पत्रकार सिंहलाई एक लाख रुपिंया राशिको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार

बझाङ–नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपिंया राशीको सामुदायिक पत्रकारिता पुरस्कार (२०२०) कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह लाई  प्रदान गरिने भएको छ ।

वसन्तलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकै गाऊका ३०० दृष्टिविहीनहरुको रिपोर्टिङ ‘साइपालको अध्यारो संसार’ र सो समाचार प्रकाशित भएपछि समाचार प्रभावकै कारण आंखाको शल्यक्रिया भइ आंखा देख्नसक्ने भएको फलोअप रिपोर्टिङ ‘फर्कियो साइपालमा खुसी’ का लागि सो पुरस्कार प्रदान गरिएको हो ।

रेडियोवाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका सिंहले विभिन्न सञ्चारमाध्यममा आवद्द रहेर १५ बर्ष देखी वातावरण, पर्यटन, विकास, सुशासन र दुर्गमका स्थानीयको जनजिविकाबारे कलम चलाउदै आएका छन । ‘डुलुवा पत्रकार’ को परिचय बनाएका सिंहले वझाङको विकट समुदायको भ्रमण गरेर थुप्रै खोजमुलक समाचार सामाग्री तयार गरिसकेका छन ।

अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जा संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा नेटवर्क हो । दुइ वर्ष अगाडि गठन भएको यो सञ्जालको एशिया, युरोप र अमेरिकामा आफ्नो महादेशीय कमिटी गठन भइसकेको छ भने अष्ट्रेलिया र अफ्रिकामा पनि महादेशीय कमिटी विस्तार हुने क्रममा रहेको छ । संसारका धेरै मुलुकहरुमा राष्ट्रिय कमिटी विस्तार भइसकेको इञ्जाले संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एउटै सञ्जालमा जोड्ने, उनीहरुको व्यवसायिक क्षमतामा अभिवृद्धि गर्ने र संकटमा परेका वेला पत्रकारहरुलाई सहयोग पुर्याउने उदेश्य लिएको छ ।