हिमाली तथा उच्च पहाडी भेगमा हिउँ कम पर्न थालेपछि उत्पादन घट्न थाल्यो । यसले निम्तिएको खाद्यसंकटले महिला, बालबालिका, विपन्न तथा गरिब परिवारहरु दोहोरो तेहेरो मारमा परेका छन् ।
विद्या राई
काठमाडौं । खेतमा लहलह धान गहुँ फल्थ्यो । गहत, मास, कला (केराउ), मसुरो फल्थ्यो । करेसाबारी सिजन अनुसारका सागसब्जीले हराभरा हुन्थे । बझाङको थलारा गाउँपालिका पाराकाट्नेकी देवकी विकको पाँच जनाको परिवारलाई आफ्नै उत्पादनले बर्षभरी खानलाई समस्या थिएन । केही वर्ष यता लगातार खडेरी पर्न थाल्यो, बारीको उब्जनी घट्दै आयो । विहान बेलुकीको छाक टार्न मुस्किल हुन थाल्यो ।
‘पहिला जस्तो पानी पर्दैन, अचेल बर्खामा पनि उब्जनी हुनै छाड्यो, हिउँदेवाली त झन राम्रो सँग उम्रिनै छोड्यो’ उनले भनिन्, ‘दालचामल, तरकारी सबै किनेरै खानुपर्ने अवस्था छ, यहाँ मजदुरी गरौ भने काम पाइदैन, बड्डा(श्रीमान) इन्डिया (भारत) गएका छन् ।’ कुराकानीको क्रममा उनले सुत्केरी अवस्थामा पोषिलो खाना नपाएका कारण आफ्नो स्वास्थ्य विग्रिएको सुनाइन् ।
पछिल्लो पटक (पाँच बर्षकी अघि) सुत्केरी हुदा पोषिलो खानेकुरा पुगेन । माछा मासु, फलफुल, तरकारी किनेर खान पैसा थिएन ।उमेरले उनी ३३ बर्षकी भइन् । अचेल शरिर कमजोर भएको महसुस हुन्छ । कहिलेकाही सहनै नसक्ने गरी पिठ्यु, कम्मर दुख्छ । हातखुट्टा सुनिन्छ । आ“खा तिर्मिराउने हुन्छ । चार बर्षको छोरोलाई पनि बेला बेला झाडापखालाले सताउछ । खान मन गर्दैन । ‘सुत्केरी हुदाँ रुखोसुखो खाइयो, अचेल ज्यान रोगको घर भएको छ,’ उनले भनिन् ।
दिनदिनै कमजोर हुन थाले पनि उनी छोरो लिएर स्वास्थ्य चौकीमा जाँच गर्न गइन । सुत्केरीको समयमा पर्याप्त खाना र स्याहार नपुगेकोले आमा छोरालाई स्वास्थ्यमा समस्या देखिएको स्वास्थ्यकर्मीले भने । हरिया तरकारी, सागसब्जी, सिजन अनुसारका फलफुल खान सुझाए । तर समस्या उही । राम्रो बर्षा भयो भने असार, साउन र भदौमा बारीमा फर्सीका मुन्टा, रायो सप्रिन्छ । बाँकी नौ महिना बारी सुख्खा ।
रिपोर्टिङको क्रममा भेट्दा उनी स्थानीय विद्यालय भवन मर्मतका लागि ढुंगा ओसार्दै गर्दा भेटिएकी थिइन् । यसबाट कमाएको पैसाले चामल किन्ने र केटाकेटीको लुगा फेरीदिने उनले सुनाइन् । बिहान उठेदेखि घाम नडुबेसम्म खेतबारीमा काम गर्ने उनी अचेल सडक खन्ने, ढुंगा, गिटी, बालुवा बोक्ने ज्यालादारी काम गर्छिन् । बारीमा उत्पादन राम्रो हुदाँ उनी गहुँ, जौ, मसुरो लगायत सिजन अनुसारका बाली काट्ने, चुट्ने, छ्वाली र भुस्सा थन्काउने काममा व्यस्त हुन्थिन् । कुटे, कोदालो, आँसी (हँसिया) चलाउने हातले अचेल दिनहुँ घन, साबेल, बेल्चा उठाउँछन् । खानकै दुखले उनका पति भारतमा मजदुरी जान थालेको १० बर्ष भयो ।
