कविता – किर्तेको कीर्ति !

बा नै बेइमान, कमिसन खोर काका, दलाल दाइ, के सिकाउने बाल–बालिकालाई ?
बालुवाटारमै अनेक अनियमितता छ, के भनौँ र खै सुदूरका ती साना पालिकालाई ?
बालुवाटार, बालकोट हुँदै सिंहदरबार, गाउँ गाउँमा गएको छ आजकल भ्रष्टाचार !
पशुपतिको जलहरी खरिदमै अनुसन्धान चल्दै छ कौन पुछे खप्तड–मालिकालाई !

जसको सरकार, उसकै ठुलो घरबार, चिल्ला मोटरकार, कसले गर्ने प्रतिकार ?
खानेपानी, शिक्षा, स्वास्थ्य, ग्रामीण पूर्वाधार, सब बन्यो माफिया बजार !
रक्त बीजका सन्तान झैँ फैलँदै छ किर्ते, को साथ देला माता कीर्ति–कालिकालाई ?
बालुवाटारमै अनेक अनियमितता छ, के भनौँ र खै सुदूरका ती साना पालिकालाई ?

मिडिया बिक्न थाले के हेर्नु समाचार? भत्किँदै छ चौथो खम्बा आज, निष्पक्ष पत्रकार
किन सराप्नु अब, कल्लाई गर्ने धिक्कार ? हिजोका हाम्रै भोटले आज बन्यो सरकार
आफ्नो गाउँ आफैँ बनाऊँ भन्या साइबौ दलका दलाल हैन अब चुनौँ दक्ष र निकालाई
बालुवाटारमै अनेक अनियमितता छ, के भनौँ र खै सुदूरका ती साना पालिकालाई ?

  • बिष्णु जोशी, खप्तडछान्ना–५, पिठातोला, बझाङ्ग
    हालः विद्यावारिधि (रसायन शास्त्र)
    युनिभर्सिटी अफ म्यासाचुसेट्स, अमेरिका