‘विद्यार्थी आन्दोलनको औचित्यलाई पुष्टि गर्नुछ’

अन्तर्वार्ता

सुदुरपश्चिमकाे बझाङमा २०४० असारमा बुवा रामबहादुर र आमा स्व. रतनादेवी महरका सुपुत्रका रुपमा जन्मिएका विद्यार्थी नेता ऐन महरलाई दुई दशक अघि काठमाडौं छिर्दा राजनीति गर्ने सोचै थिएन । २०५५ सालदेखि अमृत साइन्स क्याम्पस पढ्दै जोडिएको अाैपचारिक वामराजनीतिक सम्बन्धले विद्यार्थी आन्दोलनमा मात्रै सिमित राखेन । २०७२ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को महासचिव जस्तो जिम्मेवार पदमा पु¥यायो । लामो समयपछि हालै टुगिंएको नेकपा जनवर्गिय संगठनको भागबण्डा अन्तर्गत महर अनेरास्ववियुको संयोजक चयन भएका छन् । निडर, स्पष्ट वक्ता, सरल, मिलनसार र जुझारु नेतृत्व क्षमता बोकेका उनको अबको जिम्मेवारी कस्तो रहन्छ ? साइपाल खबर डटकम टिमले उनीसंग गरेको कुराकानीको सारांश प्रस्तुत गरेका छौ ।

१. अनेरास्ववियुको संयोजक जस्तो गरिमामय नेतृत्व पाउनु अवसर हो या चुनौती ?

पहिलो कुरा अवसर नै हो । किनभने नेपाली विद्यार्थी आन्दोलनको नेता संगठन जहाँ १० औ लाख विद्यार्थीहरु संगठित छन् । देशभक्त, प्रगतिशिल, जनवादी विद्यार्थीहरुको साझा संगठन अनेरास्ववियुको नेतृत्व पाउने अवसर सबैलाई जुर्दैन । यो अवसरलाई देश र जनताका लागि, सामाजिक न्याय स्थापनाका लागि सदुपयोग गर्नुछ ।

संगसंगै चुनौती पनि छन्, काम गर्न त्यति सजिलो छैन । फरक धारबाट आएका दुई ठुला पार्टीहरु एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठनहरु अनेरास्ववियु र अखिल क्रान्तीकारीबीच एकता भएको छ । फरक संगठनलाई भावनात्मक रुपमा एकताबद्ध गराउनुपर्ने, राजनीतिक वैचारिक रुपमा एकतावद्ध गर्नुपर्ने पहिलो चुनौती छ । दोस्रो, धेरै साथीहरु आकांक्षी थिए, त्यो स्वभाविक थियो । पार्टीले विश्वास गरेर मलाई जिम्मेवारी दिएको छ । त्यो विश्वास अनुसार जिम्मेवारी पुरा गर्न सकिदैन कि भन्ने यदाकता लाग्छ । यसलाई पनि चुनौतीको रुपमा लिएको छु ।

विद्यार्थी आन्दोलनले देशको परिवर्तनका लागि निकै ठुलो भुमिका खेल्यो । राजनीतिक परिवर्तनले एउटा कोश पुरा ग¥यो । लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौ । संविधान प्राप्त ग¥यौं । कार्यान्वयन गरिरहेका छौ । तीन तहका निर्वाचन भए । जनताका मौलिक हकहरु स्थापित भएका छन् । यो बेलामा विद्यार्थी आन्दोलनको औचित्य के त ? भन्ने प्रश्न सिर्जना भैरहेका छन् । र यो विद्यार्थी आन्दोलनको औचित्यलाई पुष्टि गर्नुपर्ने तेस्रो चुनौती छ । यिनलाई पुरा गर्न सके अवसर नत्र चुनौती छन् नि ! र पार्टिले विश्वास गरेको छ, दुईटा संगठन मिलाउने बेलामा । एकिकृत नेतृत्वलाई कुशल ढंगले हाक्ने कुरा आफैमा चुनौतीपुर्ण कुरा होनि । त्यति सहज र सजिलो कुरा होइन ।

२. तपाईका योजनाहरु प्राथमिकताका आधारमा बताइदिनुहोस् न अब के गर्नुहुन्छ ?

