दक्षिण एशियाली युवा एकै मञ्चमा

प्रवास

बझाङ : हालै नेपाल सहित दक्षिण एशियाली आठ देशका १५ देखि २५ वर्ष उमेर समुहका १९८ युवाले आफ्नो देशको राष्ट्रपति वा प्रधानमन्त्री पदमा नेतृत्व गर्ने मौका पाएमा दक्षिण एसियामा आफ्नो भुमिका कस्तो हुने बारेमा साझा धारणा राखे ।

दक्षिण एसियामा शान्ति अभियन्ता एडमिरल रामदास, करामत अली र तपन बोसको स्मृतिमा गत अगस्ट १२ मा आयोजित पहिलो संस्करणको यस कार्यक्रममा एकसाथ अनलाइनमार्फत सहभागी उनीहरुले “यदी म मेरो देशको राष्टपति वा प्रधानमन्त्री भए दक्षिण एसियाका लागि मेरो भिजन” शीर्षकमा भिडियो मार्फत दुई देखि पाँच मिनेटका विचार प्रस्तुत गरे ।

अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका युवाहरूले कार्यक्रममा बोल्दै नयाँ तथा व्यावहारिक सुझावहरु राखे । हरेक देशबाट छानिएका उत्कृष्ट दुई–दुई गरी १६ भिडियोको प्रत्यक्ष प्रसारण गरिएको थियो । त्यसपछि ३० वर्ष मुनिका आठ युवाबीच प्यानल बहस भयो ।

भिडियो तथा प्यानल मार्फत उनीहरुले लगभग शुन्य सक्रियतामा पुगेको सार्कलाई पुनर्जीवित र सशक्त बनाउने, द्धन्द्ध र घृणालाई अस्वीकार गरी प्रेम र भ्रातृत्वलाई अंगाल्ने, जलवायु परिवर्तनलाई सीमापारको संयुक्त चुनौतीका रूपमा सम्बोधन गर्ने, लैङ्गिक न्याय, धार्मिक सहिष्णुता र आर्थिक सहकार्यलाई प्राथमिकता दिने, शिक्षा, स्वास्थ्य र ‘सफ्ट बोर्डर’ मार्फत यात्रा, व्यापार र सांस्कृतिक आदान–प्रदानको सहजता सिर्जना गर्ने, लगायतमा साझा प्रतिबद्धता व्यक्त गरे ।

सो कार्यक्रमको रेकर्डेड भिडियो युट्युबमा उपलब्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *