आहा ! सेतीका माछा

फिचर

बझाङकाे चैनपुर पुग्नेहरूका लागि परिकारका रूपमा सेतीका माछा विशेष मानिन्छ । त्यहाँ खाने मात्रै हाेइन, काेसेलीका रूपमा माछाकाे सुकुटी बाेक्नेहरू पनि धेरै छन् । यसबारे विद्या राई र वसन्तप्रताप सिंह लेख्छन् :

चिटिक्क परेको चैनपुर । चारैतिर पहाडै पहाडले घेरिएको । सेती नदि र बाहुलीगाड खोलाको काख पाएको । बाह्रैमास कञ्चन अनि कलकल बगिरहने सेती नदीमा पाइने थरी थरीका माछा । स्थानीय मसला र रैथाने पकाउने शैली । माछाका अनेक परिकार । माछाको स्वाद संगै, चैनपुर उपत्यकाको दृश्यपानमा रमाउनुको मजा बेग्लै ।

बझाङमा काम बिशेष तथा घुमघामका सिलसिलामा आउने प्रायले सेतीका माछा नखाई फर्कदैनन् । स्थानीय भनाइ नै छ, ‘सेतीका माछा नचाखी बझाङको स्वाद बुझिदैन ।’ यहाँका माछाको यही बिशेष प्रकारको स्वाद स्थानीयका लागि नयाँ आगन्तुक लोभ्याउने माध्यम बनेको छ । रैथाने स्वाद भएकाले पनि बझाङीहरु नयाँ पाहुनालाई चखाएरै पठाउछन् । एकपटक स्वाद लिइसकेकाहरु फेरी आउदा परिकारमा माछा नै खोज्छन् । ‘छाकै पिच्छे मासु खानेहरु चैनपुर आएपछि सेतीका माछा नपाए अरु मासु खोज्दैनन्, बरु भात सब्जीमै चित्त बुझाउछन्,’ माछाका लागि प्रख्यात तमैलबजारका एक साहुजी बालु गिरी भन्छन ‘बाहिर जिल्लाबाट आएकाहरुले सबै भन्दा बढी खोज्ने माछा कै परिकार हुन ।’

सेतीका माछा भनेपछि जो कोहीका मुख रसाउछन् । चिसो पानीमा पाइने माछाका स्वाद र बनावट छुट्टै । देशैभर प्रख्यात छन् सेतीका माछा । यहा“ असला, चिँउ, गिठी, पाँपो, कठ्याल, धामी, झिरझिर पाँपो, बाघे, सट्टो (शहर) राडी, च्याउँटे, थाले, चिम्टी लगायत जातका माछा पाइन्छन् । असला र चि“उ जातका माछा अधिक मन पराइन्छन् । सट्टो (शहर) जातको माछा पनि ग्राहकका रोजाइमा पर्छ । यो जातको माछा तौलका हिसाबमा ठुलो मानिन्छ । सट्टो माछा खादाँ गर्मी र लामखुट्टेको टोकाईबाट हुने रोगहरु मलेरीया, औलो रोग निको हुने भएकाले स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक मानिन्छ ।

माछा पकाउने आफ्नै शैली छ यहाँ । पकाइएको माछा जिब्रोमा पर्दा सबैले आहा भन्छन् । फ्राई गरेर, तारेर, झोल हालेर माछा पकाइन्छ । तोरीको छोब र दही हालेर पकाएको झोल माछा सबैभन्दा स्वादिष्ट हुने गर्छ । स्वाद मात्रै होइन यसबाट आउने बास्ना पनि लोभलाग्दो हुन्छ । आलो माछा भन्दा सुकुटी माछाको स्वाद र बास्ना तिख्खर हुन्छ । यसको ‘सुप’ उत्कृष्ट हुन्छ । चिसो मौसमका बेला सेतीका माछाको सुकुटीको झोलले चिसो भगाउन काम गर्छ ।

सदरमुकाम संग जोड्ने जयपृथ्वी मार्गको चैनपुरदेखि बागथला सम्मका सडक छेउका बजारमा माछाका परिकारको राम्रो व्यापार चल्छ । भुस्वर्गका नामले परिचित खप्तडको गेटवे तमैल बजारमा अरु भन्दा बढी माछाको खोजी हुन्छ । उसो त यहाँ सेतीबाट पक्रेर ल्याएका माछा हप्तौ सम्म ज्यूदै राखेर बच्ने पनि गरिएको छ । खप्तड जार्दै गरेका र फर्कर्दै गरेकाहरु तमैल बजारमा माछा र रोटीको परिकार खान छुटाउदैनन् ।

आगन्तुकहरु घर फर्कदा सुकुटी माछाको कोसेली लिएर फर्कन्छन् । सहरबजार तथा विदेश पठाउने गतिलो कोशेली पनि हो यो । सुकुटी पारिएको माछा किनेर टाढा–टाढा रहेका आफन्तलाई पठाउने गरिन्छ ।


आलो माछालाई हप्तौँसम्म आगोमा सेकाएर सुकुटी बनाइन्छ । आलो माछाको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँदेखि देखि ३ सय ५० सम्म छ । पकाएको माछा प्लेटको दुई सय रुपैया पर्छ । सुकुटी माछा प्रतिकिलो २ हजार ५ सय देखी ३ हजार सम्म पर्छ । गाउँमा भन्दा जिल्लाबाहिर लैजानेले माछालाई महंगो मूल्य तिर्न पनि तयार हुन्छन् । माग र रोजाइ अनुसार माछा उपलब्ध गराउन व्यवसायीलाई पनि भ्याइ नभ्याइ हुन्छ ।
पछिल्लो समय सेतीमा माछा कम हुदै गएपछि माग धान्न भने हम्मे पर्दै आएको छ उनीहरुलाई । अव्यवस्थित तरिकाले भैरहेका विकास निर्माण र मानविय गतिविधीका कारण सेतीका माछा संकटमा परिरहेका छन् । करेन्ट लाएर, जैविक विष प्रयोग गरेर तथा साना आ“खा भएका जालको प्रयोग बढ्दै गएका कारण माछाको संख्या घटन थालेको स्थानियको अनुभव छ ।

मछुवार (माछा मारेर आम्दानी गरिरहेका व्यक्ती) हरुकै अनुभवमा केही बर्ष पहिला सम्म प्रशस्त मात्रामा पाइने र स्वादका हिसाबले प्रख्यात असला र चिँउ माछाको संख्यामा अचेल घट्दैछन् । गिठी, पाँपो, कठ्याल, धामी, झिरझिर पाँपो, बाघे, सट्टो (शहर) राडी, च्याउँटे, थाले, चिम्टी लगायत जातका माछाहरु पनि केही बर्ष यता हराउन थालेका छन् । न्युनतम ५ देखी अधिकतम ६५ किलो सम्मको सट्टो माछा पाइन छाडेको छ । माछा कम पाउन थालेपछि मानिसहरु बगरमै हारालुछ गर्छन् ।


माछाको संख्या घट्न थाले पछि सेती किनारमा बसोबास गर्ने र माछा मारेरै जिविका गर्नेहरुलाई समस्या हुन थालेको छ । एक जना मछुवार करन कामी भन्छन । ‘पहिला माछा फालाफाल हुन्थे माछा किन्ने मान्छे हुन्थेनन । अहिले किन्नेको हारालुछ छ, पहिले जस्तो माछा पाइदैनन’ नदी तथा खोलाहरुमा शिशा लगायतका फोहोर मिसाउने काम बढी भएको कारण पनि माछाको बासस्थान मासिदै गएको र संख्या घटेको उनको अनुमान छ ।

कान्तिपुर दैनिकबाट साभार । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *