रिदम सिंह, बझाङ । किशोरकिशोरी रुपान्तरण कक्षाको आज सरोकारवालाहरुले अनुगमन गरेका छन् । जयपृथ्वी नगरपालिका भित्र रहेका विभिन्न किशोरकिशोरी समुहहरुले सञ्चालन गर्दै आइरहेका रुपान्तरण कक्षाको आज अनुगमन गरिएको हो । आज जिल्ला समन्वय समितीका प्रमुख लगाएत जयपृथ्वी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, विषयगत शाखाका प्रमुखहरुले अनुगमन गरेका हुन् ।
जयपृथ्वी नगरपालिका वडा नं. ९ मा रहेको रिठापाठा किशोरी समुहको जाल्पा माविमा आज अनुगमन गरिएको हो । अनुगमनका क्रममा बोल्दै जिल्ला समन्वय समिती प्रमुख खडक बहादुर खड्काले किशोरीहरुका लागी संञ्चालन गरिएको रुपान्तरण कक्षाले उनीहरुको क्षमता विकास, समाजमा हुने विकृती विसंगती विरुद्ध खरो आवाज उठाउने गरेको बताउनु भयो ।
आगामी दिनहरुमा पनि यस्ता प्रकारका कार्यक्रमहरुलाई समाजमा सशक्त ढङ्गले लिएर किशोरकिशोरीहरुमा हुने विभिन्न भेदभावहरुलाई निमुल पार्नका लागी सवैले साझा आवाज उठाउनु पर्ने बताउनु भयो ।
यस्तै अनुगमनका क्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र बहादुर खड्काले कार्यक्रमले समाजमा बालविवाह रोक्नका साथै अभिभावकहरुमा वालविवाह गर्नुहुन्न भन्ने राम्रा छाप पारेको बताउनु भयो । उहाँले किशोरकिशोरी यौन तथा प्रजनन् शिक्षा र अन्य लैङ्गिकता, हिंसाका क्षेत्रमा पनि उल्लेख्य प्रगती भएको बताउनु भयो । युएनएफपिए र पीसवीन नेपालको सहकार्यमा अहिले जिल्लाका दुइ वटा पालिका जयपृथ्वी नगरपालिका र वित्थडचिर गाँउपालिकामा किशोरकिशोरी र लैङ्गिक हिंसाका क्षेत्रमा का मगर्दै आएको छ ।
