अनकन्टार ठाउको बास

पौने आठ बजेतिर सितीबाट ओरालो लाग्यौँ, साग र रोटीको नास्ता गरेर । र, चमेलिया त¥यौँ । चमेलिया तर्ने बित्तिकै आइपुग्यो खाइकोट । यो मार्गमा पर्ने अन्तिम मानव बस्ती जहाँ तीनवटा मात्र घरहरू थिए ।
खाइकोट कटेपछि फेरि चमेलियासित जम्काभेट भयो ।
हामी हिँडिरहेका छौँ, चमेलिया को किनारैकिनार । चमेलियालाई चट्टानसित पौँठेजोरी खेल्दै सागर भेट्न हतारो छ । हामी उसैको मुहान भेट्न उँभो लागिरहेका छौँ । यतीखेर चमेलिया र हामी बिपरत दिशातर्फ उन्मुख छौँ । हामी चुचुरातिर, चमेलिया मैदानी भागीतर ! लक्ष्य भिन्न किन्तु ऊर्जाशिलता उस्तै । भनौँ एउटा अनौँठो संयोग ।
सितीबाट ओरालो लाग्दैगर्दा सुसेलीजस्तै लाग्थ्यो चमेलियाको आवाज । लाग्थ्यो– चमेलिया रमाउदै बगेकी छे । तर जतीखेर हामी चमेलियाको किनारकिनारै हिँडिरहेका थियौँ । यस्तो लाग्थ्यो – चमेलिया को त्यो चिच्याहट थियोे । चमेलियाको धैर्यताको बाँध फुटेको हो । किनकि चमेलियालाई त्यती सुुम्सुम्याउन सकेका छैनौँ । जगाउन सकेका छैनौँ, जती सकिन्थ्यो । बस्तीमा बल्नुपर्ने चमेलिया, फँटमा हराभरा फुल्नुपर्ने चमेलिया, मान्छेका तीर्खा मेट्नु पर्ने चमेलिया बेचैनीपूर्वक बगिरहेछे निरुदेश्य, निरन्तर, निराभिमान एवम् निश्छल ।
तीर्खा भएर बाँचिरहेको काठमाडौँलाई सम्झन्छु म । बागमतीको ठाउँमा चमेलिया बगिदिएको भए कान्तिपुरेहरूले खाने पानीको लागि मेलम्ची पर्खनु पर्दैनथ्यो । कल्पनाले मलाई केहीबेर डो¥यायो । काकाकुल काठमाडौँले बेचैन बनायो मलाई एक निमेष ।

घना जङ्गलको बाटो उक्लँदै थियौँ हामी, फुलिरहेका फूल र रूखका पातहरूको चञ्चलता हेर्दै ।
बयली भन्ने ठाउँमा पुगेपछि लन्च गर्ने कुरा भयो । पेटमा मुसा दैडेको महसुस ग¥यौँ सबैले ।
शङ्करले ढुङ्गाको चुला बनाए । दाउरा बाले । चमेलियाबाट उघाएर ल्याएको पानी तताए । र, चाउचाउ उमाले । सितीबाट ल्याएको रोटी र उनले बनाएको चाउचाउ खायौँ । र, लाग्यौँ दोमलतर्फ ।
बेलैमा पुगियो दोमल । तीन बजेको थियो । घाम ढल्कँदै थियो, पश्चिम गन्तब्य सोझ्याएर । क्षितीज डढ्न नै बाँकी थियो ।
यात्राभरिमै सबैभन्दा चाँडो गन्तब्यमा पुगेको दिन थियो त्यो । चमेलियाको छालमा सूर्यले नुहाइरहेको थियो ।
यार्चागुम्बा टिपुन्जेल बस्नका लागि खण्डेश्वरीकै एकजना मानिसले बनाएको अस्थायी घर छ भन्ने सुनेका थियौँ । हामी बस्नका लागि त्यहीँ भित्र पस्यौँ ।
खण्डेश्वरीबाट गएका सहयोगीले भन्दै थिए, “घर भएकोले राम्रो भयो । यहाँ त हिउ चितुवा र कालो भालुको डर हुन्छ । हतीयार नभए त घोरल र झारलले पनि आक्रमण गर्न सक्छ ।”
शङ्करले भने, “आज हामी चाँडै नै खाना खाएर सुत्छौँ । भोलि बिहान पाँच बजे नै तपाइँहरू अपी आधार सिविर जानुस् । ८.३० बजे बेस क्याम्प पुग्नुहुन्छ र फर्केर आउँदा बिहान एघार बज्छ । खाना खाएर बाह« बजेसम्म यहाँबाट हिँड्ने र पाँच बजेसम्म सिती पुग्ने । त्यसपछि गोकुलेश्वर अनि धनगढी फर्कने । ट्रेकिङ त सक्किगो नि !”

हामी नजिक थियौँ, अपी बेस क्याम्पबाट ।
दोमल पुगेको साँझ विशेषरूपले मनाउनुपर्छ भनेका थिए मार्टिनले । शङ्करले यो कुरा उनलाई सम्झाए ।
दाल र भात बसाल्दै सेलिब्रेशन पनि सुरू गरियो घाम छँदै ।
हामीसित रेड लेवल वा ब्ल्याक लेवल थिएन । न त चिकेन चिल्ली थियो, न त खसीको ह्याकुला नै । शङ्करले सितीबाट ५ लिटर उवाको रक्सी लगेका थिए । उनले सितीबाटै लगेको गान्टेमुला काटे । आसिसले दिएको अमूल चिज थियो मसित । सितन चिजका टुक्रा र मुला । सिमी पाकेपछि सिमीका दानाहरू पनि थपिए । उवाको रक्सी तानियो । शहरमा भैदिएको भए त्यसको महत्व हुने थिएन होला । तर, त्यतीखेरको मज्जा नै अर्कै थियो । तान्दै जाँदा त यस्तो लाग्यो –त्यो अनकन्टार ठाउँमा हामी छ जना राज्य गरिरहेका छौँ, जसरी केन्द्रमा राज्य गरिरहेका छन् नेता ।
घाम डाँडाबाट तल–तल झर्दै गयो । चिसोले पनि टोक्न थाल्यो । एउटा काम बाँकी थियो दाल भात खाने । त्यो पनि ग¥यौँ । र, घर भित्र छि¥यौँ । यात्राभरिमै चाँडै सुतेको दिन थियो, त्यो । ६.३० मात्र बजेको थियो ।
चमेलियाको किनारको बास । डाँफे मुनाल, चिर, चिल, भ्याकुरा, च्याखुरा आ–आफ्नै गुणमा थिए होलान् । त्यो घना जङ्गल बीचमा रात बिताउँदै गरेको हामीलाई साथ दिएकी थिइन्; बगिरहेकी चमेलिया र अर्की सहयात्री थिइन्, गगनमा फक्रिरहेकी चाँदनी ।
सबैभन्दा खुशीको क्षण
आज पदयात्राको दशौँ दिन ।
लामो सुर्तापछि बिहान ४.१५ बजे नै उठियो । शङ्कर र सहयोगीहरूले चिया बनाइ दिए । एक–एक कप तातो चिया पियौँ । झोलामा बिस्कुट र चाउचाउ हालिदिए । बाटो देखेका एकजना सहयोगीलाई लिएर मार्टिन र म अपी बेस क्याम्पतर्फ लम्क्यौँ । ५.०० बजेको थियो ।
हिजो साँझमा उदाएको जूनको उज्यालोले अध्यारोको साम्राज्यलाई चिरि नै रहेको थियो । हातमा टर्च पनि बोकेका थियौँैँ । चमेलियाको साथ त छँदै थियो ।
हामी उकालिँदै जाँदा ओइलाउँदै थियो जून । एकघण्टा हिँडेपछि अपी देखियो । उस्तै थियो ओइलाउँदै गरेको आकासको जून र अपी हिमालको रङ्ग ।
धौलोओडार नपुग्दै घामका नवकिरणहरू बिस्तारै अपीको शीरमा पोखिदै गए । अपीमा घामको लाली घसिँदै गयो । अपीको रङ्ग फेरिँदै गयो सेतो, पहेँलो हुँदै रातो भएर । अपीले रङ्ग फेर्दै गरेको दृश्य हेर्न लायक थियो । प्रत्येक पलपलमा रङ्ग फेरिन्थ्यो । त्यतीखेर हामीले पाइला नरोकिरहन सकेनौँ । अपीे हेर्दैगर्दा मैले गुन्गुनाएथेँ –
तिमी कुहिरोसित लुकामारी गर्दा
मलाई पनि तिमीसँगै
केहीबेर कुहिरोमा लुक्न मन छ
सूर्यको किरणसँगै
जीवन ताजापनमा घोलेर
एक क्षण तिमीले फेरेको रूप
सँगै बसेर हेर्न पनि मन छ
अनि, स्वप्निल तरङ्गहरुमा
आफैँ भित्र रङहरु भर्ने धोको पनि छ ।

केही बेर हिँडेपछि धौलौओडार आइपुग्यो । क्याम्पिङ गरेर बस्नका लागि सबैभन्दा राम्रो ठाउँ थियो धौलोओडार । विशाल पहराको फेँदीमा भएको ढुङ्गे ओडारलाई स्थानीय भाषामा धौलोओडार भनिँदोरहेछ । बर्षातको बेलामा यार्चागुम्बा टिपुन्जेल बस्नका लागि बनाइएको थुप्रै घरहरू बेवारिसे अवस्थाका जस्तै लाग्थे ।
धौलोेओडारबाट केहीबेर उँभो लागेर डिलमा पुग्ने बित्तिकै ७१३२ मिटरको उचाइको अपि हिमाल टुप्लुक्क देखा प¥यो । यस्तो लाग्थ्यो – अपी आफ्नो नजिकैको कायाकोरसित साउती मारिरहेको छ ।
हामी बिस्तारै अपीको आँगनतर्फ अगाडि बढ्यौँ ।
आहा ! कती मोहक दृश्य ! सुन्दरमध्येको एउटा सुन्दर हिमाल अपी । चारैतिर हिमालहरू र बीचमा फराकिलो समथल भुभाग । बेस क्याम्प त उपत्यकाजस्तै लाग्छ । अपीको सामु उभिएको छ; ६,७५५ मिटरको नाम्पा चुली । र, रिङ्गै उभिएका छन् रिङेपानी, कायाकोर, कालीढुंगा, बबई लगायतका अन्य सुन्दर चुलीहरू । र, अपिको फेदबाट निस्केकी चमेलिया निर्वाध बगिरहेकी छे, सागर र महासागर भेट्ने गरी ।
एउदै बिन्दुमा उभिएर यी सबै दृश्यहरू देख्दा म स्तब्ध भएँ । अपीको संसारमा हरायौँ हामी ।
म त्यो समतल जमिनमा रहेको चट्टानमा चढेँ । मैले पहिलो चोटी देखेको अपीलाई निकैबेर घोतीलएर हेरिरहेँ । र, निकैबेर सोचमग्न भएँ – युगान्तकारी परिवर्तनको द्योतक हो, अपी । यती सुन्दर ठाउँ पछिपरेको छ । अन्नपूर्णा, सगरमाथा, लाङ्टाङ, मनास्लु, मुस्ताङ, डोल्पाजस्तै संसारलाई अपी देखाउन पाए कती खुशी हुँदा हुन् ! टीडीएस्ले जस्तै सरकारले पनि चासो दिए यसलाई पर्यटकीय गन्तब्य बनाउन असम्भव के थियो र !

लाग्छ – हामी हिराको ओच्छ्यानमा सुत्छौँ तर किराको जतीपनि मूल्य छैन हाम्रो । कहिले प्रवद्र्घन गर्न सकिएला यस्ता अनुपम गोरेटाहरू । र, पुँजीकृत गर्न सकिएला अनमोल यी प्रकृति र प्रकृतिहरू !
मार्टिन र मेरो बीचमा अपी बेस क्याम्प पुगेकोमा खुशी साटासाट भयो ।
मैले उनलाई भने, “तीम्रो ढिपीले पनि काम ग¥यो । यहाँ आइपुग्छु भन्ने लागेको थिएन मलाई । नाटकीय ढङगले यात्रा सफल भएको छ । साँच्चै, सपनाजस्तै भएको छ । अपीसित नयाँ साइँनो गाँस्न पाएँ ।”
उनले मलाई एउटै मात्र प्रश्न सोधे, “डु यु थिङ्क द्याट द ट्रेल वी डिड क्यान् वी प्रोमोटेड याज ए ट्रेकिङ ट्रेल ?”
“दियर इज नथिङ इम्पसिबल, बट इट माइट टेक क्वाइट ए लङ्ग टाइम ।” मैले उनलाई जवाफ दिए ।
त्यही चट्टानमाथि बसेर बिस्कुट र चाउचाउ खायौँ । तस्बिरहरू लियौँ । लगभग आधाघण्टा बितायौँ हामीले ।
फर्कनु अघि अपीको आँगनको डीलमा पुगेर एक पटक फेरि अपीलाई फेर्कर हेरेँ । अपी निर्वाध हाँसिरहेको थियो । हाँसेरै बिदाइ गरेथ्यो अपीले मलाई ।
याे पनि पढ्नुहाेस् ।
-
अपिका यादहरु – ६ ।
-
अपिका यादहरु – ५ ।
-
अपिका यादहरु –४ ।
-
अपिका यादहरु –३ ।
-
अपिका यादहरु – २ ।
-
अपिका यादहरू – १ ।
नेपालका चर्चित ट्राभल व्यवसायी राजेन्द्रमान डंगोल आफु मात्र यात्रा गर्दैनन । उनी आफ्नो सुन्दर लेखनीको माध्यमबाट आफुसँगै पाठकलाई पनि रोमाञ्चक यात्रा गराउँछन । उनै डंगोलले डोटीबाट खप्तड, बझाङको सुर्मासरोवर हुदै अपि हिमालको आधार शिविर सम्म पदयात्रा गर्दा संगालेका अनुभवहरु तपाईहरु समक्ष धारावाहिक रुपमा प्रस्तुत गरिरहेका छौ । याे डंगोलको यात्रा संस्मरण अपिका यादहरुको अन्तिम श्रंङखला हो ।
