दुर्गम स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

साइपालखबर संवाददाता
बझाङ । ह्युमानिटी फाउन्डेसन नेपालको पहलमा बझाङका दुर्गम गाउँका स्वास्थ्य संस्थाहरुलाई अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । अक्सिजन अभावका कारण दुर्गम गाउँका स्थानियले ज्यान गुमाउन नपरोस भनेर विभिन्न संघ संस्थाबाट प्राप्त कन्सन्ट्रेटर लगायत सामाग्री बझाङका दुर्गम भेगका स्वास्थ्य संस्थालाई उपलब्ध गराईएको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसन मार्फत रोटरी कल्व अफ धनगढीले उपलब्ध गराएका ७ वटा अक्सिजन कन्सन्ट्रेटर मध्ये जिल्लाकै सबै भन्दा दुर्गम साइपाल गाउँपालिकाको स्वास्थ्य शाखा, केदारस्यूँ गाउँपालिकामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्र, बुङगल नगरपालिकाको स्वास्थ्य शाखा, तल्कोट स्वास्थ्य चौकी र मटेला स्वास्थ्य चौकीलाई एक एकवटा वितरण गरिएको छ । दुइवटा अक्सिजन कन्सन्ट्रेटर जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै फाउन्डेसनकै पहलमा सेभ नेपाल ग्लोवल एलाईन्सबाट प्राप्त एक थान अक्सिजन कन्सन्ट्रेटर जयपृथ्वी नगरपालिका १, मा रहेको कैलास स्वास्थ्य चौकीलाई दिइएको छ । कैलास स्वास्थ्य चौकीलाई दुइ वटा अक्सीमिटर, दुइवटा नेबुलाईजर मेसिन र २ हजार थान सर्जिकल मास्क समेत उपलब्ध गराईएको ह्युमानिटी फाउन्डेसनका सुदुरपश्चिम संयोजक दिर्घराज उपाध्यायले बताए । फाउन्डेसनको पहलमा एनआएन अष्ट्रेलियाले दिएको थप एक थान अक्सिजन कन्सन्ट्रेटर जिल्ला अस्पताल बझाङलाई दिइएको उनले बताए ।

कोरोना महामारी नभएको बेला पनि आपतकालिन अवस्थाका विरामीलाई अक्सिजन आवश्यक हुने र दुर्गममा अक्सिजनको सुविधा नहुने भएकोले विरामीले ज्यान गुमाउनु पर्ने अवस्था नआओस भनेर ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थालाई कन्सन्ट्रेटर उपलब्ध गराइएको उपाध्यायले बताए ।
फाउन्डेसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामाग्रीले महामारीको बेला मात्रै नभएर अरु बेला पनि विरामीको जिवन रक्षाको लागि ठुलो सहयोग पुग्ने जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए । ‘ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर ठुलो पुर्वाधारको रुपमा काम गर्ने छ’ उनले भने ‘अक्सिजनको अभाव भएका विरामीको जिवन बचाउन सकिने छ’ उनले दुर्गम भेगका गम्भिर अवस्थाका विरामीहरुलाई उद्धार नहुदा सम्म अक्सिजन कन्सन्ट्रेटरको सहायताले बचाउन सकिने बताए ।

आठ वटा १० लिटर र १ वटा ५ लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर बझाङमा वितरण गरिएको र फाउन्डेसन मार्फत वितरण गरिएका सामाग्रीको मुल्य २५ हाल भन्दा बढी रहेको छ । ह्युमानिनि फाउन्डेसनले संकटको वेलामा विभिन्न मानविय सहयोग गर्दै आएको छ ।

कोरोना महामारी तिव्र रुपमा फैलिएको बैसाख र जेठ महिनामा फाउन्डेसनले धनगढीमा अक्सिजन बैङक स्थापना गरेर सुदुरपश्चिम भरी अभाव रहेको क्षेत्रमा निशुल्क अक्सिजन वितरण गरेको थियो । कोेभिडको अघिल्लो लहर चलिरहेको वेलामा प्रादेशिक अस्पताल डडेल्धुरामा पिसिआर प्रयोगशाला स्थापना गर्ने लगायतका काम पनि फाउन्डेसनले गरी सकेको छ ।