चितवन । निर्वाचनलाई लक्षित गरेर चितवनमा करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
निर्वाचनलाई लक्षित गर्दै ३ हजार २ सय ९६ जनपथ प्रहरी र १ हजार ७ सय १० म्यादी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको हो ।
एउटा मतदानस्थलमा कम्तिमा १२ देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिए ।
त्यसमा प्रहरीकै मोबाइल टोली, शसस्त्र र नेपाली सेनाको संयुक्त टोली समेत परिचालन गरिने एसपी थापाले बताए । उनले पर्याप्तमात्रामा सिभिल प्रहरी पनि खटिने जानकारी दिए ।
चितवनमा १६१ मतदानस्थल कायम गरिएको छ । ती मध्ये ५२ वटा मतदानस्थललाई अति संवेदनशील भएकोले उच्च सर्तकता अपनाइएको छ ।
भौगोलिक विकटता, अरु जिल्लासँग जोडिएका स्थान र विगतका अपराध भएका ठाँउका १ सय ९ मतदान केन्द्रलाई संवदेनशिलमा राखिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहालसमेत चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार रहेका कारणले सुरक्षा व्यवस्था बलियो पारिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
यसैबीच, जिल्लाका १ सय ६६ वटै मतदानस्थलमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितको टोली पुगिसकेको जिल्ला निर्वाचन कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख हरिप्रसाद ढकालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार जिल्लामा निर्वाचन हुने १६६ मतदानस्थल र ४०८ मतदान केन्द्रमा कर्मचारीसहितको सुरक्षाकर्मीको टोली पुगिसकेका छन् ।
बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तोकिएका मतदानस्थल अधिकांश सरकारी विद्यालय छन् ।
१६६ मतदानस्थल मध्ये १५५ वटा सरकारी विद्यालयलाई नै मतदान गर्ने स्थान कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए । अन्य बाँकी स्थल भने स्थानीय तहका वडा कार्यालय, हेल्थपोष्ट र सार्वजनिक भवनहरु रहेका छन् ।