बझाङमा सामूहिक तरकारी खेती (फाेटाेफिचर)

साइपालखबर संवाददाता
बझाङ । सधैजसो बाँझो देखिने जग्गामा अहिले लहलह तरकारी फलेको छ । बारी भरी कतै प्याज गोलभेडा, काँक्रा, फर्सी, ध्यू सिमी आदी लटरम्म छन ।

कतै भण्टा खुर्सानी, आदी तरकारी र्भखर फल्न थालेका छन । बन्दा, काउली, मकै र अर्काे छिमल सिमी उम्रिन थालेका छन । यो जयपृथ्वी नगरपालिकाको वडा नं ९, सिमखेत नजिक सेती किनारमा देखिएको दृष्य हो ।


प्राय बाँझो छोड्ने गरिएको यो जग्गालाई हराभरा बनाएका हुन, जनकल्याण देवल कृषक समुहका सदस्यहरुले । बरु जग्गा बाँझै छोड्ने तर सामुहिक खेतीमा पद्धतीमा विश्वास नगर्ने यस जिल्लाका कृषकको लागि देवलका किसानहरुले गरेको यो प्रयास सफल उदाहरणको रुपमा स्थापित हुदै छ ।

जयपृथ्वी नगरपालिका वडा नं ८ र ९ का २३ जना कृषकहरु मिलेर गत कार्तिकबाट सुरु गरेको सामुहिक तरकारी खेतीको यो अभ्यास हेर्न र बारीमै पुगेर ताजा तरकारी किन्न आउनेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । उसो त यो ठाउँ सदरमुकाम चैनपुर नजिकै रहेकोले बजारको समस्या पनि छैन ।

‘विहानको समयमा मर्निङवाक पनि हुने र ताजा तरकारी पनि खान पाइने भएकोले धेरै जसो बारीमै पुग्छन’ समुहका सचिव समेत रहेका तरकारी खेतीका व्यवस्थापक कृष्णराज कोइरालाले भने ‘बारीमै किन्न आउनेलाई उतिखेरै टिपेर ताजा तरकारी दिने गरेका छौ । मुल्यमा पनि बजारको भन्दा केही सस्तोमा दिन्छौ ।’

बारीमा तरकारी किन्न आउने ग्राहकहरु आफ्नै हातले टिपेको ताजा तरकारी बजारको मुल्य भन्दा सस्तो पाउने भएकोले खुशी हुने गरेको समुहकी एकजना कर्मचारी पुजा चलाउनेले बताईन । ‘आफै तरकारी टिपेर लैजान्छन । कोही फोटो भिडियो खिचेर रमाउँछन’ उनले भनिन ।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट अनुदान पाए सम्म खेती गर्ने र अनुदान आउन छोडे पछि खेतीलाई निरन्तरता नदिने चलन पनि बझाङ जिल्लाको व्यवसायिक कृषी क्षेत्रको रोग जस्तै भएको छ । तर यो समुहले भने यो मान्यताको ठिक विपरित छ । समुहका सदस्यहरुले हाल सम्म कतैबाट अनुदान लिएका छैनन ।

बरु प्रत्येक सदस्यबाट रकम उठाएर १४ रोपनी जमिनमा फलामे तारबार लगाएका छन । वारीमा बेमौसमी खेती गर्नका लागि पलाष्टीक घर निर्माण गरेका छन । भैसी पाल्नका लागि गोठ र चौकिदार र कर्मचारी बस्नका लागि फलामे ट्रष्ट सहितको घर छ । ‘अहिले सम्म कुनै अनुदान लिएका छैनौ । ६ महिना सम्म हामीहरु सबै खटेर मिलेर काम गर्यौ’ समुहका सदस्य समेत रहेका वडा नं ९, का वडा अध्यक्ष बजिर खड्काले भने ‘अहिले तीन जना कर्मचारी राखेका छौं । विहान बेलुका हामीले पनि हेर्ने गरेका छौं ।’

कार्तिकबाट सुरु गरेको यो सामुहिक खेतीले चैत्र देखी आम्दानी दिन सुरु गरेको छ । मासिक १ लाखको हाराहारीमा तरकारी विक्री हुने गरेको छ । केही दिन भित्रै तीन वटा भैसी ल्याउने तयारी समुहको छ । मल पनि बारीमै उत्पादन गर्ने र पुर्ण रुपमा प्राङगारिक तरकारी उत्पादन गर्ने लक्ष्यका साथ भैसी पाल्ने तयारी गरिएको हो ।

हाल १४ रोपनी जग्गामा तरकारी खेती गरेको भए पनि भविश्यमा यसको क्षेत्र बढाउने योजना रहेको समुहका अध्यक्ष नरेन्द्र खड्काले बताए । ‘मासिक पाँच सातलाख आम्दानी हुने गरी दुध र तरकारी विक्री गर्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौं’ उनले भने ‘विस्तारै यो बगरको सबै जग्गामा तरकारी खेती गर्ने सोच बनाएका छौं ।’

देवलका किसानहरुले सामुहिक खेती प्रणालीमा नमुनाको रुपमा काम गरेकोले यो पद्धती अन्य ठाउँमा पनि विस्तार गर्न प्रोत्साहन गर्ने सोच बनाएको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । ‘आफै विउँपुजी संकलन गरेर उहाँहरुले सुरु गर्नु भएको व्यवसायिक खेतीको नमुना उदाहरणिय छ’ प्रमुख विस्टले भने ।

‘अब हामीले यस्तै मोडलमा जिल्लाका अरु क्षेत्रका किसानहरुलाई पनि संगठित गर्ने सोच बनाएका छौं । आगामी वर्ष सामुहिक खेती लाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु पनि राखेका छौ’ उनले जनकल्याण कृषक समुहलाई प्रोत्साहन गर्नका लागि प्राङगारिक मल, प्रविधी र प्राविधिक सहयोग समेत गरिरहेको बताए ।