पहिलो चाहि दुईवटा संगठनलाई एकताबद्ध बनाएर हार्दिकता विकास गर्ने, भावनात्मक एकता विकास गर्ने र संगठनका तल्लो तहसम्म अधिकतम् समन्वय गर्ने, समान व्यवहार गर्ने, लचिलो बन्ने, सबै साथीहरुसंग छलफल सल्लाह गर्नेछु । दोस्रो विद्यार्थीहरु सचेत हुन्छन् र युवा पनि हुन्छन् । यो पंक्तिलाई राजनीतिक वैचारिक रुपमा निखार्ने, शसक्त बनाउने । विद्यार्थी संगठन भनेको पार्टीको नेतृत्व स्थापना गर्ने कारखाना बुझेका छौ । त्यसका लागि सशक्त, जुझारु, सुविचारी नेतृत्व विकास गर्ने काममा ध्यान दिनेछु ।

अनेरास्ववियुको संगठनलाई ‘जहाँ विद्यार्थी त्यहाँ अनेरास्ववियु’ भन्ने मुल अभियानका साथ अगाडी बढ्नेछौ । धेरैभन्दा धेरै विद्यार्थीलाई अनेरास्ववियुमा संगठित बनाउने छौ । तेस्रो हाम्रो देश ‘सुखी नेपाली समृद्ध नेपाल’को महाअभियानमा अघि बढिरहेको छ । यस अभियानको सारथी बन्न चाहान्छौ । किनभने यो अभियान सफल पार्न ठुलो पंक्तिको युवा शक्ति परिचालित नभै सम्भव छैन । यसैगरी सामाजिक विकृति विसंगती, जागरण, शैक्षिक सवाल, जनजिविकाका मुद्धाहरुलाई लिंगठन परिचालन गर्नेछौ । र रचनात्मक आन्दोलन गर्नेछौ । त्यसका निमित्त आन्दोलनको स्वरुप परिवर्तन हुनेछ । ढुंगामुढा गर्ने छैनौ । बन्द हड्ताल गर्ने छैनौ । विगतजस्तो हिंसात्मक आन्दोलनको साहारा लिने छैनौ ।

आन्दोलनको कार्यदिशा परिवर्तन गर्नेछौ । एकखालको राजनीतिक उपलब्धी भैसकेको छ । यसैको जगमा उभिएर शैक्षिक मुद्धा केन्द्रित हुनेछौ । संविधानमा जेजति ग्यान्रेन्टी गरिएका छन् शिक्षाबारे तिनलाई कार्यान्वयन गर्न नेतृत्व गर्नेछौ । आम विद्यार्थी, नेपालीहरुको आशाभरोसाको केन्द्र बनाउनेछौ । भ्रष्टाचार र सुशासनका पक्षमा जेहात छोड्छौ । तर प्रश्न यहाँ उठ्छ, नेकपाको भातृसंगठन अनेरास्ववियु र नेकपाकै सरकार छ । के अनेरास्ववियु नेकपा सरकारको विरुद्धमा जान सक्छ त भन्ने प्रश्नहरु हुन सक्छन् । म सन्दर्भमा प्रष्ट भन्न चाहान्छु कि नेकपाको सरकार ‘सुखी नेपाली समृद्ध नेपाल’ को महाअभियानमा जुट्दै गर्दा विद्यार्थी आन्दोलन प्रतिपक्ष आन्दोलन हो । प्रतिपक्ष भन्दैमा विरोध भन्ने मात्रै होइन ।

त्यसैले प्रतिपक्ष भन्ने शब्दलार्इ पुनः व्याख्या गर्दै हामी रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न चाहान्छौ । त्यो के हो भन्दा गुण र दोषका आधारमा आलोचना समर्थन गर्ने । सरकारले राम्राे गर्दा जनमत बटुल्छौ । कमजोरी गरे खबरदारी गर्नेछौ । विगतको इतिहासले पुष्टि गरेको छ र अब पनि यसै गर्छौ । मुलत विद्यार्थी हकहितका मुद्धाहरुलाई स्थापित गर्दै समाजवाद निर्माणको महत्वपुर्ण सारथी विद्यार्थी आन्दोलनलाई बनाउन चाहान्छौ ।

३. विद्यार्थीका मुद्धाहरु जताततै भद्रगोल देखिन्छन्, यिनलाई सल्ट्याउन कतिको सहज ठान्नुहुन्छ ?

