विद्या राई
काठमाडौं । लामो समयसम्म लगातार खडेरी पर्ने, समयमा पानी नपर्ने, हिउँदमा हिउँ कम पर्ने तथा बालीनालीमा नयाँ नयाँ रोगकिरा लाग्ने जस्ता कारणले उब्जनी हुन छाडेको दृष्टान्त हो यो । २०७७ सालको हिउँदमा परेको खडेरीका कारण उत्पादन शुन्य भएपछि १४ हजार परिवारले चरम खाद्य संकट व्यहोरीरहेको कृषि ज्ञान केन्द्र बझाङको अभिलेख छ । जलवायु जन्य कारणले वर्षेनी कृषि उत्पादन घट्दा कृषि पेशामा निर्भर यहाँका महिला र बालबालिकाहरु खाद्य संकटको बढि मारमा छन् ।
नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने बझाङ जिल्लाको ८० प्रतिशतभन्दा बढी भूभाग उच्च पहाडी र हिमाली क्षेत्रमा पर्दछ । जिल्लाको तल्लो भेगमा हिउँ पर्न छोडिसकेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पहिलेको तुलनामा निक्कै कम मात्रै हिउ पर्छ । यसको सोझो असर खेतीपातीमा परेको छ । उब्जनी घटेपछि यहाँका मानिसलाई विहान बेलुकीको छाक टार्न मुस्किल हुन थालेको छ । स्थानीयहरु भोक मेटाउनकै लागि वर्षेनी हजारौं संख्यामा भारतमा मजदूरी गर्न जान्छन् ।
भोकमरीले यहाँका गर्भवति, सुत्केरी, पाँच बर्षमुनिका बच्चा र किशोरीमा कुपोषणको समस्या छ । जिल्ला अस्पताल बझाङमा हरेक महिना ३ देखि ५ जना कुपोषणका विरामी भर्ना हुन्छन् ।
पुरा स्टाेरी पढ्नुहाेस् – बझाङका १४ हजार परिवारलाई खाद्य संकट, महिला र बालबालिका बढि मारमा
बझाङमा खाद्य संकटको कारण खडेरी मात्रै होइन । कमजोर र भिरालो भुबनोट भएकाले बाढी पहिरोको जोखिम पनि रहेको यहाँका भौगर्भिक इन्जिनियर कमल थापा बताउँछन् । लामो समयपछि एक्कैचोटी ठुलो पानी पर्दा घर, खेत र बस्ती बगाउँने पहिरो जान्छ । बझागींले बर्षेनी भोग्ने यो जोखिमबारे सरकारी अध्ययन हुन सकेको छैन ।
जलवायु परिवर्तनका यस्ता सवालबारे संयुक्त राष्ट्र सघको महासन्धिका पक्ष राष्ट्रहरुले सम्मेलन गर्दै आएका छन् । जलवायु परिवर्तन सम्बन्धि २६ औं सम्मेलन (कोप २६) आगामी नोभेम्बर १ देखि १२ सम्म बेलायतको ग्लास्गोमा हुन लागेको छ । यहाँ जलवायु परिवर्तनसंग जोडिने महिला, सीमान्तकृत, समावेशिता लगायतका मुद्धाहरु उठान गर्ने उदेश्य राखिएको जनाएको छ ।
(यो भिडियो रिपोर्ट ब्रिटिस काउन्सिलको जलवायु परिवर्तनमा महिला रिपोर्टर अनुदान सहयोगमा तयार पारिएको हो ।)
1 thought on “जलवायु परिवर्तन र खाद्य संकटकाे जाेखिममा बझाङका महिला-बालबालिका (भिडियाे रिपाेर्ट)”