महिला पत्रकारलाई अवसर र चुनाैती

ब्लग विचार/विविधा

आजपनि मुलधारका सञ्चारमाध्यमले न्युनतम पारिश्रमिक दिन सकेका छैनन् । महिला पत्रकारलाई परिवार, पत्रकारिता र समाजको जिम्मेवारी छ । पुरुष पत्रकारहरुले जिम्मेवारीबाट विमुख गराउने, क्षमता विकासमा महिला पत्रकारलाई अवसर नदिइने, तलब सुविधामा विभेद गर्ने जस्ता थुप्रै कारण र समस्याहरुले गर्दा महिला पत्रकारहरु क्षमता र दक्षताको प्रदर्शनबाट टाढिन बाध्य छन् ।

विद्या राई

करिब साढे तीनबर्ष अगाडी म जतिबेला गाउँमा थिए । राजनीति के हो ? अहिले पनि मज्जाले बुझ्न सकेको छैन । त्यो बेला त राजनीतिबारे चासो लिनुपर्ने आवश्यकता पनि थिएन । निर्णयात्मक भुमिकामा महिलाहरु दोस्रो दर्जामा छन् है । अधिकारको लडाइमा बर्षौदेखि लडिरहेका छन् । १६ दिने महिला दिवसका बेला अग्रज महिला दिदीहरुले भाषण गरेको सुनेर थाह पाउथे । कसरी दोस्रो दर्जामा छन् ? थाहा थिएन ।


२०७२ साल राष्ट्रपति विद्यादेवी भण्डारी देशकै पहिलो महिला राष्ट्रपति बन्नुभयो । नेपालले गणतन्त्र प्राप्त गरेपछिको उपलब्धि थियो त्यो । धुमिल मनले महिला राष्ट्रपति पाएकामा हर्ष मानेको थियो । कारण मैले सुनेको दोस्रो दर्जामा परेकै महिला मध्येको प्रतिनिधिपात्र देशकै सम्मानित पदमा आसिन हुन सफल हुनुभयो ।


तर , त्यसै सेरोफेरोमा एकजनाले भनेको सुने, ‘महिलाले जति मै हु भने नि के गर्नु ? अधिकार मागे नि दिए नि काम छैन महिलाहरुको । यसो सृष्टि गर्नेमात्र न हुन् ।’ मनमा च्वास्सै विझ्यो, आफु महिला भएको हैसियतले । हप्तौसम्म मनमा यो कुरा खेलिरह्यो । जसलाई केही समयपछि ब्लगमा उतारे जानी नजानी ‘कहिले हुन्छन्, छोराछोरी साँच्चिकै बराबरी’ शिर्षकमा ।

त्यतिबेला अनलाइन र वेबसाइटले पत्रकारितामा बजार लिइरहेका थिए । मेरो ब्लग केहि स्थानीय अनलाइनहरुले स्थान दिएका थिए । जुन चाहि मेरो पहिलो ब्लग थियो । महिला नेतृत्वलाई पुरुषले कसरी निच व्यवहार सोच्छन् हाम्रो समाजमा ? त्यसैमा आधारित थियो । सायद यसैको प्रेरणाले हुनसक्छ । अग्रज पत्रकारहरुको हौसलाले गर्दा महिलाहरु आफ्नो तहतप्कामा रहेर अधिकारप्राप्तीका लागि लड्नुपर्छ भन्ने कुरा मनसपटलमा छाएको ।


प्लस टु सक्काएपछि २०७२ सालकै मंसिर महिनामा उच्च शिक्षाका लागि सदरमुकाम लागे । उज्वल भविष्य कोर्ने सपना बोकेर भोजपुर क्याम्पसमा स्नातक भर्ना भएको थिए । विद्यालयमा उत्कृष्ट विद्यार्थीभित्रै गनिने भएकाले सक्षम र कर्तव्यनिष्ठ व्यक्ति बन्नुपर्ने परिवार, आफन्त, अग्रजको चाहना थियो । जुन स्वभाविक हो । पढाइसंगै लेखनमा रुची थियो । तर जिवनमा पत्रकारिता गर्छु भन्ने सोच थिएन ।


