बझाङ-बझाङमा वडा तहदेखि नै उम्मेदवार छनोटमा एमाले अगाडि छ भने सत्तारुढ दल अझै अनिर्णीत रहेको छ । पाँचदलीय गठबन्धन एमालेको गढ मानिएको क्षेत्रमा साझा उमेदवार उठाएर उसको विरासत भत्काउने रणनीतिमा अग्रसर देखिएका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोट गर्नमा व्यस्त छन् । एमालेले वडातहदेखि नै उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ । सत्तारूढ दलबीच गठबन्धनको अन्योलताले उम्मेदवार छनोट प्रक्रिया नै अलमलमा परेको छ । सत्तारूढ दलबीच गठबन्धनबारे केन्द्रीय तहमा निर्णय भए पनि जिल्लामा दलहरू अनिर्णीत भएका छन् ।
उनीहरूले उम्मेदवार छनोटको प्रारम्भिक कार्य पनि सुरु गर्न सकेका छैन्न । जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, साइपाल गाउँपालिका, मष्टा, वित्थडचिर, तलकोट, मष्टा गाउँपालिका लगाएत अन्य स्थानियतहहरुमा पनि एमालेले उम्मेदवारको छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । तर सत्तारूढ दलको गठबन्धन अलमलमा नै छ ।
स्थानीय तह निर्वाचन मिति नजिकिँदै उम्मेदवारबारे छलफल तीव्र पारेका प्रमुख दलले निर्णय गर्न सकेका छैनन् । नेकपा एमाले जिल्ला कमिटी बझाङले बैशाख ४ गते सम्म स्थानियतहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न वडा र पालिका कमिटीलाई परिपत्र गरेको छ ।
अहिले बझाङमा गठबन्धनले एमालेको गढ भत्काउने गरी चुनावी रणनीति बनाइरहेका छन ।
तर गठबन्धनको मोडालिटी भने अझैसम्म तय भैसकेको छैन । गठबन्धनका नेताहरुका अनुसार गठबन्धनका दलको मतका आधारमा सिट बाँडफाँट हुनेगरी सहमति हुन सक्ने अनुमान गरिएको छ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा जिल्लामा सत्तारूढ गठबन्धन दलका नेताहरू छलफलमा व्यस्त देखिएका छन ।
नेताहरू छलफलमा व्यस्त भइरहँदा कार्यकर्ताहरू भने कुन पार्टीले कुन स्थानीय तहको नेतृत्व पाउला भन्ने हिसाब किताबमा व्यस्त देखिन्छन् ।
गठबन्धनका दलहरुमा ‘आफ्नो गोरूको बाह्रै टक्का’ भनेझैँ दलहरूले आ–आफ्नो दाबीलाई कुनै पनि कम्प्रोरमाइज नगरेपछि दिन प्रतिदिन बसिरहेका बैठक खासै निष्कर्षमा पुगिरहेका छैनन् । बझाङमा गठबन्धनको संयन्त्रमा चार दलहरूको उपस्थिति रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा छलफलमा रहेका छन ।
बझाङमा दुईवटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा पालिका रहेका छन् भने ९४ वटा वडाहरू रहेका छन ्। नेपाली कांग्रसले जिल्लाका दुई वटा नगरपालिका सहित ८ वटा पालिकाको प्रमुख र ६० वटा वडाको वडाअध्यक्षहरू पाउनुपर्ने दाबी गरेको पार्टी नेपाली काँग्रेसका नेताले बताएका छन् ।
त्यसैगरी, बैठकमा नेकपा माओवादी केन्द्रले एउटा नगरपालिका सहित ४ वटा पालिकाको प्रमुख पाउनुपर्ने दावी पेश गरेको गठबन्धनका नेताहरुले बताएका छन् । नेकपा एकीकृत समाजबादीले दुईवटा नगरपालिका सहित ४ वटा पालिकाको नेतृत्वको माग दाबी गरेको बताइएको छ । जसपाले एउटा वडाको वडा अध्यक्षको दाबी गरेको जानकारी दिएको छ ।
नेकपा एमाले भने बझाङमा स्थानियतह निर्वाचनमा एक्लै लड्ने भएको छ । नेकपा एमालेका नेताहरुले अहिलेसम्म कुनै पार्टीले पनि सहकार्य गर्ने भन्दै प्रस्ताव नल्याएको बताएका छन् । पहिले गठबन्धनले के गर्छ त्यसपछि मात्रै चुनावमा के कसरी जाने भनेर छलफल गरिने बताएका छन् । एमालेले मेयर र उपमेयरमा जितेको जयपृथ्वी नगरपालिका तर्फ अहिले धेरैजसो दलले आँखा लगाएका छन् ।
नगरपालिकामा गठबन्धनमा रहेका सबै दलहरुले आफू बलियो रहेको दाबी गर्न थालेका छन् । नेकपा एमाले जिल्ला कमिटी बझाङले बैशाख ४ गते बस्ने जिल्ला कमिटीको बैठक सम्म स्थानियतह निर्वाचनका लागि उम्मेदवार छनोट गरि पठाउन सम्वन्धित वडा तथा पालिका लाई आज परिपत्र गरेको छ ।
