परिक्षण र उपचार नपाएरै मर्छन् बझाङका कोरोना संक्रमित

मध्य बैशाख यता कम्तीमा ३० जनाको कोरोना संक्रमणले मृत्यू भएको हुन सक्छ–स्वास्थ्यकर्मी

साइपालखबर संवाददाता
बझाङ । गत जेठ २ गते जयपृथ्वी नगरपालिका ४, गोलाईका एकजना ६४ बृद्धको मृत्यू भयो । मृत्यू अघी खोकी लाग्ने, हातगोडा पोल्ने, हनहनी ज्वरो आउने, पखाला चल्ने जस्ता लक्षण देखिए पनि उनको कोरोना परिक्षण गरिएन । नत उपचारको लागि स्वास्थ्य संस्था नै ल्याइयो ।

परिवारका सदस्यले परिक्षण गरौं भन्दा उनले नै सामान्य रुघाखोकी हो ठिक भैहाल्छ भन्दै टारेको बताए । गत बैसाख १८ गते पनि जयपृथ्वी नगरपालिका ११, पिठालेकका एकजनाको उपचारको लागि धनगढी लैजाने क्रममा बाटैमा मृत्यू भयो ।

कोरोनाको जस्तै लक्षणहरु देखिए पछि ति ४५ बर्षिय पुरुषलाई १७ गते राती सदरमुकाममा रहेको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले कोरोना परिक्षण नगरी थप उपचारको लागि धनगढी रेफर गरेको थियो ।

जिल्ला अस्पतालमा भर्ना गर्दा कोरोना परिक्षण हुने र रिर्पोट पोजेटिभ आयो भने सामाजिक रुपमा समस्यामा परिने डरले उनको परिक्षण नगरिएको हुन सक्ने स्वास्थ्य कार्यालयका सुचना अधिकारी नारायण जोशीले बताए । ‘निजी अस्पतालले पनि परिक्षण गर्न लाउनु पर्ने थियो । त्यसो नगरेरै रिफर गरिदिएछ’ उनले भने ।


यस्तै बैशाख महिना कै २० गतेका दिन तल्कोट गाउँपालिका १, रैसल्लीकी एक महिलाको कोरोना संक्रमणको कारण मृत्यू भयो । सदरमुकाम चैनपुरबाट घर जान हिडेकी उनी सा“झ घर पुग्न नसके पछि बाटोमा पर्ने आफन्तको घरमा बास बसेकी थिइन । भोलिपल्ट मृत भेटिइन ।

काठमाण्डौबाट आएकी उनलाई जिल्ला अस्पतालमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको थियो । ‘तपाईलाई लक्षण छ । अस्पताल भर्ना हुनुहोस । निको भए पछि घर जानु होला भन्दा मान्न भएन’ जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले भने ‘सायद संक्रमित भएको भने पछि समाजका मान्छेले कस्तो व्यवहार गर्लान भन्ने चिन्ताले होला । म घर मै बस्छु भनेर जानु भयो । उपचार गरेको भए उहाँको ज्यान जाने थिएन।’

उसो त कोरोना संक्रमितलाई समाजले गर्ने व्यवहार पनि राम्रो छैन । जेठ ११ गते तल्कोट गाउ“पालिका एकजना ५० बर्षिय संक्रमित लाई मष्टा गाउँपालिकामा दुव्यवहार गरियो ।

तल्कोटमा कोही पनि आफन्त नभएका ति संक्रमित लक्षण देखिन थाले पछि इस्ट मित्रको सहारा पाइएला भनेर छिमेकी मष्टा गाउँपालिकाको रिलु गएका थिए । तर उनले सोचे जस्तै इस्ट मित्रको सहयोग पाउनु भन्दा पनि दुव्र्यव्यहार खेप्नु पर्यो ।