जब भोजपुर क्याम्पसमा अध्ययन थाले । मेरो घुलमिल कलेजका साथीहरु भन्दा पनि जिल्लाका पत्रकारहरुसंग हुन थाल्यो । वेवसाइटहरुमा समाचार लेख्ने, पोष्ट गर्ने र सामाजिक सञ्जालमा शेयर गर्ने अवसर मिल्यो । २०७२ सालकै फागुन महिनादेखि साच्चिकै पत्रकारिताको सुरुवात भयो । अग्रज पत्रकारहरुले दिएको उर्जा र म मा बसेको पत्रकारिताको लतले पत्रकारिता पेशामा होमिए ।

शुरुमा झापाको हिमशिखर टेलिभिजनमा भोजपुर संवाददाता भए । जानेर होस् या नजानेर सकेसम्म दैनिकजसो रिपोर्टहरु पठाउथे । बज्थ्यो या बज्थेन मलाई थाहा हुन्थेन । किनकी टेलिभिजन भोजपुरमा दिदैनथ्यो । इन्टरनेटबाट लाइभ हेर्न सम्भव थिएन । इन्टरनेट स्लो भएर सामान्य इमेल गर्न नि घण्टौ कुर्नुपथ्र्यो भने लाइभ हेर्ने सम्भावना नै थिएन । तैपनि मज्जा लाग्थ्यो । किनकी टेलिभिजन समाचारकक्षले फोनबाट मैले पठाएको सामाग्रीको तारिफ पाउथे ।

२०७३ साल बैशाख महिनामा पहिलोपल्ट राष्ट्रिय बाणिज्य बैकको खातामा ४ हजार रुपैया तलब आएको कुरा जब मोबाइलमा एसएमएस पढेर थाहा पाए । सायद जिवनमा त्यतिधेरै खुसी र सन्तुष्ट भए । सोही महिनादेखि न्युज ट्वान्टी फोर टेलिभिजनमा पनि काम पाए । जिल्लामा पनि बज्थ्यो टेलिभिजन । जिल्लाबासीले मैले पठाएको समाचार हेर्थे । बजारमा समाचारको हल्ला चल्थ्यो ।

म बस्ने सदरमुकामदेखि घरसम्म जाने सडक ४८ किमि कच्ची छ । साना ल्याण्डलोभर गाडीहरु चल्थे । भाडादर निक्कै महंगो थियो । सर्वसाधारणको पहुचका लागि चलाइएका सवारीसाधनमा उनीहरुको पहुँच पुग्दैन थियो । यसबारे रिपोर्ट बज्यो न्युज ट्वान्टी फोर टेलिभिजनमा । तत्कालिन डिएसपि राजकुमार लम्सालले व्यवसायीहरुलाई बोलाएर सोधपुछ गर्नुभयो ।

त्यसपछि मलाई व्यवसायीहरुले फोन गरेर तथानाम गाली गरे । जस्तोसुकै सजाय कुनैबेला दिनसक्ने चेतावनी दिए । अलिकति पनि हच्किन चाहिन । किनकी मैले सत्य कुरा समाचारमा बाहिर ल्याएको थिए । जब यो कुरा मेरो गाउँमा फिजियो । म र मेरो परिवारलाई गाडी चढ्न नदिने चेतावनी दिइएको रहेछ । १९ बर्षको किशोरावस्थाको जोस होला सायद यस्ता विकृति र विसंगती अझै खोल्ने जोस बढ्यो । विस्तारै म पनि सिकारु पत्रकारका रुपमा चिनिन थाले ।

जेठ १५ गतेदेखि नागरिक दैनिकमा पनि काम पाए । तीन वटै मिडिया हाउसलाई समाचार पठाउन थाले । सपनामा पनि समाचारकै देख्न थाले । भदौ महिनामा स्टिन्जर भएर कान्तिपुर दैनिकमा प्रवेश गर्ने अवसर मिल्यो ।


आज म कान्तिपुरसंगको २८ औ महिनाको यात्रामा छु । समाज, समाचार, पत्रकार, पत्रकारिता र देशबारे थोरबहुत बुझ्ने भएको छु । भोजपुर जिल्ला संवाददाता भएर १६ महिना काम गरे । पत्रकारितामा प्रवेशको छोटो समयमा पाएका अवसर, चुनौती र सामना गरिएका अवस्थाहरुलाई अहिले सम्झदा निकै रोमाञ्चित हुन्छु ।


