सरिता गिरीको सांसद पद निलम्बन हुने, पार्टीको साधारण सदस्य पनि नरहने

मुख्य खबर

१ असार, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लङ्घ‍न गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए ।

‘उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो,’ समाजवादी पार्टीका एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँले पार्टीको ह्विप मान्नुभएन, त्यसैले स्वतः कारवाहीमा पर्नुहुन्छ ।’

‘हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सम्झायौं’ स्रोतले भन्यो, ‘ तर उहाँले पार्टीको निर्देशन मान्नुभएन ।’

पार्टी नेताहरू उपेन्द्र यादव विराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्बनको जानकरी संसदलाई गराइने स्रोतले बतायो ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्बन हुने प्रावधान छ।

समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिक तर्फकी सांसद हुन् । साभार अनलाइनखबर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *