भुवन बहादुर सिंह
बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको सेनाको गाडी नै दुर्घटनामा परेको छ।
केदारस्युँ गाउँपालिकाको वडा नम्बर चार बाग्थलामा नजिकै सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
उक्त गाडीमा सवार तीन जना घाइते भएको छन् भने पन्द्ध जना सेना सवार थिए । अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म चारै जनाको शव निकालिएको छ। बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।
वडा अध्यक्ष गणेशबहादुर बोहोराले भने ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको जानकारी दिएका छन् पहिरोमा पुरिएका मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता जेठारा,१५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठाराको शव अझै भेटिएको छैन्।
उनीहरुको खोजी कार्य जारी राखिएको प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए । गएराती वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १८ घर बगाएको उनले बताए ।