कान्तिपुर प्रवेशपछिको विभिन्न चरणमा माथि लेखेको ‘कहिले हुन्छन्, छोराछोरी साँच्चिकै बराबरी’ शिर्षकको ब्लग यादगर बनिदिन्छ । मैले कान्तिपुर प्रवेश गर्दा २० बर्षको थिए । अग्रज पत्रकारले भन्थे ‘यस्ती फुच्ची केटीलाई कान्तिपुरले राखेर के प्रगति गर्छ कान्तिपुरले ?’ कतिले भन्थे ‘विद्यालाई त समाचार अरुले नै लेखिदिन्छन्, विद्याले मेल मात्रै गर्ने हो ।’ हार खाइन र यसको प्रतिवाद गरिन । जुन कुरा मन्त्रीको सल्लाहकार बताउने पत्रकार नै थिए । अहिले त्यस्ता पत्रकार दलको झण्डा बोकेर एउटा नेता समाएर पछाडी हिडिरहेको छ । आफ्नो मेहनतले भ्याएजति मेहनत गर्थे । विहान क्याम्पस जान्थे । दिउसो समाचार खोज्थे । प्रायजसो रातको समय समाचार लेख्थे । किनकी होहल्लामा काम गर्न सक्दैन थिए ।


घर छोडेर सदरमुकाम बस्ने भएकाले खानबस्न पैसा लाग्थ्यो । घरबाट बुवाआमाले पठाउनुहुन्थ्यो । एकपटक भोजपुरको उत्तरी नेपालेडाँडामा रिपोर्टिङ जानेबेला खर्चको अभाव भयो । कान्तिपुर टिभिमा तत्कालिन कार्यरत अग्रज पत्रकार दाजु किरण राई (हाल लण्डनमा हुनुहन्छ ।) ले र टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष दाजु ध्रुर्व राईले एक-एक हजार रुपैया ऋण दिनुभएको थियो । सुरुमा म एक्लै जान लागेको थिए । सदरमुकादेखि झण्डै ५० किमि टाढा बाटो पर्ने भएकाले अन्नपुर्ण पोष्ट दैनिकका जिल्ला संवाददाता दाजु प्रदिपचन्द्र राईसंग गयौ । जिन्दगीकै पहिलो ऋण थियो । जुन अनगिन्ति गुनगानले पनि तिर्न सकिदैन ।


नेपालेडाँडाको सिमानामा अरुण नदि किनार योगमायाको समाधिस्थलमा छ । समाधिस्थल पर्ने गाउको नाम मझुवाबेसी कोटिहोम हो । पारीपट्टि कुलुङ गौडेनी छ । बीचमा इर्खुवा खोला पर्छ । शिवरात्री मेला चलेको थियो । त्यहि मौका छोपेर रिपोटिङ गर्न गएका थियौ । साझपख फर्कियौ । रिपोर्टिङ गर्दै गरेको डायरी उतै छोडिएछ । लिन फर्किदा झ्याप्पै रात प¥यो । इर्खुवा तर्न साघु थियो । त्यो जंगल र घारीको बाटो अनि रातमा साघु खोज्दाखोज्दै म हराए ।

प्रदिप दाई मलाई खोजीरहनुभएको थियो । आवाज सुन्थे भेट्दिनथे । फोनसम्पर्क गर्न गाह्रो थियो । पारीपटिट धुमधाम मेला चलिरहेकै थियो । म साघु खोज्दै निक्कै तल पुगे । नजिकै साघु देखियो फाल हान्दै झरे । तर निक्कै भिर पो रहेछ । अनि अरुण नदिसंगको दोभान पो रहेछ । बीचमा बगाएर ल्याएका रुखका हागा रहेछन् । हतार र हतास मुडमा धन्न दुईचारपाइला पछाडी नै थिएछु । होस हराएको बेला त्यहा“ फाल हानेको भए सायद म यो संसारमा हुदैनथिए । फेरी माथि डा“डामा निस्किए । अचानक स्थानीय पत्रकार सौगात गौतम दाइको फोनमा सम्पर्क भयो । सायद रातको ८ बजेको थियो । बाइक सहितको टोलीले मलाई इर्खुवा तारियो ।


म र प्रदिप दाई सदरमुकाम फर्कने दिनको कहानी छ । दिंलाबजारदेखि ३८ किमि टाढा पर्छ । बेलुकी चार बजेसम्म गाडी कु¥यौ पाएन । हामी हिडेर आयौ । त्यहाँबाट हिडेको करिब रातको १२ बजे सदरमुकाम आइपुग्यौ । सुनसान रातमा घनघोर जंगलका बाटोहरु काटेर । रहर नभएर बाध्यता नै थियो त्यो ।


