जहाँ ओली, त्यहीं मूल प्रवाह

खगराज अधिकारी
नेकपा एमालेभित्र अहिले देखिएको संकट वैचारिक जस्तो देखिन्न, तर अन्तर्यमा वैचारिक छ । तीन वर्षसम्म एमालेमा वैचारिक छलफल हुनै पाएन । जबकि पार्टीभित्र कब्जावादी र सर्वसत्तावादी चिन्तन विरुद्ध केपी शर्मा ओली संघर्षरत हुनुहुन्थ्यो ।

कुनैबेला आफ्नै टाउकोको मूल्य तोक्ने र आधा प्रतिगमन सच्चियो भनेर ज्ञानेन्द्र शाहको राज समर्थन गर्ने शेरबहादुर देउवालाई उपयोग गर्दै अगाडि बढेका पुष्पकमल दाहाल प्रचण्डका निम्ति अहिले माधवकुमार नेपाल शिखण्डी बन्न पुग्नुभएको छ । तर केपी ओलीले प्रचण्डको त्यो दाउपेच पहिले नै राम्रोसँग बुझ्नुभएको थियो । उहाँ प्रचण्डको उपयोगवादी, सर्वसत्तावादी र कब्जावादी चिन्तन विरुद्ध उभिनुभएको थियो ।

पक्कै पनि केपी ओलीसँग कमजोरीहरू छन् । लामो समय जेल बस्नुभयो, स्वास्थ्यले साथ दिएन । तर जेलभित्रै हुँदा पनि पार्टीभित्र वैचारिक, सांगठनिक र राजनीतिक दृष्टिकोण प्रष्ट रूपमा राख्नुभयो । झापा संघर्ष, नेकपा मालेको संकट र एमालेभित्र देखा परेका समस्यामा उहाँ (केपी ओली) ले राख्नुभएको अडान सधैं सही सावित हुँदै आएको छ ।

सीपीमाथि अन्याय

‘को–अर्डिनेशन केन्द्र’ र मुक्ति मोर्चा बीच एकता भएर बनेको नेकपा मालेमा २०३७ सालपछि गम्भीर संकट देखा परेको थियो । पार्टी नै कता जान्छ भन्ने अनुमान गरिन्नथ्यो । महासचिव सीपी मैनालीले अन्तर्राष्ट्रिय सम्बन्ध बारेमा गोपनीयता भंग गरेको आरोपमा माधव नेपालहरू उहाँ विरुद्ध उभिनुभएको थियो ।

मुक्ति मोर्चाबाट आउनुभएका मोदनाथ प्रश्रित, मदन भण्डारी, जीवराज आश्रितहरू अलिकति लोकतान्त्रिक र उदार सोचको हुनुहुन्थ्यो । तर सीपी मैनालीलाई पोलिटब्यूरोमा समेत नराखी प्रवासको जिम्मेवारी दिएर केन्द्रीय सदस्यमा घटुवा गरियो ।

त्यसबेला पार्टी स्वतन्त्रताको पक्षमा सीपी र केपी ओली एकैठाउँमा हुनुहुन्थ्यो । मदन भण्डारी पनि यही लाइनमा हुनुहुन्थ्यो । तर बाहिर आफ्नो कुरा राख्नुभएन । सीपी मैनालीलाई निर्मम कारबाही गरेर झलनाथ खनाललाई पार्टीको नेतृत्वमा ल्याइयो । तर झलनाथ खनाल मनोवैज्ञानिक रूपमै कमजोर भएकाले पार्टी चल्ने अवस्था रहेन । चौथो महाधिवेशनबाट मदन भण्डारी नेतृत्वमा आउनुभयो ।

मदनलाई ओलीको साथ

मदन भण्डारी मालेको महासचिव निर्वाचित भएपछि पार्टीभित्र वैचारिक र सांगठनिक क्रियाशीलता, विचार र संगठनको तादाम्यता अद्भुत रूपमा देखियो । २०४७ सालको जनआन्दोलनको जग नै निर्माण भयो । जबकि माधव नेपाल जनआन्दोलन सफल बनाउन भारतीय हतियार प्रयोग गर्नुपर्छ भन्नुहुन्थ्यो । तर मदनले मान्नुभएन ।

मदनको तर्क थियो– नैतिक समर्थन जसले पनि गर्न सक्छ । तर भारतीय हतियार त कुरै छोड्नुहोस्, उनीहरूको उपस्थिति पनि हामी सहँदैनौं । यो हाम्रो आन्तरिक कुरा हो । यो राजनीतिक स्वतन्त्रतासँगै राष्ट्रिय स्वाभिमानसँग पनि जोडिएको छ । त्यसैले आफ्नै सामथ्र्य र बुतामा लड्नुपर्छ । राधाकृष्ण मैनालीले लेख्नुभएको पुस्तकमा यो पढ्न सकिन्छ ।

माले मदन भण्डारीकै लाइनमा उभियो । वाम मोर्चा बन्यो । नेपाली कांग्रेससँग संयुक्त जनआन्दोलनको पृष्ठभूमि बन्यो । तर, धेरैले नसुनेको, तर बैठकमा सहभागीलाई राम्रोसँग थाहा पाएको तथ्य हो– मदन नेतृत्वमा आउने महाधिवेशन भाँडिनबाट केपी ओलीले जोगाउनुभएको थियो ।

तत्कालीन कार्यनीति बनाउनेबारे पार्टीभित्र विवाद भयो । नारा तय गर्न समस्या भयो । मोदनाथ प्रश्रितले संविधानसभा, झलनाथ खनालले नयाँ जनवादी व्यवस्था र मदन भण्डारीले बहुदलीय व्यवस्थाका निम्ति लड्नुपर्छ भन्ने प्रस्ताव ल्याउनुभयो । महाधिवेशन नै भंग हुने अवस्था आयो । तर महाधिवेशन भंग हुन नदिन ओलीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

जनआन्दोलन शुरू भइसकेपछि बल्ल मालेले तत्कालीन कार्यनीति बहुदलीय व्यवस्था बनाउने निर्णय लियो । महाधिवेशनले नसकेपछि मालेको केन्द्रीय कमिटी बैठकबाट बहुदलीय व्यवस्थाको नीति पारित गरिएको थियो । त्यसबेला ओली मदन भण्डारीले लिएकै नीतिका पक्षमा हुनुहुन्थ्यो । त्यही नीतिले बनाएको वाम मोर्चा र कांग्रेस सहितको संयुक्त जनआन्दोलनले पञ्चायत व्यवस्था अन्त्य गरेको थियो ।

अलमलमा पार्टी, ओली प्रष्ट

पाँचौं महाधिवेशन भव्यताका साथ सम्पन्न भयो । सैद्धान्तिक कार्यक्रम प्रष्ट भयो– जनताको बहुदलीय जनवाद (जबज) । मदन भण्डारी नै नेतृत्वमा आउनुभयो । तर मदन भण्डारीको निधन पछि पार्टीभित्र अस्पष्टता देखिन थाल्यो ।

जस्तो– २०५१ को सरकार गठनमै पनि दुईमत देखा परे । कांग्रेस प्रमुख प्रतिस्पर्धी मान्ने हो भने राप्रपालाई साथमा लिएर बहुमतको सरकार गठन गर्ने पक्षमा केपी ओली उभिनुभयो । तर झलनाथ खनाल, मनमोहन अधिकारी, साहना प्रधान, मुकुन्द न्यौपाने लगायत विपक्षमा उभिनुभयो । अल्पमतका सरकार बन्यो ।

अल्पमतको सरकार नौ महीना चल्यो । तर पछि एमाले लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकारमा सामेल भयो । पहिले विरोध गर्नेहरू (झलनाथ खनाल र मुकुन्द न्यौपाने) सरकारमा सामेल हुनुभयो । सहयोगी शक्ति मान्न तयार नहुनेहरूले नै राप्रपाको नेतृत्व माने । लाइन त केपी ओलीकै ठीक थियो ।
यसपछिका अनेक मोडहरूमा पनि पार्टी घुमिफिरी केपी ओलीकै लाइनमा आएको छ । तर, मदनले ल्याएको वैचारिक स्तरलाई संगठनमा कायम गराउने भूमिका निर्वाह गरेका ओलीलाई सिध्याउने खेलहरू भइरहे । माधव नेपालले छैटौं महाधिवेशनमा केपी ओली र वामदेव गौतम दुवैलाई कार्यनीति लेख्ने जिम्मेवारी दिनुभयो । बैठकबाट केपी ओलीलाई जिम्मेवारी दिइयो, तर वामदेवलाई खुशी पार्न माधवले यसो गर्नुभएको रहेछ । पछि त्यो विवादकै कारण एमाले विभाजित भयो ।

सातौं महाधिवेशनमा त केपी ओलीलाई माधव नेपालले रसातलमै भसाउने योजना बनाउनुभएको थियो । जबकि संविधानसभाको कार्यनीतिक नारा बनाउँदा सशस्त्र हिंसामा संलग्न माओवादीलाई मूल प्रवाहमा ल्याउन र दमनकारी नीति बोकेको दरबारलाई एक्ल्याउन सकिन्छ भन्ने नीति केपी ओलीले अगाडि सार्नुभएको थियो । सातौं महाधिवेशन माधव नेपालले एक प्रकारले कब्जा नै गर्नुभयो ।

तर केपी ओली धैर्यपूर्वक बस्नुभयो । पार्टी बाहिर जाने कल्पना पनि गर्नुभएन । महाधिवेशनको प्रतिनिधि छनोटमै उपद्रो भएको केपी ओलीलाई थाहा थियो । फेरि आठौं महाधिवेशनमा केपी ओलीलाई हराउन निर्वाचन मण्डलमै कांग्रेसको मान्छे राखिएको थियो । माधव नेपालले सर्वसहमत नेतृत्वको प्रस्ताव अगाडि सार्नुभयो । जबकि २०६४ को निर्वाचनमा पार्टी तेस्रो हुने गरी पराजित भएपछि उहाँ नेतृत्वबाट भाग्नुभएको थियो ।

अनेक षडयन्त्र गरेर आठौं महाधिवेशनमा पराजित गरिए पनि मदन भण्डारीले अगाडि बढाएको राजनीतिक कार्यक्रमलाई संगठनसँग जोड्ने केपी ओलीको प्रस्ताव महाधिवेशन हलबाट पारित भयो । जबजले वैचारिक स्वतन्त्रताको कुरा गरेको छ, आठौं महाधिवेशनबाट संगठनात्मक लोकतन्त्रीकरण लागू भयो । यो नीतिले पार्टीमा समावेशी, समानुपातिक र सबै क्षेत्रको सहभागिता सुनिश्चित ग¥यो ।

अर्थात् चौथो महाधिवेशन माले–एमाले केपी ओलीकै लाइनमा हिंडेको छ । अब पनि उहाँ जहाँ उभिनुहुन्छ, एमालेको मूल प्रवाह त्यहीं हुन्छ । अहिलेसम्मको घटनाक्रमले त्यो पुष्टि हुन्छ । दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहको राज्याभिषेकमा जाने र प्रतिगमन सच्चियो भन्ने जस्ता निर्णयका पछाडि केपी ओली हुनुहुन्नथ्यो । तिखो रूपमा कुरा राख्नुभयो तर एमाले छोडेर अर्को पार्टी बनाउने कल्पना समेत गर्नुभएन ।

पार्टीको हितमै उभिनुभयो । माओवादीसँग सरकार बनाउने मनसायमा झलनाथ खनाल उभिनुभयो । घनश्याम भुसालले सातबुँदे प्रस्ताव तयार पार्नुभएछ । तर ‘पार्टी अध्यक्षको चाहना हो’ भनेर केपी ओलीले सहमति जनाउनुभयो । कतिपयको बुझाइ जस्तो अवस्था आएन, उहाँले तीन मिनेटमै समर्थन गर्नुभयो । माओवादीको समर्थनमा झलनाथ खनाल प्रधानमन्त्री हुनुभयो ।

तर अवस्था कस्तो बन्यो भने कार्यकर्ता मारिंदा पनि श्रद्धाञ्जली व्यक्त गर्न सकिने अवस्था रहेन । यसको वैचारिक तरिकाले केपी ओलीले प्रतिवाद गर्नुभएको हो । माधव नेपालको चरित्र दुवैतिर लाग्ने । आठौं महाधिवेशनमा केपी ओलीलाई समर्थन गरेको भन्ने, तर झलनाथ खनालसँग मिलेर पोलिटब्यूरो र स्थायी कमिटी बनाउने ।

सीपी मैनालीलाई पुनस्र्थापित गराउन, मदन भण्डारीको नेतृत्वलाई सार्थक बनाउनदेखि अनेक आयाममा केपी ओलीको भूमिका महत्वपूर्ण छ । त्यसैले फेरि पनि उहाँकै निर्णय मूलप्रवाह भएर अगाडि बढ्नेछ ।

अहिले माधव नेपाल अवसरवादीहरूको जालमा फस्दै जानुभएपछि लिगेसी गुमाउँदै हुनुहुन्छ । असंसदीय र जबजले निर्दिष्ट गरेको सिद्धान्त बाहिर जाँदै हुनुहुन्छ । हिमानी शाहको यज्ञमा ब्रत बस्ने (मोहनचन्द्र अधिकारी) देखि दरबारका मन्त्री (आरके मैनाली) लाई समेत उहाँले उभ्याउनुभएको छ ।

हामीले सम्मान गर्ने बुढापाका सिद्धिलालहरूको पनि भेला गर्नुभएको छ । तर त्यहाँ उहाँहरूको योगदानको अवमूल्यन भइरहेको छ । निहित स्वार्थ निम्ति आफ्नो इतिहास कमजोर पार्ने काम गर्दै हुनुहुन्छ ।

तर केपी ओलीमा अरू नेता जस्तो अवसरवादी चिन्तन छैन । अदम्य क्षमता छ । अब माओवादीभित्र लोकतन्त्र पक्षहरूको ध्रुवीकरण हुन्छ र केपी ओलीको नेतृत्वमा मूल प्रवाहको एमाले अगाडि बढ्छ ।

साभार : अनलाइनखबर