जयपृथ्वी नगरपालिका १, कैलाशकी रुमला बिष्टको परिवार पनि उही चपेटामा छ । १५ वर्षअघि हरेक साल हिउँदमा गह्राका फाँटहरु सेताम्मे हिउँले ढाकिन्थे । हिउँपानीले पुग्ने गरी जमिन भिजाउथ्यो । बबेनी फाँटमा रुमला परिवारले मनग्य गहुँ फलाउँथे । एक सिजनमा १५/२० क्विन्टल गहुँ मात्र बेच्थे । परिवारका सबैलाई लुगालत्ता र नुनतेल खर्च यसैबाट उठ्थ्यो । उनले ०६३ सालतिरको कुरा सम्झँदै भनिन, ‘अहिले आफैले खानलाई पनि किन्नु पर्ने अवस्था छ ।’बबेनी फाँट प्रत्येक हिउँदमा बाँझै हुन्छ ।
‘हिउँ पर्न छोड्यो, जग्गा बाँझै छ,’ बिष्टले दुखित हुँदै भनिन् । उनीजस्तै यस गाउँका करिब १ सय ५० परिवारको पाँच सय रोपनीभन्दा बढी जग्गामा हिउँदमा खेती हुन छाडेको १५ वर्षभन्दा बढी भैसकेको छ । पहिला वर्षभरी खान पुगेर बढी भएको बेच्नेहरु पनि अहिले किनेर खान बाध्य छन् । थोरै खेतबारी भएकाले त्यतिखेरै वर्षभरी नपुग्नेहरुलाई त झन समस्या भएको छ । एकाएक हिउँ पर्न छाडेपछि यहाँका स्थानीयहरु अचम्मित छन् । २०५० सालसम्म पनि फाँटमा मान्छे डुबाउँने हिउँ पर्ने गरेको ७० वर्षीया रेलकला सिंहलाई अझै सम्झना छ । ‘अचेल के भयो कुन्नी हिउँ पर्नै छोड्यो, खेतीपाती हुनै छाड्यो’ उनले भनिन् ।
देवकी, रुमला र रेलकलाको कथाले समयमा पानी नपर्ने, हिउ कम पर्नेजस्ता जलवायु परिवर्तनका कारण बढ्दै गएको भोकमरीलाई उजागर गर्छ । साथै भोक मेटाउनकै लागि वर्षेनी हजारौं संख्यामा भारतमा मजदूरी गर्न जाने बझाङ्गीहरुको तितो यथार्थलाई देखाउँछ । पर्याप्त पोषणयुक्त खाना नपाएर यहाँका मानिसमा निम्तिएको स्वास्थ्य समस्यालाई बताउँछ ।
‘हाम्रोजस्तो कृषिमा निर्भर देशमा खाद्यसंकट निम्तिनुमा जलवायु परिर्वतनको महत्वपुर्ण भुमिका रहन्छ,’ वन तथा वातावरण मन्त्रालयकी सहसचिव तथा जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख राधा वाग्ले भन्छिन्, ‘हामीसँग बाली लगाउने र खाद्य भण्डारण गर्ने परम्परागत ज्ञान र अभ्यास छ, बर्षात हुने चक्र फेरिँदा परिवर्तित मौसम अनुकूलन गर्न सक्दैनौं, यसले महिला र बालबालिकाको पौष्टिक आहारमा कमी ल्याउँछ, स्वास्थ्यमा असर ल्याउँछ ।’
जिल्ला अस्पताल बझाङका डाक्टर योगेन्द्र खातीका अनुसार पर्याप्त पोषिलो खाना नपुगेर बझाङका बिशेषगरी गर्भवति, सुत्केरी, पाँच बर्षमुनिका बच्चा र किशोरी कुपोषणको समस्याले ग्रस्त छन् । युनिसेफ नेपाल, राष्ट्रिय योजना आयोग र केन्द्रिय तथ्यांक विभागले ल्याएको ‘मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०१९’ ले सुदूरपश्चिममा पाँच वर्षमुनिका बालबालिकामा ५ प्रतिशतले पुड्कोपन वृद्धि भएको देखाएको छ । यहाँ पाँच वर्षमुनिका ४१ प्रतिशतमा पुड्कोपन छ । ‘राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६’ मा पुड्कोपन भएका बालबालिका ३६ प्रतिशत थिए । सन् २०१६ को भन्दा सन् २०१९ मा सुदूपश्चिममा ५ प्रतिशतले पाँच वर्षमुनिका बालबालिकामा ख्याउटेपन र कमतौल बढेको छ ।
नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने बझाङको ८० प्रतिशतभन्दा बढी भूभाग उच्च पहाडी र हिमाली क्षेत्रमा पर्दछ । यहाँको तल्लो भेगमा हिउँ पर्न छोडे पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले पनि हिमपात हुन्छ । तर पहिलेको तुलनामा निक्कै कम । हिउँ पर्न छोडे पछि यसको सोझो असर खेतीपातीमा परेको छ । वित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले भनिन्, ‘हिउँ पर्न छोडे पछि, हाम्रो पालिकाको ५० प्रतिशत भन्दा बढी जमिन हिउँदमा बाँझै हुने गरेको छ ।’
त्यस्तै समयमा पानी नपर्ने, लामो समय खडेरी पर्ने, जमिन भिज्नेगरी हिउँ नपर्ने कारण बालिनालीमा लाग्ने रोग र किराहरुको प्रकोप बढ्दै गएको किसानहरुको अनुभव छ । रातो कमिला, धिउरा (धमिरा), खुर्मुला जस्ता किराले बालिनाली सखाप पार्ने गरेका छन । कालोकिट, सिंन्दुरे, पंहेले जस्ता रोगले हिउँदेबालीमा समस्या पार्ने गरेको छ । खडेरीकै कारण गाउँमा खुसार्नी खेती हुन छाडेको बर्षौ भैसक्यो । ‘सुरुमा राम्रो संग हुर्किएको खुसानी फुल फुल्ने बेला ओइलिएर मर्छ, हामीले खुर्सानी लगाउनै छोडेको १० वर्ष जति भैसक्यो’ माटो खनेर हेर्दा लार्भा जस्तो कालो किरा भेटिने गरेको र विषादी प्रयोग गर्दा पनि यसको नियन्त्रण नहुने गरेको वित्थडकी मनसरा खडायत बताइन् ।
लामो खडेरीको चपेटामा परेका किसानलाई असिना पानीले पनि दुख दिने गरेको छ । बझाङमा पोहोर बैशाखमा एक्कासी ठूलो असिना प¥यो । सिँचाइ भएका ठाउँमा फलेका गहुँ, जौ, मुसुरोलगायत बालीमा असिनाले ठूलो क्षति पुग्यो । भर्खरै फुलेका स्याउ, नास्पाती, आँप, आरु लगायतका फलफूल र तरकारी बाली पनि नष्ट भए । ‘खडेरीले उसै पनि हिउ“दे बाली सखाप पारिसकेको थियो, बचेको गहुँ र जौ पनि चुटेर ध्वस्त बनायो,’ कैलाशका किसान कला विष्टले भनिन् ।
कृषि तथा खाद्य सुरक्षा अनुसन्धानकर्ता सुजाता तामाङको बुझाई पनि त्यस्तै छ । महिला, सिमान्तकृत समुदायहरु प्रत्यक्ष रुपमा खेतीपातीमा निर्भर छन्, प्राकृतिक स्रोतमा निर्भर छन् । तर उनीहरुसंगै जमिनमाथिको पहुँच कम छ, खोलाको छेउमा, भिरालो, अप्ठेरो जोखिम ठाउँमा खेती छ । ‘उसै पनि कम उत्पादन हुन्छ, खानको धौधौ परिरहेको छ, जलवायु परिवर्तनले गर्दा उत्पादन घट्दै गैरहेको अवस्थामा तिनै महिला, सिमान्तकृतलाई नै असर पुग्छ ।’
खडेरीका कारण बालीनाली सुकेको बारे स्थलगत अध्ययन गरिरहेको एक टोलीका अनुसार सिँचाइ सुविधा नभएका ठाउँहरूमा खडेरीले नराम्ररी असर पारेको छ । ‘९० प्रतिशतभन्दा बढी किसानले हिउदेबाली देख्नसमेत पाउन छाडेका छन्,’ सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजकसमेत रहेका अध्ययन टोलीका एक सदस्य बलबहादुर रोकायाले भने, ‘कृषिकै भरमा जीवन चलाइरहेका सयौं परिवार यो वर्ष भोकमरीको चपेटामा पर्ने देखिएको छ ।’
कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर बिष्टका अनुसार यो बर्ष खडेरीका कारण उत्पादन शुन्य भए पछि १४ हजार परिवारले चरम खाद्य संकट व्यहोरीरहेका छन । जिल्लाभरि १५ हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा गहुँ, जौ, केराउ, मसुरो, तोरीलगायत बाली खेती गरिएकामा ६ हजार २ सय २४ हेक्टर क्षेत्रफलको उत्पादन शून्य रहेको ज्ञान केन्द्रको तथ्यांक छ । खडेरीका कारणले ३२ करोड ६७ लाख ६० हजार बराबरको ९ हजार ३ सय ३६ मेट्रिक टन हिउँदे बाली नष्ट भएको छ । यहाँ सामान्य अवस्थामा वार्षिक उत्पादन ३२ हजार मेट्रिक टन हुने गर्छ । गतबर्ष जिल्लामा उत्पादित खाद्यान्नले नपुगेर ७ हजार मेट्रिक टन अपुग भएको थियो ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को ‘विश्वका बालबालिकाको अवस्था २०१९ः बालबालिका, खाना र पोषण’ प्रतिवेदनले नेपालमा गरिबी, शहरीकरण, जलवायु परिवर्तन र कमसल खानेकुराले गर्दा ४३ प्रतिशत बालबालिका कुपोषित रहेको र दुई वर्षमुनिका दुईमध्ये एक बालबालिकाले कमसल खाना खाँने गरेको देखाएको छ । ‘खडेरीका कारण कृषिमा ८० प्रतिशत नोक्सानी र क्षति पुग्दछ र यसले बालबालिका र परिवारका लागि उपलब्ध खानेकुरासँगै त्यो खानाको गुणस्तर र मुल्यमा पनि नाटकीय प्रभाव पार्दछ,’ प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनका अनुसार, सबै खालका कुपोषणको सबैभन्दा ठूलो भार गरिब र सिमान्तकृत समुदायका बालबालिका र किशोरकिशोरीमा छ । सबैभन्दा गरिब परिवारका ५ मध्ये १ ले मात्र स्वस्थ विकासका लागि चाहिने खानेकुरा पर्याप्त मात्रामा खान पाउँछन् ।
बझाङमा खाद्य संकटको कारण खडेरी मात्रै होइन । बझाङका भौगर्भिक इन्जिनियर कमल थापाका अनुसार कमजोर र भिरालो भुबनोट रहेकोले बाढी पहिरोको जोखिम छ । उनी भन्छन्, ‘विकासको नाममा जथाभावी सडक खन्न डोजर प्रयोग गर्दा भुबनोट झन कमजोर भैरहेको हुन्छ, त्यहीमाथि लामो समयपछि एक्कैचोटी ठुलो पानी पर्दा घर, खेत र बस्ती बगाउँने पहिरो जान्छ ।’
०७७ असार १९ गते केदारस्युँ गाउँपालिका ८, मल्लेसीमा यस्तै भयो । अचानक मध्यरातमा आएको पहिरोमा परेर ७० परिवारको बसोबास रहेको मल्लेसी गाउँका २२ घर पुर्ण रुपमा क्षति भयो । खेती गर्ने जग्गा जमिन बग्यो । सात जनाको ज्यान गयो । सुरेस जेठारा पहिरोले बचेको पा“च आना जति जग्गामा टहरो लगाएर बसेका छन् । ‘पहिरोले तरकारी लगाउने सडो (सानो करेसो) पनि बाँकी रहेन, सधैं किनेर खान पनि सकिदैन,’ उनले दुखेसो पोखे । वातावरणीय पक्षलाई ख्याल नगरी सडक निर्माणमा गर्दा ८ हजार रोपनी भन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको कृषि ज्ञान केन्द्र बझाङको तथ्यांक छ ।
खेती हुन छाडेपछि कमाउन भारत गएकाहरुलाई कोरोना महामारीले सताएको छ । थलारा गाउँपालिकाका मदन नेपाली ०७६ को दशैतिहार मनाएर मंसिरमा मजदूरी गर्न भारत गए । पाँच महिना नबित्दै कोरोना महामारीले टिक्न दिएन । उनी होटलमा भाँडा माझ्ने काम गर्थे । महामारीले गर्दा होटल बन्द भए । काम खुल्ला भन्ने आशैआशमा पहिलो पाँच महिना बिताए । अलिअलि भएको पैसा पनि सकियो । महामारीको संक्रमण झन झन बढेपछि घर फर्किए । उनैमाथि भर परेर बसेका परिवार खानकै पिरलो छ ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मा जलवायु परिवर्तन तथा खाद्य सुरक्षा कार्यक्रमको संयोजक प्रगति शर्मा भन्छिन्, ‘उनीहरु मात्रै होइन, खाद्यसंकट टार्न परदेशिएकाहरु कोरोना महामारीले रित्तो हात फर्कदा सुदूरपश्चिम तथा देशभरी भोकमरीको जोखिम बढेको छ ।’ २०२० अक्टोबरमा प्रकाशित विश्व भोकमरी प्रतिवेदन अनुसार विश्वका १०७ देशहरुमा नेपालको खाद्य सुरक्षा स्थिती १९.५ स्कोर सहित ७३ औ स्थानमा छ । यसको अर्थ नेपालमा भोकमरी कायमै छ ।
जलवायु परिवर्तनले रैथाने बालीनाली हराउदै जान्छन्, खाने मुखहरु बढ्दैछन् । नेपालमै पनि ५० प्रतिशतभन्दा बढी रैथाने जातका बाली नाश भइसकेको नार्कको आकलन छ । जलवायु परिवर्तनको अनुकुलन र न्युनीकरण नअपनाउने हो भने ५० बर्ष पछाडी भोकमरीको अकल्पिनिय स्थिती आउन सक्ने कृषि तथा खाद्य सुरक्षा अनुसन्धानकर्ता सुजाता तामाङको आकलन छ ।
उनले जलवायु परिवर्तन र खाद्य सुरक्षाको सवाललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सघको संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुले सम्मेलनहरुमा उठाउँनुपर्ने बताउँछिन् । ‘जलवायु परिवर्तन विश्वको मुद्धा हो, यसले मान्छेको जिविकामा पार्ने मुद्धालाई मुलधारमा ल्याइनुपर्छ,’ उनले भनिन् । त्यसबाट सरकारले नीतिमा परिवर्तन गर्नुपर्छ । कार्यान्वयन गर्न नागरिकहरु, नीजि तथा विकास सा“झेदारहरुलाई परिचालन गर्नुपर्छ । जलवायु परिवर्तन सम्बन्धि २६ औं सम्मेलन (कोप २६) आगामी नोभेम्बर १ देखि १२ सम्म बेलायतको ग्लासोमा हुदैछ । कोप २६ ले जलवायु परिवर्तनसंग जोडिने महिला, सीमान्तकृत, लक्षित वर्ग, समावेशिता लगायतका मुद्धाहरु उठान गर्ने उदेश्य रहेको जनाएको छ ।
१६ बर्षदेखि विपद् जोखिम न्युनीकरण तथा जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएकी विज्ञ कृष्णा कार्कीले जलवायु परिवर्तनलाई अनुकुलन र न्युनीकरणमा सरकारले पर्याप्त अध्ययन अनुसन्धानहरु गरेर कृषि क्षेत्रमा लागु गर्नुपर्ने बताइन् । सुख्खा सहने, बर्षात सहने बालीहरुको विकास गर्ने, पानीको मुहान जोगाउने, बृक्षरोपण गर्ने, स्थानीय बीउ जोगाउने, बर्षातको पानी जम्मा गर्ने, खेतीबालीमा परिवर्तन गर्ने ज्ञानहरु फैलाउनुपर्छ, संस्थागत गर्नुपर्छ ।
पहिले असारमा खेती हुन्थ्यो, भने अहिले खेती सिजन साउन, भदौ तिर सरेको छ, कहिले पानी परेर खेतीमा झारैझारले ढाक्छ, कहिले डढेलो लगाएझै सुक्छ, यही अनुसार खेती गर्न सिकाउनुपर्छ । मौसम पुर्वानुमानको सुचना हरेक कृषकमा पु¥याउनुपर्छ, खडेरी, बाढि, पहिरोले हुने क्षतीबाट जोगाउन सकिन्छ । बिमाको व्यवस्था गर्नुपर्छ, यदि क्षती भइहाले क्षतिपुर्ती पाउँछन् । हाते ट्याक्टरजस्ता कृषि औजारहरु महिलामैत्री र कम खर्चिलो हुनुपर्छ ।
(यो आलेख ब्रिटिस काउन्सिलको जलवायु परिवर्तनमा महिला रिपोर्टर अनुदान सहयोगमा तयार पारिएको हो ।)
1 thought on “बझाङका १४ हजार परिवारलाई खाद्य संकट, महिला र बालबालिका बढि मारमा”