कान्तिपुर आएपछि मैले ल्यापटप, मोबाइल र क्यामरा जोडे । सबैभन्दा खुसीको क्षण बन्यो । बिस्तारै मैले आत्मनिर्भरतालाई जोड दिन थाले ।


मैले लेख्ने समाचारहरु समाजका विकृति विंगतिविरुद्ध हुन्थे । कुनै न कुनै हिसाबले जिल्ला प्रमुख अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (डिएसपि) संग सम्बन्ध राख्थे । देश संघिय संरचनामा गयो । स्थानीय तहको निर्वाचनताका थियो । एमाले कार्यकर्तालाई माओवादी कार्यकर्तालाई गोली प्रहार गरेका थिए । उक्त समाचार कान्तिपुरमा प्रकाशित भयो । जसले गर्दा माओवादी नेता, कार्यकर्ताले ज्यान मार्ने धम्की दिए । डिएसपि काजीकुमार आचार्यले माओवादी नेताको दबाबमा परेर उनैले बोलेका कुरा समाचारबाट हटाउन चेतावनी दिए ।

सिडिओ गोमादेवी चेम्जोङले फोन गरेर मेरो उमेर हदलाई लिएर गालीगलौज गरिन् । अग्रज पुरुष पत्रकारले सामाजिक सञ्जालमा मेरो समाचार विरुद्ध भत्र्सना गरे । माओवादी नेता, कार्यकर्ताले विज्ञप्ती प्रकाशित गरे । नाराबाजी गरे । एकजना सांसद जो अहिले पनि वहालबाला छन उनले दलमा आवद्ध पत्रकारलाई एकजुट बनाएर मेरो विरुद्ध समाचार लेख्न लगाए । र म विरुद्ध मैले काम गर्ने मिडिया हाउसमा उजुरी गर्न सम्म लगाए ।

त्यस घटनाले गर्दा सिडिओ र डिएसपिसंग चिसिएको सम्बन्ध झनै फराकिलो बन्दै गयो । २०७४ असार १० गते स्थानीय तह निर्वाचनताका भोजपुरको पुर्वी प्याउलीबजारमा तीन बालबालिकाको रहस्यमय हत्या भयो । निर्वाचनको बेला भएकाले त्यो बेला कसैको नजर परेन । तर एक महिनासम्म घटनाबारे पत्ता नलागेपछि मैले कान्तिपुर दैनिकमा निरन्तर फलोअप गरे । जुन कुरा सिडिओ चेम्जोङ र डिएसपि आचार्यले मन पराएका थिएनन् ।

अघिपछि महिला र बालबालिकाको अधिकार खोज्ने अधिकारवादी भन्ने ठान्नेहरु पनि चुप थिए । जुन कुरालाई मैले समाचारमा ल्याए । मैले निरन्तर फलोअप गरिरहेको समाचार नरुचाएका सिडिओ डिएसपिले महिला सञ्जाल प्रयोग गरेर तीनपटकसम्म कुटपिट गर्न पठाए । महिला सञ्जालकी अध्यक्ष लिलामाया तामाङको नेतृत्वले मलाई कुट्ने जिम्मा लिएको थियो । जहाँ माओवादीका नेतृ मनिका राई पनि थिइन । मलाई उनीहरुले कुट्नलाई पटक पटक प्रयास गरे । उनीहरुले झुटा समाचार लेखेको भन्दै सिडिओसमक्ष कार्यबाही माग गर्दै उजुरी लेखे ।

दलीय आवरणमा चलेका स्थानीय रेडियो र अग्रज पत्रकारहरुले मेरो विरुद्धको उजुरीबारे समाचार बजाए । प्रकाशन गरे । जुन त्यो सञ्चारमाध्यमहरुले दलीय कुरालाई प्रतिनिधित्व गर्छ । म कति पनि बिचलित भइन । हत्याप्रकरण समाचार खोजी गर्न छाडिन । सिडिओ र डिएसपि विवादमा तानिए । उनीहरु अन्यत्रै सरुवा भए । उक्त घटना पछि जिल्लामा चार सीडीओ र तीन डीएसपी फेरिए । घटना भएको डेढबर्ष बढि भयो । पत्ता लागेको छैन ।

