जयपृथ्वी राजमार्गमा जीप दुर्घटना, चालकसहित ३ जना घाइते

बैतडी : जयपृथ्वी राजमार्गमा आज बिहान जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाइते हुनेहरूमा बझाङको केदारस्यु गाउँपालिका ३ का १९ वर्षीय सुनिल खाती, केदारस्युँ गाउँपालिका-२ का २५ वर्षीय भानुभक्त रावल र जीप चालक वित्थडचिर गाउँपालिका ४ का २३ वर्षीय चन्द्र अधिकारी रहेका छन्।

घाइतेमध्ये जीप चालक अधिकारीको अवस्था गम्भीर रहेको र अन्य २ जनाको अवस्था मध्यम रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

खोडपेस्थित स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि घाइतेहरूदाई डडेल्धुरा पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ।

धनगढीबाट बझाङ जान लागेको से १ ज ७२६ नम्बरको जीप आज बिहान साढे ५ बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८, विन्द्रावनमा दुर्घटनामा परेको हो।

जीप सडकबाट १०० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।