विद्यार्थीका मुद्धाहरु एकदमै भद्रगोल स्थितीमा किन रहे भन्दा शिक्षा नीतिबारे प्रष्ट हुन सकेनौ । दुईवटा शिक्षा नीति अवलम्बन गरेका छौ । शिक्षा नीतिमै विभेद ग¥यौ । हुनेखानेका लागि एउटा गरिखानेका लागि अर्को शिक्षानीति । यसले पनि शिक्षामा एकप्रकारको समस्या सिर्जना ग¥यो । लामो समयदेखि शिक्षालाई व्यापार गर्न दियौ । व्यापारिकरण मौलाउन दियौ । फस्टाउन दियौ । सरकार टुलुटुलु हेरेर बस्यो । शैक्षिक माफियाहरुलाई पोस्ने काम भयो । त्यसकारण शिक्षा अस्तव्यवस्त भैरहेको छ ।

अर्कातिर राजनीतिक तरलताको फाइदा उठाउदै उच्चशिक्षामा अथवा सार्वजानिक शिक्षामा राजनीतिक भागबण्डाको बिषय बनायौ । यसले पनि अस्तव्यस्त बनायो । जस्तो विश्वविद्यालयका भिसि, डिनहरुलाई राजनीतिक भागबण्डका आधारमा नियुक्त ग¥यौ । क्यापस प्रमुख, विद्यालयमा प्रधानाध्यापकहरुलाई पनि राजनीतिक भागबण्डाका आधारमा नियुक्त ग¥यौ । तर सरकारको प्रशंसा गर्न चाहान्छु पछिल्लो समय सरकारले सार्वजानिक शिक्षाको गुणस्तरमा केहि ध्यान दिएको छ । र शिक्षामा १७/१८ प्रतिशत योगदान पु¥याउदै आएको नीजि शिक्षालाई पनि पुरै नकार्न सक्दैनौ । अहिलेको मुख्य कार्य भनेकै सार्वजानिक शिक्षाप्रतिको आकर्षण बढाउने नै हो ।

गुणस्तर अभिवृद्धि गरेर अघि बढ्ने नै मुल बिषय हो । सार्वजानिक शिक्षाको गुणस्तर कायम गर्ने वित्तिकै कसैले पनि महंगो शुल्क तिरेर विद्यार्थीलाई नीजिमा पढाउदैनन् । जहाँ चाहि निशुल्क भनिएको छ, गुणस्तर पढाइ छ । त्यसैमा मोह बढ्छ । सार्वजानिक पदधारण गरेका, सरकारी कर्मचारी, राजनीतिक नियुक्ति पाएका कर्मचारीहरुले आफ्ना छोराछोरीलाई सार्वजानिक शिक्षा दिनुपर्छ । यसो गर्दा भ्रष्ट्राचार न्युनिकरण हुन्छ । एकातिर सार्वजानिक शिक्षाको गुणस्तर वृद्धि हुन्छ भने अर्कातिर सुशासन कायम गर्दै भ्रष्ट्राचार न्युनीकरण गर्ने भएकोले यसलाई जोडतोडका साथ उठाइरहेका छौ । यसो गरे शिक्षा क्षेत्रको अवस्थालाई सुधार्न सकिन्छ । यो अभियान सुरु गर्दा हामी आफैबाट सुरु गर्छौ ।

४. दैनिक हजारौ युवा रोजगारका लागि खाडी पुगिरहेका छन्, तपाई के चाहानुहुन्छ ? 

म एउटा राष्ट्रिय आन्दोलन चाहेको मान्छे युवाहरु विदेशिनुपर्छ भन्ने चाहाना होइन । दुःख लाग्छ नि दैनिक ठुलो संख्यामा युवाहरु विदेशिन्छन् । रेमिट्यान्यास भित्रन्छ । अर्थतन्त्रमा टेवा पुगेको छ । तैपनि दैनिक जसो कफिनमा लाशहरु आउँछन् । मन दुख्छ नि ! मर्माहित बनाउछ ।

त्यहि भएर हामी के भनिरहेका छौ भने रोजगारी देशभित्र ग्यारेण्टी हुनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी सरकारले दायित्व सम्झिनुप¥यो । हरेक युवाले रोजगार पाउनुप¥यो । प्रधानमन्त्री स्वरोजगारका कार्यक्रम, विदेश बसेर आएका युवाहरुलाई १० लाख सहुलियत ऋण, शैक्षिकप्रमाणपत्र धितो राखेर पाउने ऋणमा सरकारले प्रभावकारी चासो दिनुप¥यो । यसबिषयमा हामी लड्दै आएका छौ।

केहि आशा किरण पनि देखिरहेका छन् । नीति घोषणा भएर कार्यान्वयनको तहमा छ । युवाहरुले स्वदेशमै श्रमसिपको उपयोग गर्न सकुन । यसले गर्दा सुखी नेपाली समृद्ध नेपालको लक्ष्यमा पुग्न सकिन्छ । योजनाबद्ध तरिकाले मसिनोगरी युवाहरुलाई परिचालन गर्ने योजना सरकारले ल्याएन भने सुखी नेपाली समृद्ध नेपालको नारा नामै सिमित हुन्छ । किनभने श्रम गर्ने युवा हुन् । श्रम गर्ने देशमै भएनन् भने अभियान सार्थक हुदैन । यसमा हामीले सकरात्मक भुमिका खेल्नेछौ ।

५. नेपालका विद्यार्थीलाई कस्तो शिक्षा चाहिएको हो ? तपाईको भुमिका के रहन्छ ?

विद्यालय शिक्षामा हाम्रो शिक्षा सिकाइमा होइन घोकाइमा आधारित छ । यसले साक्षरता विकास गर्ने कुरामा केहि योगदान पुगेको होला तर व्यवहारिक रुपमा सिकाइसंग तादात्म्यता मिलेको हुदैन । यसले गर्दा विद्यालय शिक्षा सिकाइमा आधारित हुनुपर्छ भन्ने जोड छ । उच्च शिक्षामा ७० प्राविधिक र ३० गैरप्राविधिक शिक्षालाई ध्यान दिएका छौ । शैक्षिक सम्मेलन गरेर निष्कर्ष निकालेका छौ । जस्तो हाम्रो कृषि, प्राकृतिक स्रोत, जलस्रोत सुहाउदो शिक्षा हुनुप¥यो । ताकि हामी बर्षौ पढ्छौ स्थानीय स्रोतसाधनको कसैले अध्ययन गर्दैन । चासो लिदैन ।

प्राविधिक शिक्षामा यि कुराहरु सम्बोधन हुने शिक्षामा प्रष्ट छौ । तर प्राविधिक शिक्षा कस्तोलाई मानियो भने त्यहि डाक्टर, त्यहि एचए, फार्मेसी, नर्स यहि होकी भन्यौ । तर यसभन्दा माथि उठुनुपर्छ हामी । जुम्ला पुगेपछि यार्सा, इलाम पुगेपछि चिया, गुल्मी पुगेपछि कफि अध्ययन गर्ने प्राविधिक शिक्षा बुझ्नुप¥यो हामीले । परम्रागत तरिकाले डाक्टर, फार्मेसी, नर्स मात्रै बुझ्न्भएन । तर यि नचाहिने भनेको होइन । हाम्रा हावापानी अनुसारका शिक्षालाई प्राविधिक शिक्षा बुझ्नुप¥यो ।

गैरप्राविधिक शिक्षा इतिहास, सामाजिक, विज्ञान नि पढ्नैपर्छ । यस्ता पक्षमा हामी दबाब र जागरणको भुमिका खेल्छौ । राज्यका निकायलाई दबाब र नागरिकलाई जागरण दिन्छौ । विश्वविद्यालयहरुलाई राजनीतिक भागबण्डाको क्रिडास्थल बनाएर लथालिंग बनाइएका छन् । यसलाई अन्त्य गर्दै विश्वविद्यालयको मर्यादा कायम गर्नुपर्छ । सिटिइभिटिइ जस्ता प्राविधिक विद्यालयहरु आर्थिक लेनदेनको अखडा बनिरहेका छन् । ति कुराको अन्त्य गर्न राजनीतिक भागबण्डाको अन्त्य गर्ने र सिष्टम बिकास गर्ने भुमिका रहनेछ ।

६. अनि जन्मभुमि बझाङलाई कस्तो बनाउन चाहानुन्छ ?

बझाङ भनेर निरपेक्ष ढंगले बुझ्नुहुदैन । हामी समग्र समाज परिवर्तनमा होमिएका छौ । देशको विकास उत्थानमा लागिरहदा स्वभावैले बझाङ त परिहाल्छ नि । छुट्ने कुरै रहदैन । बझाङकै लागि भनेर सिंगो विद्यार्थी आन्दोलन त्यता हिडाउने भन्ने नि हुदैन । तर देशको अंश हो । जसरी देश हराभरा, सुन्दर, धनी बनाउन चाहान्छौ । बझाङ पनि त्यस्तै चाहान्छु ।

७. तपाईको बारेमा पनि कुरा गरौ न । राजनीतिक पृष्ठभुमी कस्तो रह्यो ?