आज महिला पत्रकारहरुले परिवार, समाज, मनोविज्ञानबाट माथि उठेपनि पुरुषका घटिया सोच र प्रवृतिले गर्दा मुलधारमा आउन सकेका छैनन् ।

त्यो बेला धेरै पत्रकारहरु दलीय रुपमा विभाजित थिए । एकअर्कामा दलीय प्रतिशोध साध्ने र त्यही प्रकारलाई दलीय समाचारहरुलाई पक्षपोषण गर्थे । मैले स्वतन्त्र रुपमा निष्पक्ष व्यवसायिक पत्रकारिता गर्दा दलका मान्छे र दलीय पत्रकार गर्नेलाई पटक्कै मन परेको थिएन । ग्रामिण पत्रकारिताको दुख एक हदसम्म त थियो नै । अर्को राजनीतिक कार्यकर्ताले गरेको गलत क्रियाकलाप र भ्रष्टचारका कुरालाई समाचार बनाउदा दलीय कार्यकर्ता र दलमा आवद्ध पत्रकारिता गर्नेहरुबाट निकै समस्या थिए ।

निष्पक्ष रुपमा समाचारहरु पस्कदा राजनीतिक कार्यकर्ताहरुबाट त्यसलाई खण्डन गर्ने र दलमा आवद्ध पत्रकारहरुले त्यो समाचारलाई गलत बनाउने प्रयास हुन्थे । अर्को म लैगिक रुपमा महिला र कम उमेर भएकै कारण मेरो परिपक्कता र क्षमतामाथि प्रश्न उठाउने दलमा आवद्ध महिला र महिला अधिकारको नाममा गलत क्रियाकलाप गर्ने महिलाहरुबाट नै समस्यामा परेका थिए । तर अग्रज पत्रकारले दिएको उत्साह, उर्जा, प्रोत्हासन र उहाले हिडाएको निष्पक्ष पत्रकारिताको लामो यात्रामा छु । जुन अविरल यात्रामा अगाडी लम्किरहने छु ।

उहाँले सिकाएको व्यवसायिक निष्पक्ष र स्वतत्र पत्रकारिताको बाटोमा अलिकति पनि विचलित नभई अगाडी बढने प्रयासमा छु । जुन मैले भोजपुर छदा पत्रकारितामा पाएको अवसर र चुनौती हुन् । जिवनमा अवसर र चुनौती संगसंगै अघि बढिरहेका हुन्छन् । पत्रकारिता त्यसैपनि दुखीया कर्म हो । तर आवाजविहिनहरुको मर्म बोल्ने आधार हो ।

आज नेपाली पत्रकारिताले हरेक नेपालीहरुको तनमनमा डेरा जमाएको छ । पत्रकारिताले विकृती, विसंगति, कुसंस्कार र वेतीथिका विरुद्ध खवरदारी गर्छ । देशमा अमनचयन, सुशासन कायम गर्न राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लाई एकैसाथ पत्रकारिताले निगरानी गर्ने भएकाले पनि पत्रकारिता चौथो अंगको रुपमा स्थापित भएको छ । अधिकार, न्याय र समतामुलक समृद्धिका पक्षमा पत्रकारिताले सधै वकालत गर्छ । पत्रकारिताले आवाज विहिनहरुको आवाजलाई वाहिर ल्याउने र उनीहरुको पक्षमा सधै कलम चलाउँछ ।

विगतका दिनहरुमा पत्रकारिताले प्रजातन्त्र र आन्तरिक लोकतन्त्र सुदृढिकरणका लागि योगदान दियो । राजनीतिक परिवर्तनको भुमिका निभायो । विभिन्न कालखण्डलाई छलागं मार्दै पत्रकारिता अहिले सामाजिक परिवर्तनको अवस्थामा आएको छ । आजको आवश्यकता यहि सामाजिक परिवर्तन भएकाले पनि पत्रकारिताको क्षेत्र यता सोझिएको छ ।

