अपाङ्गता भएका १५ सयलाई स्वरोजगार बनाइने

साइपाल खबर संवाददाता

बझाङ । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको द लेप्रोसी मिसन नेपाल र राष्ट्रिय उद्योग वाणिज्य महासंघको सहकार्यमा सञ्चालित रोजगारबिहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशिल अवसर (फाउन्ड) परियोजनाले १५ सय अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउने भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुले क्षमता अनुरुपको रोजगार नपाईरहेको तथा कोभिड १९ को महामारीका कारण रोजगार गुमाइरहेकाहरुलाई लक्षित गर्दै रोजगारी दिन लागिएको द लेप्रोसी मिसन ईन्टर्नेशलका कार्यसमिति सदस्य तथा आईडिया नेपालका अध्यक्ष अमर तिमिलसिनाले बताए ।

परियोजनाले काठमाडौं, ललितपुर, मोरङ, रुपन्देही र कपिलवस्तुमा रहेका १० प्रकारकै अपाङ्गता भएका व्यक्तिहरुलाई रुची र बजारमा माग भए बमोजिमको तालिम, नोकरी प्रशिक्षण, सहायक सामाग्री, स्वास्थ्य सहायता, बिउ पूँजी प्रदान गर्नुका साथै रोजगारी खोज्न समेत सहजिकरण गर्नेछ ।