देउडा चिनाउने सपना पुरा गर्नै पाएनन् धनराजले

फिचर

बझाङ ।

काल बैरी कैल प आउदो, लाग्या कै छ मार्न
यो ज्यादै निष्ठुरी हुन्छ, को सक्तछ टार्न

(क्रूएल डेथ इज् रेडी टु किल, वि क्यान लिभ बाइ द लक
इट इज् वेरी डिफिकल्ट, टु अभोइड डेथ्स् शक)

‘देउडा इन इङग्लीस’ किताबमा लेखिएका माथीका देउडाका हरफहरु कुनै दिन आफ्नै जिवनमा कुनै दिन लागु हुन्छन भन्ने लेखक धनराज जोशीले सायदै सोचेका थिए होलान । तर कालबैरीको झड्का टार्न सक्ने सामथ्र्य को संग छ र ? सुदुरपश्चिम र कर्णाली क्षेत्रको लोक संस्कृती देउडालाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन जिवन समर्पण गरेका जोशीले पनि यही नियती भोग्नु पर्यो ।


बझाङमा बेमौसमी बर्षा संगै आएको प्रलयकारी विपद्ले देउडा प्रेमीहरुका प्यारा यि अभियन्तालाई पनि छोडेन । कार्तिक २ गते साँझ अविरल झरी पछि घर नजिकै आएको भलको निकास खोल्न जाँदा पहिरोमा परेर उनले ज्यान गुमाउनु पर्यो । एक्कासी उनको आँगन नै पहिरोले लगे पछि जोशीको शव भोलिपल्ट विहान मात्रै २ सय मिटर तल भेटिएको थियो ।

बझाङको खप्तड छान्ना गाउँपालिका वडा नं ६, मा जन्मिएर बाजुरा जिल्लाका विभिन्न विद्यालयलमा ३० वर्ष सम्म शिक्षण गरेका जोशी २०६६ सालमा सेवा निवृत भए पछि देउडाको अन्तराष्ट्रियकरण गर्न जुटेका थिए ।

लोक संस्कृती, कला, पर्यटन र पश्चिम नेपालको असली पहिचान देउडामा रहेको तर यसको प्रचार प्रचार अन्तराष्ट्रिय क्षेत्रमा नभएकोले यो क्षेत्र पछाडी परेको भन्दै उनले देउडा गितलाई अंग्रेजीमा उल्था गरेर ‘देउडा इन इङग्लीस’ पुस्तक प्रकाशन गरेका थिए ।

दुइ वटा संस्करणमा छापिएको यो पुस्तक अंग्रेजीमा प्रकाशित देउडाको हाल सम्म कै पहिलो पुस्तक हो । यस पुस्तकमा उनले मायाप्रेम, जिवनदर्शन, राजनिति, धर्म देखी लिएर दैनिक जिवन व्यवहारलाई विम्ब र प्रतिक वनाएर गाइने देउडाहरु संकलन र रचना गरि अंग्रेजीमा लेखेका छन ।

‘नेपाली नबुझ्नेलाई देउडा बुझाएर पश्चिम नेपाललाई विश्व जगतमा चिनाउने उहाँको सपना थियो’ खप्तड छान्ना गाउँपालिकाका लामातोलाका एकजना कवी सुरेस थापाले भने ‘देउडालाई अंग्रेजीमा लेख्ने उहाँको जमर्काे यसैको प्रतिफल थियो’ युवा पुस्ताको देउडा प्रतिको घट्दो आर्कषण बढाउन र सरकारी विद्यालयका विद्यार्थीहरुको अंग्रेजी भाषा सुधार गर्ने उदेश्य समेत राखिएर प्रकाशन भएको यो पुस्तकमा उनले सामान्य साक्षर व्यक्तीले पनि बुझ्ने गरी अंग्रेजीको नेपाली उच्चारण, नेपालीको अंग्रेजी उच्चारण तथा शब्दार्थ समेत लेखेका छन ।

जोशीले देउडा गित रचना र संकलन गर्ने, अंग्रेजीमा उल्था गर्ने मात्रै नभएर जिल्लाका विभिन्न स्कुलमा गएर विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुका साथै विपन्न विद्यार्थीहरुले पनि अग्रेजी पढने अवसर पाउनु पर्छ अभियान चलाउदै आएका थिए । ‘गरिबका छोराछोरीले पनि संसार बुझ्नका लागि अंग्रेजी भाषाको ज्ञान हासिल गर्न पाउनु पर्छ भन्ने उद्देश्यले उहाले विभिन्न सहयोग गर्दै आउनु भएको थियो’ लामो समय बझाङ र बाजुरा जिल्लामा अंग्रेजी शिक्षकको रुपमा कार्यरत भानुभक्त भने । धनराज जोशीले आफैले तीन महिने अग्रेजी भाषा शिक्षण कोर्ष नै तयार गरेर निशुल्क अंगे्रजी सिकाउने तयारी गरेको उनले बताए ।

नाता हो दुइदिनको नाटक, नास भैजान्या चोला
घमन्डी भै नदेखिनु, मानव हुनु होला

(रिलेसन्स टु डेज ड्रामा पेरिसेबल बडी
बि हम्बल एक्ट याज ह्युमन, डन्ट पोज याज गडी)

