साइपालखबर संवाददाता
काठमाडौं । चाबहिल चोकस्थित चिटिक्कको फ्ल्याटमा जापानीज भाषाको कन्सल्टेन्सी । भाषा सिक्ने र जापान जाने रहर बोकेका युवायुवतीले सधैजसो खचाखच भरिएकै हुन्थ्यो । व्यवस्थापक दर्शन लिम्बु कार्यालयको सम्पुर्ण व्यवस्थापनमा दिनरात खटिन्थे ।
छिमेकी देश चीनमा कोरोना महामारी फैलिसकेको थियो । यसको प्रभाव कन्सल्टेन्सीमा सेवाग्राही दिनानुदिन घट्दै थिए । नेपालमा संक्रमण देखिन थालेपछि सरकारले चैत्र ११ देखि देशव्यापी लकडाउन घोषणा ग¥यो । लिम्बु कार्यरत कन्सल्टेन्सी पनि बन्द भयो ।
कोरोनाले रोजगारी मात्रै खोसिएन, गुजारा चलाउनै हम्मे पर्न थाल्यो । सबै व्यवसाय ठप्प भएका बेला खेतीपाती, कृषि व्यवसाय नियमित चलिरहेको देखे ।
‘केही गरौं’ भन्ने उर्जा र जोस भएका २५ बर्षिय दर्शनले बुढानिलकण्ठको चुनिखेलमा जग्गा भाडामा लिएर कुखुरा र माछापालन विस्तार गरे । ६ रोपनी जग्गा भाडामा लिएका छन् । प्रति रोपनी बार्षिक भाडा ४० हजार छ ।
उनले लकडाउन हुनु केही समय अघि मात्रै खोलेको ‘दर्शन मल्टी एग्रो फार्म’लाई व्यवसायिक बनाउन महामारी अवसर बनिदियो । फार्ममा लोकल, ब्रोइलर, कालो कुखुरा, हाँस, बट्टाई, टर्की र माछापालन गरेका छन् ।
पाँच लाखबाट सुरुवात गरेको फार्म एक बर्षमा २० लाख बराबरको भैसक्यो । एक हजार कुखुरा र एक हजार माछा कहिल्यै टुट्दैनन् ।
निषेधाज्ञाले गर्दा अधिकांश मानिस घरैमा उकुसमुकुस भएर बसेका छन् । उनलाई एकैछिन फुर्सद छैन । विहान उठेर कुखुरा र माछालाई दानापानी खुवाउने । दिउसो खाना खाएर एकछिन आराम गर्ने । आफुलाई खानका लागि करेसाबारीमा रोपेका तरकारीबाली स्याहार्ने । कुखुरा र माछालाई फेरी दानापानी खुवाउने ।
दिन बितेको पत्तै पाउदैनन् । यतिबेला उनलाई लाग्छ, दिनभरको थकानले लखतरान परेको ज्यानलाई राती निन्द्राले साथ दिदाजति सन्तुष्टी अरु केही छैन ।
दोस्रो लहरको कोरोना महामारी फैलनु अघि एयरपोर्टनेर आफ्नै मासुपसल ‘दर्शन मिटमार्ट’ खोलेका थिए । बैशाख १६ देखि जारी निषेधाज्ञाले मासुपसल खोल्न नपाएपनि व्यवसाय रोकिएको छैन । होम डेलिभरी गरेर फार्म चलिरहेको छ ।
‘बन्दाबन्दी नभइदिएको भए राम्रै फाइदा भैसक्थ्यो, तैपनि घाटा छैन,’ उनले भने, ‘स्वरोजगार हुन सकिएको छ, गर्दा नहुने भन्ने केही रहेनछ्, बन्दाबन्दी भनेर थन्को लाग्नुपरेको छैन ।’ उनले अरु तीन युवालाई पनि रोजगारी दिलाएका छन् ।
पुर्वी पहाडी जिल्ला ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३, लिवाङका उनी पढाइ र रोजगारी खोज्दै आठ बर्षअघि काठमाडौं छिरेका थिए । कन्सल्टेन्सीमा काम गर्दागर्दै युरोप जाने सोच पनि बनाएका थिए ।
महामारीले स्वदेशमै कृषि व्यवसायमा लगानी र उत्पादनलाई वृद्धि गर्ने सोच बदलिदियो । ‘गाउँमा पनि खेतीपातीमै निर्भर छौं, त्यो सिप अहिले व्यवसायिक बनाउन पाउदा देशभित्रै सम्भावना र आशा पलाएको छ,’ मंगलबार विहान फार्ममा कुखुरालाई दाना खुवाउदै भेटिएका उनले खुसी साटे ।
उनको लोभलाग्दो व्यवसाय साथीभाईका लागि उदाहरणीय बनेको छ । गाउँमा छिमेकी दुई युवाहरु साथीहरु गणेश लिम्बु र दावा शेर्पाले दर्शनको कामबाट प्रेरित भएर कुखुरा पालन र तरकारी खेती थालेका छन् ।
‘लकडाउनले हामी नि बेरोजगार भएर बसेका थियौं, साथीको फार्ममा घुम्नडुल्न आउदा आउदै रल्लिएर हिड्नुभन्दा भनेर यतै लागौं भनेर थाल्यौं,’ दुवैले एकैस्वरमा भने । उनीहरुले गत सालको लकडाउन सुरु भएको केही महिनापछि फार्म सुरु गरेका हुन् ।
विदेश जान भनेर काठमाडौ छिरेका दावा पेन्टिङको काम गर्थे । अहिले तीन रोपनी जग्गामा कुखुरा फार्म छ । दावा होटल व्यवसाय गर्थे । लकडाउनले होटल सुकेपछि पाँच रोपनी जग्गामा कुखुरा पालन र टमाटर खेती हालेका छन् ।
‘यता नलागेको भए कि गाउँ फर्केर बेगारी भएर बस्नुप¥थ्यो कि त काठमाडौंमा भोकै होइने रहेछ,’ दावाले भने, ‘कोरोनाको लहर–लहर आएपनि कृषिलाई उतिसारो असर नपार्दो रहेछ, बेरोजगार भएर बस्नुपर्ला भन्ने डर भएन ।’