नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको निर्देशन विपरित सुदूरपश्चिम सरकारमा थप मन्त्री नियुक्त

साइपालखबर संवाददाता

बझाङ । सोमबार बसेको ओली पक्षकाे एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरन आफ्ना मन्त्रीलाई निर्देशन दियो । तर, ठिक त्यस विपरित आज (शुक्रबार) प्रदेश सरकारमा मन्त्री नियुक्त गरिएका छन् ।

प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी र मानबहादुर धामीलाई मन्त्री नियुक्त गरिएको छ । सोडारी, खड्का र जोशी एमाले सांसद हुन् भने, धामी माओवादी केन्द्रका सांसद हुन् ।

यस्तै एमालेका चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद र मानबहादुर सुनार राज्यमन्त्री नियुक्त भएका छन् । सुनार माओवादी केन्द्रका सांसद हुन् भने अरु एमाले सांसद हुन् । नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् भने राज्यमन्त्रीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ गराएका हुन् ।

यसअघि कायम रहेका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पदबाट राजीनामा दिएका थिए । सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । सामाजिक विकासमा एमालेका खड्का र उद्योग पर्यटन वन तथा वातावरणमा माओवादी केन्द्रका धामीलाई जिम्मेवारी तोकिएको हो । यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका प्रकाशबहादुर शाहलाई आर्थिक योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पूर्णा जोशीलाई दिइएको छ ।

नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले भट्ट सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि एमालेको सुदूरपश्चिम संसदीय दलले उक्त निर्णयविरूद्ध सरकारमा थप मन्त्री पठाएको थियाे ।