उनले आफु संक्रमित भएको कुरा सुनाए पछि गाउँलेले ढुङगा हानेर लखेटे । संक्रमण भएका उनी दुइ दिन सम्म भोकभोकै बाहिरै बसिरहेको थाहा पाए पछि जेठ १३ गते तल्कोट गाउ“पालिकाको दा“तोला स्वास्थ्य चौकीका इन्चार्ज राजु विक सहितका कर्मचारीले राती गएर उद्धार गरेका थिए ।

‘हामी नपुगेको भए उनि मर्ने रहेछ’ विकले भने ‘उसै पनि संक्रमित मान्छे दुइ दिन सम्म भोकभोकै हुदाँ निकै गलिसकेका रहेछन । उद्धार गरेर उपचार गरे पछि अहिले ठिक हुदैछन’ संक्रमित भने पछि मान्छेहरु छि छि दुरदुर गर्ने समुदाय भएका कारण पनि मानिसहरुले सके सम्म आफु संक्रमित भएको जानकारी नहोस भन्ने चाहाने गरेको उनले बताए ।

बझाङका स्थानियहरुले संक्रमितलाई गर्ने व्यवहार, कोरोनाको परिक्षण र उपचारमा कुन हद सम्मको वेवास्ता गरिरहेका छन भन्ने देखाउन माथीका घटनामा मात्रै पर्याप्त छैनन । प्रत्येक गाउँमा यस्ता घटना दैनिक जसो भैरहेका छन । तर पनि यहाँका मानिसहरुमा परिक्षण र उपचार गर्नु तर्फ भन्दा पनि रोग लुकाउने तिरै लाग्दा निको हुन सक्ने संक्रमितहरुले पनि ज्यान गुमाउनु परिरहेको स्वास्थ्यकर्मीहरु बताउछन ।

‘स्वास्थ्य कार्यालयको आधिकारीक रेर्कडमा नसमेटिएका ३० जना भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएको हुन सक्ने हाम्रो अनुमान छ’ स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले भने ‘कोरोना लागे पछि समाजमा हेला भइन्छ भन्ने डरले हो की के हो ? घर मै गएर परिक्षण गर्न लाग्दा पनि मानिसहरु भाग्ने गरेका छन’ उनले मध्य बैसाख यता जयपृथ्वी नगरपालिका, बुङगल नगरपालिका, छविस पाथीभेरा, दुर्गाथली, खप्तड छान्ना गाउ“पालिकामा मात्रै परिक्षण र उपचार नगरेका ३० भन्दा बढी शंकास्पद विरामीको मृत्यू भएको जानकारी आएको बताए ।

‘यि सबै लक्षण भएकाहरु हुन । यसरी मर्नेको संख्या हाम्रो जानकारीमा आएको भन्दा पनि अझ बढी हुन सक्छ’ उनले भने ‘यसरी लापरवाही गर्दा एकातिर मानिसहरु दिन दिनै मरिरहेका छन भने अर्काे तिर संक्रमण व्यापक रुपमा फैलिइरहेको छ’ उनले शंकास्पद कोही पनि नछुटुन भनेर प्रत्येक पालिकामा घर घरमा परिक्षण गर्न एन्टिजेन किट सहित स्वास्थ्यकर्मी खटाएको भए पनि कतिपय मानिसहरु परिक्षण गर्दा संक्रमण देखिने होकी भन्ने डरले लुक्ने गरेको बताए ।

‘संक्रमित भएकाहरु पनि परिक्षण र उपचार गर्नु भन्दा रोग लुकाउने गरेको पाइयो’ जिल्ला अस्पताल प्रमुख डाक्टर ओखेडा भन्छन ‘धेरै जसोले टाइफाइड भएको भनेर स्थानीय मेडिकलहरुबाट औसधी किनेर खाने गरेका रहेछन । टाइफाइड भएको भनिएकाहरु धेरैको परिक्षण गर्दा संक्रमण भेटिएको छ’ उनले उपचार गरे निको हुने सम्भावना भए पनि लापरवाहीका कारण मानिसहरुले धमाधम ज्यान गुमाइरहेको बताए ।