यसले नेपाली पत्रकारिताको जगतमा धेरै आशातित सुधार गरेको छ । धेरै मिडियाहाउसहरु खुले खुलिरहेका छन् । जसको कारण कुनाकन्दराको जनताहरुलाई सुसुचित बनाएको छ । धेरै संख्यमा पत्रकारहरुको संख्यामा बृद्धि भएको छ । धेरै संख्यामा पत्रकारको बृद्धि भएपनि महिलाहरुको हकमा भने यो लागु भएको छैन । यसले पत्रकारितामा महिला सहभागिता कति र कुन अवस्थामा र किन भएन भन्ने प्रश्न चिन्ह खडा हुन्छ ।


२००७ सालको क्रान्ति, ०४७ हुदै ०६२-०६३ को जतिसुकै राजनीतिक परिवर्तनहरु भएपनि समतामुलक मानिएको देशमा महिलाको अवस्थामा आशा गरिएअनुरुप सुधार भएको छैन । महिलाका लागि समाज, परिवेश र अवस्था जस्ताको तस्तै छ । पत्रकारिता सिंगो देशको निर्णायक अंग हो । तर यहि पत्रकारितामा महिला पत्रकारहरुको अवस्था जर्जर छ । सहभागिताको हिसावमा दयनिय छ । पत्रकारितामा महिला सहभागिता फलामको चिउरा चपाउनु जस्तै बनेको छ ।

यसमा मुख्य समस्या समाजमा महिला पत्रकारलाई हेर्ने दृष्टिकोण र व्याप्त पुरुषप्रधान सोच र अवशेषहरु नै हुन् । पारिवारिक, सामाजिक, आर्थिक, मनोवैज्ञानिक, राजनीतिक जस्ता थुप्रै समस्याहरु छन् । तर य िमध्ये मुख्य कारण भनेकै पुरुषप्रधान सोचको हाबी हो । आज महिला पत्रकारहरुले परिवार, समाज, मनोविज्ञानबाट माथि उठेपनि पुरुषका घटिया सोच र प्रवृतिले गर्दा मुलधारमा आउन सकेका छैनन् ।


पत्रकारिता समतामुलक न्यायका लागि वकालत गर्ने संवैधानिक अंग हो । तर यहि अंगमा महिला सहभागिता एकदमै न्युन छ । मुलधारमा रहेका सञ्चारगृहमा त व्यवसायिक महिला पत्रकारलाई औलामा गन्न सकिन्छ । जिल्ला तहमा औलामा गन्न नपुग्ने अवस्था छ । कारण पुरुषप्रधान देशमा महिलाप्रति हाम्रो समाजले हेर्ने र देखाउने दृष्टिकोण, उठाउने चोर औला । क्षमता र सक्रियतामा पुरुषसरह प्रतिस्पर्धा गर्न सके पनि समाजले गरेको सिमांकनले तल रहनुपर्ने अवस्था हो ।

पूरुषप्रधान समाजमा योग्यता क्षमता र दक्षता भएपनि महिला भएकैमा सामाजिक रुपमा हेपिनुपर्ने विवशता छ । जिम्मेवार क्षेत्रको जिम्मा दिन नचाहने, महिलालाई अगाडी बढाए पुरुषहरु हेपिनुपर्ने, पछि पर्नुपर्ने डरले सञ्चारगृहहरुले सक्षमता र क्षमता हुदाहुदै पनि बायस गर्छन् । पछिल्लो समय संख्यात्मक र गुणात्मक हिसाबले बढिरहेका छन् । तर बर्षौसम्म क्षमतालाई प्रदर्शन गर्ने वातावरण नपाएर धुरुधुरु रोएर कुर्सी छोडेका घटनाहरुपनि प्रशस्त उदाहरणका रुपमा पाइन्छन् ।

पूरुषप्रधान समाज यतिवेला प्राकृतिक नियमको रुपमा उभिएको छ । जुन कुराहरु परिवर्तन गर्न प्राकृतिक नियमलाई साटफेर गर्नु जस्तै देखिन्छ । यसैले महिलालाई नमज्जाले कसेको छ । चुनौतीको खेती पत्रकारिता महिलाका लागि थप चुनौतीपुर्ण छ । महिला पत्रकार चाहेर पनि चुनौतीलाई पार गर्ने वातावरण छैन । सामाजिक बन्धन, शारीरिक बनावट र हेरिने दुष्टिकोणले झन चुनौती महिला पत्रकारका लागि छ । आज हामी एक्काइसौ शताव्दीको परिवेशमा छौ ।

