बझाङ । बित्थडचिर गाउँपालिकामा शुक्रबार आठ जनाको आरडीटी पोजेटिभ देखिएको छ । लकडाउन अवधिमा दार्चुला र बैतडी सिमाना हुदै भारतका विभिन्न स्थानबाट फर्किएका उनीहरुको स्वास्थ्य परिक्षण गर्दा आरडीटी पोजेटिभ पाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।
बित्थडमा लकडाउन अवधिमा भारतबाट फर्किएका ७९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आरडिटी पोजिटिभ देखिएसंगै सबैको स्वाब परिक्षणका लागि धनगढी पठाउने तयारी भैरहेको उनले बताए । ‘अब भने सबैलाई आइसोलेसनमा राख्दैछौ, स्वाब संकलन सुरु भैसकेको छ, अबेर रातीसम्ममा धनगढी पु¥याउने गरी काम भैरहेको छ,’ उनले भने ।
यसैगरी बुधबार बुंगल नगरपालिकाका एक जनामा पनि आरडीटी पोजेटिभ देखिएको थियो । उनी सहित १० जनाको स्वाब परिक्षणका लागि धनगढी पठाइएको थियो । ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ ।
लकडाउन अवधिमा भारतबाट फर्किएका स्थानीयहरुमा आरडिटी पोजिटिभ देखिन थालेसंगै बझाङमा स्वाब परिक्षणलाई फोकस गरिने भएको छ । ‘भारतबाट कोही भागेर आउनुहुन्छ कोही के गरेर आउनुहुन्छ, क्रमश परिक्षण गराउदै क्वारेन्टाइनमा राख्ने, १५ दिनमा थप परिक्षण गर्ने र स्वाब परिक्षणलाई फोकस गर्ने भएका छौ,’ प्रजिअ पाण्डेले बताए । लकडाउनलाई सरकारको निर्देशन अनुसार कडिकडाउकै अवस्था रहेकोले जिल्लामा ओहोरदोहोर नगराउने प्रयास भैरहेको बताए ।
