्जन पुस्तक लेखेका थिए । प्रकृतिको काख पाउँदा मानव जीवन कति दीर्घायु छ भन्ने गतिला उदाहरण हुन् उनी । उनी ११६ वर्ष जीवित रहे । यसबाट थाहा हुन्छ कि खप्तडका फूलहरूले आकर्षण मात्रै दिँदैनन्, अचुक ओखतीको काम पनि गर्छन् । खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार यहाँ पाइने कुनै फूल फुल्ने बिरुवाबाट २४ भन्दा बढी प्रकारका रोग निको पार्ने औषधि बनाउन सकिने अध्ययनले देखाएको छ । अहिले पनि खप्तड र आसपास क्षेत्रका मानिसहरू जडीबुटीकै प्रयोग गरेर रोग निको पार्छन् । पाटनमा फैलिने महँगो अत्तर बिर्साउने बास्ना कुन फूलको हो भनेर ठम्याउन भने केही स्थानीयबाहेक अरूले सक्दैनन् ।
खप्तडमा बाह्रै महिना घुम्न सकिन्छ । यहाँ फुल्ने मनोरम फूलको दृश्यपान गर्न चैतदेखि मंसिरसम्म उपयुक्त मानिन्छ । हरेक मौसममा खप्तडका पाटनहरूले फूलको तन्ना फेर्छन् । वैशाख, जेठ पहेंला र बैजनी रंगका देखिने यहाँका पाटनहरू असार–साउनतिर राताम्मे हुन्छन् । भदौ–असोजमा खप्तड बहुरंगी देखिन्छ । कात्तिक–मंसिरतिर फुल्ने फूलहरूको संख्या सीमित हुने भए पनि सुन्दरता भने मनै लोभ्याउने हुन्छन् ।
खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिमका चार पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछामको संगमस्थल पर्छ । समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तडको क्षेत्रफल २२५ वर्गकिलोमिटर छ । खप्तडको त्रिवेणी मन्दिर र त्यस वरपर २२ वटा ठूला पाटन छन् । जता हेरे पनि उस्तै लाग्छन् । खप्तड बाबा आश्रम, त्रिवेणी, सहस्रलिंग, खापरदह, शिव मन्दिर, नागढुंगा, केदारढुंगा, खप्तड दहलगायत स्थानहरू निकै प्रख्यात छन् । प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तवरले प्रख्यात भएकै कारण दूरदराजमा भए पनि खप्तडको रहस्यभित्र रम्न बर्सेनि हजारौं पर्यटक पुग्छन् । विशेषगरी हिन्दु धर्मावलम्बीका लागि पावन तीर्थस्थल भएकाले गंगा दसहरा, जनैपूर्णिमाजस्ता धार्मिक पर्वमा हजारौं तीर्थयात्रीहरू मेला भर्न खप्तडको यात्रामा हुन्छन् ।
कान्तिपुर दैनिकबाट साभार ।