जस्ता मानवताबादी दर्शन बोकेका गितहरुलाई अंग्रेजीमा लेखेका जोशीले अन्य गीतजस्तै देउडालाई पनि अंग्रेजीमा पनि गाउन सकिन्छ भन्ने प्रमाणित गरेका थिए । देउडाका अन्यानुप्रासलाई अंग्रेजीमा पनि हुबहु उल्था गरेका जोशी पछिल्लो समय जिल्ला भरीका विद्यालयहरुको भ्रमण गर्दै अंग्रेजी भाषा र देउडा गितको प्रचार प्रचारमा जुटेका थिए ।

‘अंग्रेजीमा देउडा भन्ने वितिकै धेरै मानिसहरुले अनौठो मानेका थिए । यो कसरी सम्भव होला भन्ने बहस नै चलेको थियो’ सिर्जनशिल कला प्रेमीहरुको संजालका निर्देशक एवं कैलाली बहुमुखी क्याम्पसका पुर्व प्राध्यापक हरीचन्द्र कमलीले जोशीको पुस्तक विमोचनको कार्यक्रमको स्मरण गर्दै भने ‘पुस्तक हेरे पछि सबै चकित भयौं । देउडालाई उस्तै भावार्थ दिने गरी अंग्रेजीमा अनुवाद गर्नु भएको रहेछ । उहाँको सिर्जना वास्तवमै अदभुत थियो ।’

‘देउडालाई अंग्रेजीमा भन्न सकिएला भनेर हामीले सोचेकै थिएनौ’ सत्यवादी उच्च माध्यमिक विद्यालयका अंग्रजी शिक्षक लक्ष्मणप्रसाद उपाध्यायले भने ‘जोशीले त्यो सम्भव मात्र बनाइदिनु भयो । देउडा संस्कृतीमा उहाँको योगदान साँच्चीकै स्मरणिय छ ।’ देउडा सुदूरपश्चिमको लोकसंस्कृति हो, यसलाई अंग्रेजीमा गाएर विदेशी माझ यसको महत्व र नेपालीपन चिनाउन जरुरी छ भनेर अभियान चलाउने जोशी नै पहिलो व्यक्ती भएको उनले बताए ।

देउडालाई अन्तराष्ट्रियकरण गर्ने अभियानमा जुटेका धनराज जोशीले १८ बर्षको उमेरमा मात्रै स्कुल देखेका थिए । आठ दाजुभाई मध्ये सातौं सन्तानको रुपमा विसं २००४ सालमा जन्मिएका जोशीले भारतमा चौकिदारी गर्ने क्रममा अंग्रेजीको महत्व बुझे पछि विद्यालय भर्ना भएका थिए ।

आर्थिक अवस्था कमजोर रहेका जोशीले सदरमुकाम चैनपुरमा रहेकी दिदिको आश्रयमा पढाईलाई अगाडी बढाएका थिए । ‘स्कुलमा हरेक बर्ष हिउँदको दुइ महिना स्कुल विदा हुन्थ्यो । विदाको वेला म भारतमा मजदुरी गर्न जान्थे । त्यही पैसाले बर्षभरीको कापी कलम जुटाउथे’ उनले पुस्तकको भुमीकामा आफुले अध्ययन गर्दा पाएको दुखको बर्णन गर्दै लेखेका छन ‘कापी किन्न पैसाको अभाव हुने भएकोले विहान साँझ सेती नदीको किनारमा जान्थे र त्यहाँका ढुङगामा लेखेर अंग्रेजीका शब्द र वाक्यहरु कण्ठ गर्थे।’

‘उहाँ स्कुल पढ्दा देखी नै देउडालाई उस्तै भाव आउने गरी अंग्रेजीमा अनुवाद गरेर सुनाउनु हुन्थ्यो’ जोशीका सहपाठी समेत रहेका स्विडेनको स्टकहोम युनिर्भसिटीका प्राध्यापक कटक मल्लले भने ‘अंग्रेजी प्रतिको उहाँको लगाव यति सम्म थियो की त्यो वेला अरु विषयको परिक्षा पनि अंग्रेजी माध्यमबाटै दिनुहुन्थ्यो’ साधारण जिवनशैली, जिज्ञासु स्वभाव र सृजनशिल मन भएका जोशी एक असाधारण व्यक्तीत्व भएको उनले बताए ।

जोशीको निधन पछि देउडालाई चिनाउने उनको अभियान रोकिएको भए पनि यसलाई निरन्तरता दिने र बझाङ जिल्लाका सरकारी विद्यालयमा पढने विद्यार्थीको अंग्रेजी भाषा सुधारको लागि केही काम गर्ने सोच रहेको उनका छोरा विष्णु जोशीले बताए । हाल युनिर्भसिटी अफ म्यासाच्युसेटसमा रसायनशास्त्रमा विद्यावारीधी गरी रहेका विण्णुले बुवाको नाममा कुनै प्रतिष्ठान नै खोलेर उनले थालेको अभियान अगाडी बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *