चौध वर्ष पहिला खप्तड गंगा दशहरा मेलामा बिहानीपख विदाइ हुन लाग्दा बाजुराकी युवतीले भनेको डेउडा गीत हो। सँगै भनेकी थिइन्, “पोहोर बाटो साँफेका डाँडा अहिले बाटो कौडी। एक्ल्या मान्छे बहुलो कामु सकिंदैन दौडी।” झा लाऊ झा भनी गाली सुम्सुम्याउँदै विदाइ भएकी थिइन्। मैले डे
उडा फर्काउन पाइनँ खेल टुंग्यो/छुट्यो, हामी छुट्यौं। मध्यरातबाट खेल्न सुरु गरेको डेउडा खेलमा हामी बीच बसेको माया छुट्यो। को हुन् ती डेउडिया महिला चिन्दिनँ र सम्झना पनि छैन कुन वर्णकी कस्ती थिइन् भनेर, तर सेतो पटुका, रातो रुमाल, पहेंलो पोते, एकै
रंगको धोती पहिरनमा सजिएकी ती बाजुराकी युवती यसपटक भने भेटिइनन्।
रामचन्द्र चौध वर्षपछि घरवास भए, बा
ह्र वर्षपछि खोलो फर्किन्छ भनिन्छ तर म खप्तड फर्किन चौधै वर्ष लाग्यो। त्यो पनि गंगा दशहरा मेलाको अवसर पारेर। जेठ शुल्क दशमी तिथिमा लाग्ने दशहरा मेलासँगै आँखाले देखुन्जेलसम्मका खप्तडी पाटन हेर्न आतुर थियो हाम्रो मन र हामीले हाम्रो यात्रा डोटीको सिलगडीबाट डोटीकै झिग्रनासम्म करिब एक घण्टाको गाडीको यात्रापछि हामी उकालो लाग्यौं। म जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्ट लगायत चार जनाको समूह झिग्राना पोस्टबाट (डोटीतिरको खप्तडको प्रवेशद्वार) खप्तडमा पाउने वनस्पतिको सुगन्ध र आफ्नै पसिनाको सुगन्धको सहाराले उकालो लाग्यौं। हामीसँग भएको मोबाइलबाट डेउडा गीत बजिरहे, हामीले पनि डेउडा गुनगुनाइरह्यौं, खोल्साबाट झरेको पानीले आँत भिजाइरह्यौं र चार/पाँच किलोमिटरको दुरीमा नेपाली सेनाले बनाएका यात्रु प्रतीक्षालयमा झोला टेकाउँदै चैनले डेउडा गीत बजाएर नाच्दै अगाडि बढ्यौं। झिग्रानाबाट हिंडेको चार घण्टापछि हामी बिचपानी भन्ने स्थानमा पुग्यौं जहाँ एउटा होटलको छाप्रो र झुम्मिएका पैदलयात्रीहरु थिए। एकछिन विश्राम गर्दै केही खानेकुराहरु खाएर हामी अगाडि बढ्यौं। बिचपानीसम्म उकालो थियो, पैदलयात्रुहरु पसिना पुछ्दै लामो सास तान्दै अगाडि बढिरहेको दृश्य लोभलाग्दो थियो। यो बाटो हिंड्दै गर्दा मेरा पाइलाले उच्च शिक्षाको खोजी गर्न बझाङबाट डोटी आउँदै-जाँदै गरेको होस् वा बुवा र दाइहरूसँग हिंडेको बेलाको यादले अतित बिउँझाइरहेको थियो। बिचपानी पुगेपछि अर्को विगत पनि वर्तमान बनेर आयो, कुनै बेला बिचपानीमा यात्रुहरुका लागि आवास (गोलघर) बन्दै गर्दा केही दिन म, जनक दाइ, अनिल र बसन्त दाजु लगायतले श्रम गरेको खुब याद आयो। दुई/चार दिन श्रम गरेर ढुंगा बोकी ज्याला लिएर घर गएँ र त्यही ज्यालामा बुवाले आशीर्वाद र आमाले माया थप्दै म पहिलो पटक नेपालको राजधानी काठमाडौं हिंडेको थिएँ। अहिले त्यो बिचपानीको गोलघर भग्नावशेष मात्र छ। सम्झेर मन अमिलो हुन्छ। बिचपानीबाट अब भने तेस्रो बाटो लाग्यो, उही वनस्पतिको सुगन्ध, चराचुरुंगीहरुको मोहित पारिरहने चिरबिर र कुहु-कुहु सुन्दै झन्डै दुई घण्टापछि हामी डोटीतिरबाटको पहिलो पाटन बुकी पाटन पुग्यौं। दशहरा मेलाको अघिल्लो दिन भए पनि यात्रुहरू पदमार्गमा लस्करै लाइनमा हिंडेका देखिन्थे। तिनै यात्रुहरुलाई बाटा-बाटामा स्याउली (रुमालमा फूल/पुष्पगुच्छासहित बाटोको बीचमा राख्ने) राखेका थिए। खप्तडमै गोठमा बस्ने बालबालिकादेखि बैंस ढल्किसकेका महिला वर्ग समूहले राखेका स्याउलीमा खानेकुरा, फूल र पैसा चढाउने चलन हुन्छ। त्यो बेला खानेकुरा बाबर (सेलरोटी), पुरी र फूलमाथि २/५ रुपैयाँ चढाउने चलन थियो। अहिले भने बजारिया खानेकुरा र पैसा चढाउँदै यात्रुहरु अघि बढिरहेका थिए। जे भए पनि रित्तो हात स्याउली नाघ्नुहुँदैन भन्ने परम्परा जीवितै रहेछ, यसले मलाई थप खुसी बनायो, र बालापनको खुब याद दिलायो।
बुकी पाटनमा बाजुरा काडाका मान्छेका खर्क र बस्तुभाउ, भैंसी समेत देखिए भने बाजुरा शिङ्णाका मान्छेको अस्थायी पसल पनि रहेछ, त्यहाँ हामीले एक/एक बटुको दही र चिया समेत खाएपछि अघि बढ्यौं। दश/पन्ध्र मिनेट जति जंगल हिंडेपछि अर्को त्रिवेणी पाटन सुरु भयो।
त्रिवेणी पाटन सुरु हुने बित्तिकै सीतापाइला मन्दिर छ। खप्तड कुबेरको राजधानी थियो भन्ने कुरा पुराणमा भेटिन्छ भने पाण्डव पनि खप्तडकै बाटो भएर कुरुक्षेत्र गएको साथै युद्धमा मारिएकाहरुको चिरशान्तिका लागि अर्जुनले खप्तडको त्रिवेणीमा तर्पण गरेको र सीताजीको पनि पाइला परेको हुँदा सीतापाइला नाम रहेको भनाइ समेत छ। खप्तडका थुम्का-थुम्काहरुलाई स्थानीय भाषामा झोती भन्ने गरिन्छ, यी थुम्का पाण्डवहरुले कुरूक्षेत्र जाने बेला एकरात यतै वास बसी एकै रातमा हलोले जोतेको हुँदा हलोको सिया जस्ता देखिन्छन् भन्ने भनाइ रहेको छ।