ठेकेदारले दिएनन् एक बर्ष सम्म गिट्टी कुटेको पैसा

ठेकेदारले गिट्टीको पैसा नै दिएन : ६५ बर्षिया अवकतिको विलौनाछोरालाई पैसा पठाउन नसक्दा लकडाउनमा घर बोलाउन सकिनन् ।

ग्रेस बहादुर सिंह
उमेरले ६५ कटेकी । कपाल सेतै फुलेको । दुवै हात फुटेका, खुट्टा पनि उस्तै । घरखर्च चलाउनलाई श्रम गर्दै आएकी जयपृथ्वी नगरपालिका वडा नं. १ नयाँबस्तीकी अवकति सिंह । घरखर्च चलाउनलाई गत वर्ष कुटेका गिट्टीको पैसा एक वर्ष वितिसक्दा पनि नपाएपछि अहिले निराश छिन् । उनलाई बेलाबेला काम गरेको पैसा एक वर्षसम्म पनि नपाउँदा निर्दाहरुको श्रमले समेत मुल्य नपाउने रहेछ भन्ने भान परि रहन्छ ।
बुढेसकालमा गरेको कडाश्रमले छोरालाई काठमाडौं पढाएर बुढेसकालको सपना देखि रहेकी उनलाई काम गरेको पैसा नपाउँदा छोराको पढाई खर्च पु¥याउन सक्ने होइनकी भन्ने चिन्ता छ । “अघिल्लो साल मात्र एसइइ दिएर पास भएपछि छोरालाई राम्रो विषय पढाउन काठमाडौं पठाए । छोराको पढाई खर्चका लागी दिनरात नभनेर काम गरेको पैसा ठेकोदारले बिना  दिन मानेको छैन् । अव छोराले पैसा मागेको बेला क्या पठाउला,” अवकतिले भनिन् । “भन्न त छोराले नसक्ने काम नगर्नु भनेर भन्छ, तरपनि आमाको मन न हो मान्दैन् रहेछ ।” गत वर्ष कार्तिक महिना देखी चार महिनासम्म लगाएर गिट्टी फुटाएकी अवकतिले ठेकेदारबाट ४६ हजार ३०० बढी पैसा भुक्तानी पाउन बाँकी छ ।
“घरमा एक आनापनि छैन् । छोरा काठमाडौं छ । घरमा एक्लै छु ।” देशमा कोरोनाको दोस्रो लहर सुरु भएका बेला छोरालाई घर बोलाउने उनको सोच थियो । यसपालिको कोरोना बैरी (खतरनाख) छ भन्दाछन्, छोरालाई घर बोलाउन पाए पनि हुन्थ्यो । मेरो त कर्मै खोटो यसा सालसमय (यस्तो विषम परिस्थिती) मा पनि छोरालाई बोलाउन पाइन् ।” अवकतिलाई छोरो घर आउँदा लाग्ने भाडा पठाउनलाई समेत पैसा छैन् । चैत्रको अन्तिम साता मात्र उनले गाँउको एक समुहबाट ब्याज तिर्ने गरी ऋण काडेर छोराको कलेज फि बुझाएको बताइन् । पहिला निकालेको रकम नतिरेसम्म फेरी ऋण निकाल्न समुहमा नमिल्ने अवकतिले बताइन् ।
अवकति मात्र होइनन्, उनी जस्तै बेलदेवी सिंहले पनि एक वर्षदेखी ज्याला पाएकी छैनन् । “एक सयको दरले गिट्टी फुटाउन भनेका ठेकेदार अहिले ८० रुपैया दिन्छु भनेर भागी रहेका छन् । हामीले ८० रुपैयाँमा गिट्टी नदिने भनेका छौ । मेरा मात्र ५७ हजार रुपैयाँ ठेकेदारबाट लिन बाँकी छ” बेलदेवीले भनिन् । यस्तै नयाँबस्तीका बसन्धरा सिंहले ३४ हजार आठ सय, बृहष्पती सिंहले २७ हजार दुई सय, रतनादेवी सिंहले २२ हजार दुई सय रुपैयाँ ठेकेदारबाट पाउन बाँकी छ । यस्तै देविसरा सिंहको ३३ हजार दुई सय, टिका सिंहको ३३ हजार दुई सय र कलसरादेवी सिंहको ३३ हजार रुपैयाँ भुक्तानी दिन बाँकी छ । नयाँबस्तीका महिलाहरुले सुरुमा तीनतीन हजारआठ पेस्की दिएको भएपनि बाँकी पैसा दिन बाँकी छ । आठ जना महिलाहरुको तीन लाख एघार हजारवढी पैसा ठेकेदारले भुक्तानी गर्न बाँकी रहेको स्थानिय महिला बसन्धरा सिंहले बताउनु भयो ।
आर्थिक वर्ष २०७५÷०७६ सालमा संघिय सरकारबाट वडा कार्यालय निर्माणका लागी आएको १ करोड ५५ लाख रुपैयामा वडा कार्यालय निर्माण भएको हो । वडा कार्यालय निर्माणको जिम्मेवारी काठमाडौंको आश्रय डिप्लोपर्स प्रा.लीले पाएको छ । निर्माण कम्पनिका आधिकारीक ब्यक्ती जयपृथ्वी नगरपालिका वडा नं. ९ का नवराज जाग्री रहेका छन् । तर जाग्रीले गिट्टीको रकम अहिलेसम्म नदिएको स्थानिय महिलाहरुले बताएका हुन् । यता जयपृथ्वी नगरपालिका वडा नं. १ वडा अध्यक्ष्य गगन बहादुर सिंहले ठेकेदारले बदमासी गरेको बताएका छन् । आफुलाई ज्याला नपाएको उजुरी आएपछि यथार्थ जानकारी बुझ्नका लागी ठेकेदारलाई बारम्बार फोन सम्पर्क गरेको भएपनि फोन नउठेको वडा अध्यक्ष सिंहले बताए । यस विषयमा थपको यथार्थ कुरा बुझनका लागी वडा कार्यालयको भवन निर्माण गर्ने जिम्मा पाएको निर्माण कम्पनी आश्र्रय डिप्लोपर्स प्रा.ली का अधिकारी नवराज जाग्रीलाई बारम्बार फोन गरेको भएपनि उनले फोन उठाएका छैनन् । “जयपृथ्वी नगरपालिकामा एक कट्ठा गिट्टीको न्युनतम मुल्य एक सय रुपैया निर्धारण भएकाले तोकिएको मुल्य ठेकेदारले दिनु पर्ने र स्थानियहरुले लिनु पर्ने हुन्छ । स्थानिय दरभाउ घटबढ गर्ने अधिकार कसैलाई छैन” वडा अध्यक्ष सिंहले बताए ।