अझ भनौ, ज्ञानविज्ञान र आधुनिकतामा छौ । महिला र पुरुष एकै रथका दुई पाग्रां भनिरहेका छौ । पत्रकारितामा लेखिरहेका छौ, आवाज बुलन्द गरिहेका छौ । तर यहि आवाजमा जानजान तगारो हालिरहेका छौ । रहर र भविष्य बुनेर आँट र हिम्मत कसेपनि पत्रकारितामा कुनै महिलाहरुको झुकाव कोपिलामै निमोठिन्छ । निमोिठदाँ निमोठिदै, चिमोटिदा चिमोटिदै काँडेतार नाघेर जम्न लागेका महिला पत्रकारका लागि चुनौती बनिदिन्छ । शारिरीक अवस्था पुरुषहरुको नजर र समाजले हेर्ने दुष्टिकोण । पत्रकारिताको चुनौतीसंगै सिंगो ज्यान र सौन्दर्यताले झन चुनौती थपिदिन्छ । 

समाचार लेखेकै भरमा महिलापत्रकारको इज्जतमाथि दाग लगाउने अनेक प्रपञ्च रचिन्छ । यौन दुव्र्यवहारको सिकार बनाइन्छन् । राजनीतिक दलका नेता, सरकारी कर्मचारीहरुले धाक धम्की देखाउने, लोभलालचमा फसाउने काम गरेर महिला पत्रकारहरुको भविष्यमाथि खेलबाड गरिरहेका हुन्छन् । यति मात्र हैन आफ्नै सञ्चारगृहका सहकर्मी पुरुष पत्रकारबाट गिद्धे नजर लगाइन्छ । जुन पुरुषसंग हरेक समाचारको समन्वय गरिहनुपर्ने हुन्छ । तीनै पूरुषसंग इज्जत लागि पौठेबाजी गर्नुपरिहेको हुन्छ ।

मेरो एकजना महिला सहकर्मीले हालै सुनाउनुभएको थियो, ‘पुरुष पत्रकारहरु महिलाको क्षमताभन्दा पनि शरिर र सौन्दर्यताप्रति झुकाव राख्छन्, त्यो मौका नपाए अभद्र शब्द प्रयोग गर्छन् ।’ पहिलो घटना के भएछ भने उनी समाचार कोर्डिनेटर कहाँ गएकी रहिछन् । कोर्डिनेटरले समाचार हेरिदिनुको साटो शिरदेखि पाउसम्म नजर लाएछन् । उनलाई अप्ठ्यारो लागेको रहेछ । दोस्रो घटना उनी त्यो साझ एक्लै महिला पत्रकार रहिछन् ।

अन्य सबै अग्रज पुरुष पत्रकार रहेछन् । उनले समाचार हेरिदिन आग्रह गरिछन् । जसलाई हेर्न लाएकी थिइन् । ती पुरुष पत्रकार ह्वास्ह्वास्ती गन्हाउने गरी मादक पदार्थ सेवन गरेर कार्यालय छिरेका रहेछन् । बेसुरमा महिला पत्रकारलाई पेल्नेगरी तीनले अन्य पुरुष पत्रकारसंग छाडा र अपशब्द प्रयोग गरेछन् ।


यसैगरी पुरुष पत्रकारहरुले चाहेको व्यवहारमा संलग्न नभए जागिरबाट निकालिदिने, इज्जतकोे धज्जी उडाउने जस्ता अनेक धम्कीको सामना गर्नुपरिहेको हुन्छ । महिला पत्रकारहरुलाई मानसिक रुपमा टर्चर दिने, उनको कामप्रति कुनै न कुनै बहानामा खोट लाइदिने गरेका छन् । उनमा नैराश्यता पैदा गर्ने गतिविधि गर्छन् । जो चाहि बर्षौदेखि एउटै सञ्चारगृहमा काम गर्दै आएका हुन्छन् । बिशेष रिपोर्टिङ सक्षम ठान्छन् । र सञ्चारगृह आफैले धानेको ठान्छन् । म आफैले पनि बेला बेला भोगेको छु ।

मैले मल्टिमिडिया गर्ने भएकाले जुनसुकै बीटको समाचार सामाग्री क्षमताले भ्याएअनुसार बनाउनुपर्छ । नसक्ने बीटको सामाग्री तयार गर्ने कुरामा बीट रिपोर्टरको साथ दिइन्छ । केहि समयअघि मैले मेरा लागि फरक बीटको भिडियो खिच्नुपर्ने भयो । बीट रिपोर्टरले बेलुकी अफिसमा आएर सुचना मागे । मैले जिम्मेवारीअनुसार ल्याएको सुचना दिए । उनले चाहेअनुसार आएको रहेनछ । जुन कुरा उनले मलाई अगाडी भनेका पनि थिएनन् । र त्यहि बिषयलाई लिएर कार्यकक्षमा पटक पटक होच्याए ।

मैले त्यसलाई सामान्य ठानिदिए । जब भोलीपल्ट बिहान पनि त्यहि कुरा दोहो¥याए मलाई साच्चिकै हेपेको अनुभव गरे । यो भन्दा अगाडी पनि मैले लेखेका केहि लेखहरुमा उनले नमज्जाले खिल्ली उडाएका थिए । यस्ता तिता तर यथार्थ अनुभव महिला पत्रकारले समाचारकक्षमा नभोगेका कमै मात्र होलान् । यस्ता चरणको काँडेतार नाघेर व्यवसायिक पत्रकारितामा जमिरहेका महिला पत्रकारले बीचैमा हात धुनुपर्ने बाध्यता छ ।


कडा प्रतिवाद गरेर दोस्रो चरण पार गरिरहेका, व्यवसायिक बनेकाहरुलाई अर्को तेस्रो चुनौती र जिन्दगीकै अन्तिम चुनौतीले घेर्न थालिसकेको हुन्छ । जुन चुनौती चिर्न एकप्रतिशत महिलाहरुको सहभागिता भेटाउन हम्मे पर्ने हुन्छ । पत्रकारितामा महिलाको उपस्थिती लगभग शुन्यमा झारिसकेको हुन्छ । विवाह, सामाजिक बन्धन र वैकल्पिक व्यवसायले विश्राम लगाईदिन्छ । विवाह आफैमा पनि बन्धन हो, अझ महिलाका लागि परिवन्द पनि हो । मानसिक, शारीरिक, पारिवारिक, आर्थिक र सामाजिक भुमिकाको भुमरी भित्र फस्नुपर्ने भएपछि पत्रकारितामा महिलाको उपस्थिती स्वत घट्छ । यसरी पत्रकारिताले महिला पत्रकारलाई नै समतामुलक आरक्षणमा अटाउन सकेको छैन ।


महिला पत्रकारको क्षमता, दक्षता र सक्रियतालाई वैवाहिक बन्धनले क्रियाशिलताबाट पन्छिन बाध्य बनाएका घटना पनि थुप्रै छन् । जिवनयापनका लागि पत्रकारिताको सट्टा वैकल्पिक व्यवसाय अंगाल्न पर्ने अवस्थामा पु¥याएको छ । यसले गर्दा मुलधारका सञ्चारमाध्यममा उपस्थिती र सक्रियताहरुलाई शुन्यमा पु¥याइरहेको छ । विवाहपछि घरपरिवार, र समाजले हेर्ने दृष्टिकोण र जिम्मेवारीको डरले पत्रकारिता छोड्नपर्ने समस्या छ । पत्रकारितामा आउन महिला र पुरुष दुवैलाई सहजै छ । तर पत्रकारितामै टिक्नका लागि महिला पत्रकारलाई चुनौतीपुर्ण छ ।

आजपनि मुलधारका सञ्चारमाध्यमले न्युनतम पारिश्रमिक दिन सकेका छैनन् । महिला पत्रकारलाई परिवार, पत्रकारिता र समाजको जिम्मेवारी छ । पुरुष पत्रकारहरुले जिम्मेवारीबाट विमुख गराउने, क्षमता विकासमा महिला पत्रकारलाई अवसर नदिइने, तलब सुविधामा विभेद गर्ने जस्ता थुप्रै कारण र समस्याहरुले गर्दा महिला पत्रकारहरु क्षमता र दक्षताको प्रदर्शनबाट टाढिन बाध्य छन् । अवसरसंगैका चुनौतीलाई चिर्न फेरी पनि असम्भव भन्ने पक्कै छैन ।

(लेखक नेपाल पत्रकार महासंघ भाेजपुर शाखाकी उपाध्यक्ष हुन् ।
यो लेख नेपाल पत्रकार महासंघको महिला राष्ट्रिय सम्मेलन बिशेषांक माघ, २०७५ बाट साभार गरिएकाे छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *