घटना सार्वजनिक हुनु पुर्व नै अपराधी हिरासतमा पुगिसकेकाले प्रहरी नै चकित परे ।
बझाङ, चैनपुर । मंगलबार राती जिल्ला प्रहरी कार्यालयको हटलाईनमा फोन आयो । चैनपुरका केही घर, पसलहरुमा कसैले तोेडफोड गर्दै हिडिरहेको जानकारी गरायो । प्रहरी चनाखो भयो ।
पछ्याउदै गएको प्रहरीले एकजना शंकास्पद मानिसलाई चैनपुरको बाहुलीगाड पुलमा भेट्यो । उसले प्रहरी आफुतिर आएको देखेपछि पुलको छेउबाट हाम फाल्दै भाग्न खोज्यो ।
शंका लागेकाले प्रहरीले पिछा गर्दै जादा पक्राउ गर्न सफल भयो । उनी थिए सुर्मा – १ दौलीचौरका २५ बर्षिय दर्पन बोहरा ।
मदिराको मातमा रहेका उनले राती दुर्घटना निम्त्याउन सक्ने आशंकामा प्रहरीले हिरासतमा राख्यो । बुधबार विहानै चैनपुरकै चौगाउ“टोलमा एक युवकको शव भेटियो । सडकको बीचमा राताम्मे अवस्थामा भेटिएको शव पनि सुर्मा – १ दौलीचौरकै ३५ बर्षका धर्क बोहराको थियो ।
अपत्यारिलो यस घटनाले चैनपुरमा एकाएक सन्त्रास फैलियो । जिल्लाको शान्ती सुरक्षा प्रति प्रश्न उठाउदै पिडितका आफन्त र चैनपुरबासीहरु जिल्ला प्रशासन कार्यालयको गेटमा नाराबाजी गर्न थाले । यतिबेला चैनपुर अशान्त र त्रसित बनेको छ ।
प्रहरीलाई तत्काल अनुसंन्धान गरेर हत्यारा सार्वजनिक गर्नुपर्ने चुनौती थियो । घटनास्थलको सर्जिमिन मुचुल्का हुदै गर्दा डिएसपी प्रविण धिताल हत्या पछि हुन सक्ने सम्भावित विरोध, सदरमुकामको सुरक्षा र सम्भावित अपराधीको बारेमा छलफल गदै थिए ।
लगत्तै शंकाको सुई राती पक्राउ परेका दर्पनपट्टि घुम्यो । मदिरा खाएर हो–हल्ला गरेको केसमा एक दिन भन्दा बढी थुन्न मिल्दैन । १० बजे तिर उसलाई छोड्ने तयारीमा थियो प्रहरी ।
‘हत्यामा कतै उसैको संलग्नता त छैन भन्ने शंका लागेर सोधपुछ ग¥यौ’ धितालले भने ‘नभन्दै उसको लुुगामा रगतका टाटा देख्यौ, हत्याको कुरा गर्ने वित्तिकै ऊ आतियो, केही बेरमै हत्या स्विकार ग¥यो ।’
यसरी घटना सार्वजनिक हुनु पुर्व नै अपराधी हिरासतमा पुगिसकेकाले प्रहरी नै चकित परे । घटना सार्वजनिक भएको दुई घण्टा भित्रै अभियुक्त पक्राउ परेको खबर पाएपछि जिल्ला प्रशासनको तनाव समेत साम्य भयो ।
पक्राउ परेका दर्पनले यार्साको रकम लेनदेनको विषयमा विवाद भए पछि ढुङ्गाले हानेर ज्यान लिएको स्विकारे । प्रहरीका अनुसार उनीहरू दुवैले मदिरा सेवन गरेका थिए ।
अत्यधिक सेवनले गर्दा मात लागेका उनीहरू अलग अलग भट्टिबाट अाफ्नाे बसाेबासतर्फ लाग्ने क्रममा बाटाेमा अापसमा ठाेक्किएका थिए । यहिबेला यार्सावाला पुरानाे रिसिइबीकाे बिषय उठेको थियो । यार्साको रकम दर्पनले माग्न थाले पछि धर्क भागेको र लखेट्दै जादा ढुङ्गाले हानेपछि ढलेका थिए ।
‘मृतक मातेर भाग्नै नसक्ने अवस्था भएका कारण पनि ढुङ्गाले हानेर हत्या गर्न सजिलो भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’ डिएसपी धितालले भने । हत्या स्विकार गरेका दर्पन माथी थप अनुसन्धान भैरहेको छ । चाडै आवश्यक प्रमाण सहित अदालतमा पेश गरिने उनले बताए ।