बुवा नेपाली कांग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो । समग्रमा म राजनीतिक परिवारको मान्छे हु । खास गरीकन ०४६ सालको आन्दोलनले राजनीतिप्रति झुकाव भयो । त्यतिबेला घरमा रेडियो थियो । आन्दोलनबारे समाचारहरु धेरै आइरहन्थे । वरीपरिका छिमेकी सुन्न आउथे । बुवा नेपाली कांग्रेसको राजनीतिमा भएपनि मलाई बामराजनीतिमा झुकाव हुन्थ्यो, किनभने बुवासंगका राजनीतिक साथीभाईहरु सधै खाने, पिउने होहल्ला गर्ने, कांग्रेस पार्टी यस्तो पो रैछ भनेर एकखालको वितृष्णा थियो । त्यसपछि २०५० साल जेठ ३ गते एमालेका महासचिव मदन भण्डारीको हत्याकाण्डले पनि यतातिर झुकाव बढ्यो ।

२०५४ सालमा एसएलसि पास गरेर काठमाडौं आए । विज्ञान बिषय पढ्न त्रिचन्द्र कलेजमा भर्ना भएको थिए । तर स्ववियुको चुनावमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थीसंगको जगजगी हुन्थ्यो । माहोल मन नपरेपछि २०५५ सालमा अमृत साइन्स क्याम्पसमा गएर विज्ञान विषयमा पढाई शुरु गरे । अस्कलमा अनेरास्ववियूको क्याम्पस कमिटीमा संगठित भए । ०५५/०५६ मा विद्यार्थीलाई सार्वजानिक यातायातमा ३३ प्रतिशत छुटको आन्दोलन चलिरहेको थियो । त्यतिबेला एउटा गाडीलाई जलाइयो । विद्यार्थी आन्दोलनमा पहिलो घटना थियो त्यो ।

रितिकरोशन काण्ड, इराकमा १२ जना नेपालीहरु टाउको छेदन गरिएको कारण काठमाडौंमा भएको आन्दोलन, दरबार हत्याकाण्ड, २०५९ असोज १८ मा ज्ञानेन्द्रले पहिलो कु गरेको काण्डले अहिले पनि प्रभावित बनाउछ । ०६२/०६३ को जनआन्दोलनको स्मरणिय छ । यसरी अघि बढ्दै गर्दा २०७२ सालमा काठमाडौंमा भएको २२औं सम्मेलनबाट अनेरास्ववियुको केन्द्रीय महासचिव भए । हालै संयोजकको जिम्मेवारी पाए ।

८. अबको राजनीतिक यात्रा नि ?

म चाहि काठमाडौं पढ्न आउदा राजनीति गर्छु भन्ने थिएन । म डाक्टर, इन्जिनियर पढ्न भनेर आएको थिए । तर मलाई राजनीतिक चेतनाले प्रभाव पा¥यो । त्यसैले योजना बनाएर भविश्य बन्दैन । परिस्थितीले बन्ने हो । विद्यार्थी आन्दोलनमा लागियो । यहाँ पुगियो । परिस्थितीले बन्ने कुरा न हो । मैले २१ बर्ष राजनीति गर्दै आउदाखेरी कम्युनिष्ट पार्टी नेतृत्व गर्छु भन्ने त सोच्न सक्छु नि त । तर त्यो कुरा सम्भव छ कि छैन भन्ने त भोलीको परिस्थितीमा निर्भर हुने कुरा होनि । त्यसैले भोली यहि बन्छु भन्ने छैन ।

एउटा अठोट के भने निरन्तर यो सामाजिक परिवर्तनको आन्दोलनमा देश र जनताका हितका खातिर लागिरहनेछु । त्यो गर्दा कहाँ पुगिन्छ भविश्यले बताउने कुरा हो । किनभने त्यो पहिलो आन्दोलन अर्थात ३३ प्रतिशत सहुलियतको आन्दोलनमा प्रहरीसंग पौठेजोरी खेल्दा अनेरास्ववियुको अध्यक्ष हुन्छु भन्ने मेरो कल्पनामा थिएन । तर परिस्थितीले नेतृत्व गर्ने जिम्मेवारी आइलागेको छ । यो बन्छु, त्यो बन्छु छैन । मलार्इ प्रधानमन्त्री, मन्त्री, सांसद बन्ने लक्ष्य छैन । तर कम्युनिष्ट पार्टीलाई एउटा उचाइमा पु¥याउनुपर्छ भन्ने सोच्छु मैले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *